Comments Add Comment

एनआरएनको सामूहिक लगानीमा नयाँ पाँच तारे होटल खुल्ने (भिडियोसहित)

९ कात्तिक, काठमाण्डौ । गैरआवासीय नेपालीहरुको सामूहिक लगानीमा नेपालमा पाँचतारे डिलक्स होटल खुल्ने भएको छ ।

गैरआवासीय नेपाली संघको नयाँ नवनिर्वाचित कार्यसमितिको शुक्रबार बसेको वैठकले एनआरएनको सामूहिक लगानीमा पाँचतारे होटल खोल्ने निर्णय गरेको हो ।

‘होटलले नेपालमा रोजगारी बृद्धि गर्ने र एनआरएनहरुको अनुभव पनि त्यसमा भएकाले हामीले होटलमै सामूहिक लगानी गर्ने निर्णय गरेका हौ’ काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेष घलले शनिबार भन्नुभयो, ‘सम्भाव्यता अध्ययनको काम तुरुन्तै सुरु हुनेछ ।’

घलेका अनुसार पहिले डिटेल प्रोजेक्ट रिपोर्ट तयार पारेपछि मात्रै गैरआवासीय नेपालीहरुलाई लगानीका लागि आह्वान गरिने छ । ‘सम्भाव्यता अध्ययनका लागि कम्तीमा ५० हजार डलर खर्च हुन्छ त्यो खर्च केही साथीहरु मिलेर गर्छौं, सबै रिपोर्ट तयार भएपछि मात्र लगानीका लागि आह्वान गर्छौं’, उहाँले भन्नुभयो ।

nrn

एनआरएनका महासचिव कुमार पन्तले २ सय कोठाको डिलक्स होटल खोल्ने सुरुवाती योजना रहेको बताउनुभयो । काठमाण्डौं, पोखरा, चितवन र लुम्बिनीलाई सम्भाव्य स्थानका रुपमा पहिचान गरिएको उहाँले बताउनुभयो ।

रोजगारी सिर्जनालाई प्राथमिकता दिने योजनाअनुसार होटललाई चुनिएको उहाँले बताउनुभयो । ‘एउटा कोठा बराबर २ जनालाई रोजगारी दिन सकिन्छ, त्यो आधारमा हाम्रो होटलले चार सय बढीलाई रोजगारी दिने छ’ अध्यक्ष शेष घलेले भन्नुभयो ।

आफ्नो एकल लगानीमा दरबारमार्गमा पाँचतारे होटल सेराटनको निर्माण गरिरहनु भएका घलेले सामूहिक लगानीको होटल परियोजनाको पनि नेतृत्व गर्नुभएको छ । ‘यसमा हामी संस्थापकको निकै कम सेयर हुनेछ’ घलेले भन्नुभयो, ‘मैले पनि पाँच तारे होटल बनाइरहेकाले त्यसको अनुभव सामूहिक लगानीको होटलमा पनि काम लाग्नेछ ।’

जीवा लामिछानेको अध्यक्षतामा रहेको कार्यसमितिले सामूहिक लगानीमा २७ मेगावाटको जलबिद्युत आयोजना निर्माण सुरु गरेको थियो, जुन परियोजनाको अध्यक्ष पनि घले नै हुनुहुन्छ ।

‘दोर्दी खोलाबाहेक अन्य जलबिद्युत परियोजना पनि खोज्छौं तर सामूहिक लगानीका लागि होटल क्षेत्र एनआरएनहरुलाई अर्को छनौट दिन खोजेका हौं’, घलेले भन्नुभयो ।

मलेसिया, खाडी मुलुक र कोरियामा बसोबास गर्ने नेपालीहरुले सानो-सानो लगानीमा ब्यबसायिक कृषिमा लगानी गर्ने चाहना देखाएकाले त्यसका लागि छिटै योजना तयार पार्ने उहाँले बताउनुभयो ।

दिगो विकासको माध्यमबाट मात्र नेपालको गरिबी निवारण गर्न सकिने निष्कर्ष निकाल्दै एनआरएनले आफ्नो लगानी त्यसैतर्फ केन्दि्रत गर्ने निर्णय गरेको छ । ‘दीगो आर्थिक विकास नेपालको गरिबी निवारणको मुख्य अस्त्र हो’, अध्यक्ष घलेले भन्नुभयो, ‘त्यसैले वर्तमान कार्यसमितिले नेपालको आर्थिक विकास र लगानी विस्तार तथा सहजीकरणका लागि सरकारसँग लविङ र उद्यमशीलता विकासमा ध्यान केन्द्रीत गर्नेछ ।’

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment