Comments Add Comment

दक्षिण कोरियामा मेरो भोगाइ

मीनप्रकाश उप्रेती

400600_4044480050034_1011949895_n

कोरियाको सपना बोकेर लाइन लाग्ने युवाहरूको भिडमा सन् २००८ मा म पनि  थपिएको  थिएँ । देशको आन्तरिक द्धन्दले क्षतविक्षत भएको अर्थतन्त्रमा मेरो आवश्यकता सँग पसिना साट्न जादैछु भन्दा पनि मासिक एकलाख रुपैयाँ सजिलै कमाईन्छ भन्ने कुराले मेरो मानसपटलमा जरा गाडिसकेको थियो । त्यतिबेला कोरिया बारे अहिले जस्तो सूचनाहरू बाहिर आएका थिएनन् । इपिएस लेखिएको ज्याकेट, रातो टोपी र घाँटीमा परिचयपत्र भिर्दा मैले ठूलै पदको दर्जायनी चिन्ह पाएको अनुभव गरेको थिएँ ।

जब नेपालको विमानस्थलबाट कोरियाको लागि जाहाज हुईंकियो तब  कोरिया अवतरण गर्नु अघिनै मैले मेरा सारा  सपनाहरुलाई एयरहोस्टेजले दिएको एक मुख ह्विस्कीसँग साथी बनाईसकेको थिएँ । मानैा अब म सबै कुराले सर्वसम्मपन्न भएँ र मेरा जीवनका दुःखहरु  सकिए, यस्तै यस्तै…….सोचाईकैविचमा विमानको यात्रा सकियो ।

विमानबाट दुईसय चालिस जना नेपालीहरूको ताँती निस्कियो । अनुशासनको पाठ सिकाउँदै कोरियन भाषाका  निपुण एक नेपालीले हामीलाई तालिमहलको जानकारीपछि मालिकको जिम्मा लगाउन लिएर हिंडे । दुई घण्टाको बस यात्रापछि गन्तब्यमा पुगिने कुराको जानकारी भयो । यात्रामा सबै चुचाप छन्, त्यतिबेला सजिलै अनुमान गर्न सकिन्थ्यो, अब सबैलाई घर परिवार अनि देश छाढेको पिडाले सताईरहेको छ, म पनि त्यो अवस्थाबाट अछुतो थिइन । बसको झ्यालबाहिर बेला बेलामा आँखामा देखिने बोटबिरुवा र सुस्त झर्दैगरेको हिउको दृश्यमा आफूलाई हराईरहेको थिएँ ।

मेरो छेउमा बसेका डोटीका साथी  राजु सुरीले बेला बेलामा पर्स भित्रबाट एक तस्बिर निकाल्दै हेर्दै र चुम्मन गर्दै रसाएका आँखा पुछ्ने गर्दथे । केहि क्षण त मैले नजानेजस्तो गर्दै त्यता ध्यान दिइँन तर उनले लगातार त्यही फोटालाई हेर्दै आशु पुछ्दै गरेको देख्दा प्रश्न गर्न बाध्य भएँ । के तपाईँ भर्खरै विवाह गरेर आउनु भएको हो ? उनले नबोली टाउकोमात्र हल्लाउँदै होइन भन्ने जबाफ दिए । मैले फेरि प्रश्न गरे कसको यादले तपाईँलाई यति सारो सताएको भन्दै तस्बिर हेर्ने अनुमति मागे र आफ्नै हातले तानेर हेरे । उनको दुई वर्षकी छोरीको तस्बिर रहेछ त्यो । उनलाई सम्झाउन थालें, यति सारो भावुक बन्नु हुदैन उनीहरूकै लागि त हो नि तपाईँ विदेशिनुभएको, भन्दै  चिन्ता नर्गन अनुरोध गरे, उनले पनि आफूलाई समाल्ने कोसिस गरे ।

तर मेरो मनसपटलमा भने अनेक कुराहरू खेल्न थाले, हामी पैसा त कमाउछौं नै होला तर  पैसाले किन्न नपाईने छोराछोरीको तोते बोली, आमा बाबु र नजिकका मान्छेको माया पनि त  गुमाईरहेकका छौं आदि इत्यादि ……..तर पनि हामीले विकल्पको रूपमा वैदेशिक रोजगारलाई रोजेकै छौं र आफ्ना पसिना बगाई रहेका छौं।

स्वाभिमानसँग गाँसिएका कोरियनहरुका व्यवहार र प्रश्नहरू 

नेपाली संस्कारमा कुराको खेती गरेर बस्ने बानी परेको मान्छे परिश्रममा विश्वास गर्ने देशमा आएर काम गर्न गाह्रो त भएको नै थियो, तर त्यो भन्दा पनि साह्रो कोरियनहरुको व्यवहार र प्रश्नहरुले मर्माहत बनाउने गर्थ्यो । उनीहरू भन्ने गर्थे, संसारका गरिवहरुमा तिमीहरू पनि पर्छौ ?  तिमीहरू छौ अल्छि भएर यस्तो भएको हो । हामी जस्तो मेहनत गर्ने गर सफल हुन्छौ ।  यी भनाइले खाननै नपाएर कोरिया आएका हौ नि भन्न खोजेको कुरा सजिलै बुज्ज सकिन्थ्यो । यस्ता भनाईहरुलाई मुन्टो हल्लाउँदै समर्थन गर्न बाहेक अरू उपाय थिएन। किनकि यिनीहरु अहिले धनी भएर रोजगार दिनसक्ने भएका छन् त्यो लगनशीलता र मेहनतकै उपलब्धी थियो  । हाम्रो देशमा प्रारम्भिकस्तरदेखि नै व्यवहारिक र प्राविधिक शिक्षा नपाउनुको एउटा कारण हो विदेश पलायन हुनु, त्यसमा पनि मुलुकमा रहेका उद्योगहरु सञ्चालनमा नआउनु र नयाँ उद्योगहरु सञ्चालन नगरिनु र सत्तामा जान युवाहरूलाई प्रयोगका दृष्टिले मात्र  हेरिनुले नै वैदेशिक रोजगारको विकल्प नभएको  हो । अनि कोरियनले जे जे भनेपनि स्वाभिमानको टाउको निहुराउँदै काम गर्न बाध्य हुनुपर्ने अवस्था रहेको छ ।

कोरियामा नेपालीहरूको बढ्दो आत्माहत्याबारे सबै उदाशीन

रोजगार अनुमति प्रणली लागू भएयतामात्र २२ जना नेपालीहरूले आत्माहत्या गरिसकेका छन् । मानसिक तनावमा पर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । तर न नेपाल सरकार  वा न त कुनै सङ्घ संस्थाहरुलाई यसको चिन्ता नै छ । आफै मर्नेसँग के लाग्छ र भन्दै उत्तरदायित्वबाट पन्छने गर्दछन् राजदूत कमानसिंह लामा । हो, आफैं आफ्नो जीवनलाई त्याग्न चहानेहरुसँग हाम्रो केही नलाग्ला तर किन र कसरी यस्ता घटनामा वृद्धि हुँदै गइरहेको छ, यो बुझ्न त नितान्त जरुरी छ नि । यहाँ केही न केही कमजोरी भएकोले नै त यस्ता घटनामा बृद्धि हुँदै गएको छ । बिज्ञहरुबाट यस्ता कुराको अनुसन्धान थाल्नु कोरियामा रहेका नेपालीहरूका लागि आवश्यक भएको छ

कोरियन कानुन जान्ने नेपालीको अभाव 

कोरियामा वैधानिक र अवैधानिक गरी लगभग २५ हजार नेपालीहरू विभिन्न क्षेत्रमा रहंदै आएका छन् । तर कोरियन सरकारको श्रम सम्वन्धी कानुन जान्ने नेपाली भने कोरियामा रहेको पाईंदैन  । आज कोरियामा रहेका अधिकाङ्श नेपालीहरूले कानुनको अनभिज्ञतामा दुःख भोग्दै आउनुपरेको छ । जसको कारणले गर्दा अवैधानिकसम्म हुन पुगेका छन् । दुर्घटना वीमा, कम्पनी परिवर्तनसमन्धी कुरा, भिसा सकिनु अवधि अगावै नेपाल गएर पुनः कोरिया फर्कन पाइन्छ भन्ने  लगायतका कुराहरूमा नेपालीहरू बढी समस्यामा पर्ने गरेका छन्, । यस्ता कुराको बारेमा  दूतावास लगायत जातीय, क्षेत्रीय, पार्टी र सङ्घ संस्थाहरुले कुनै चासो देखाएका छैनन् ।

नेपालीबाटै पीडित छन् कोरियाका नेपालीहरू

कोरियामा रहेका नेपालीहरू आफ्नैबाट पीडा भोग्दै आएका छन् । कतिपय ठाउमा सँगै काम गर्ने साथीमा एकले अर्कालाई गर्ने व्यवहार रुखो र अमानवीय हुँदा कम्पनी छाड्न बाध्य भएका छन् । साहुको नजिक हुन आफ्नै साथीलाई बलीको बोका बनाउने गरेका उदारणहरु प्रशस्तै भेटिएका छन् । जातीय र क्षेत्रीय आधारमा यस्ता घटना घट्ने गरेका छन् भने आफूलाई कम्पनी र कोरियाकै पुरानो बताउनेहरुले आफ्नै साथीलाई पेल्ने गरेको पाइएको छ । यस्ता ब्यवाहार हरुलाई सुधार गर्नु अति नै आवश्यक भएको छ । ताकि डिप्रेशन देखि लिएर आत्माहत्या सम्मको बाटो रोज्न कोही पनि नेपाली बाध्य नहोस । श्रमिकहरू भन्छन्- आइतबार दूतावास खोलिदेउ ।

कोरियामा रहेका नेपालीहरूले विगत तीन वर्षदेखि प्रत्येक आइतबार लगातार नेपाली दूतावास खोलिदिन अनुरोध गर्दै आएका छन् । कोरियाको श्रम कानुन कडा र सबै मालिकमा निहित भएकाले अरू दिन बिदा नमिल्ने हुँदा आफ्ना समस्या र कामका लागि कोरियन विदाको दिन आइतबार दूतावास खोलिदिन अनुरोध गरे पनि दूतावासले कुनै चासो देखाएको छैन । दूतावास एउटै कुरामा तल्लिन छ, समय कटाउ भत्ता पचाउ र नेपाल जाऊ । इच्छाशक्ति भए अरू कुनै दिन बिदा लिएर उसले दूतावास आइतबार खोल्न सक्ने थियो । तर २२ हजार नेपाली श्रमिकहरूको समस्या र आवाजसँग दूतावास नजिक हुन नसकेकै कारणले कोरियाका नेपालीहरूले दुःख झेल्दै आएका छन् । वार्षिक १८ अर्ब रेमिटेन्स नेपाल भित्रियाउने कोरियाका नेपालीहरूलाई उनीहरूको समस्या बुझिदिनु राष्ट्रको जिम्मेवारी हो कि होइन ? त्यही रेमिटेन्सको करबाट भत्ता र तलब खानेहरुले यो कुरा कहिले बुझ्ने हुन् पर्खन र हेर्न बाँकी नै छ तर पीडाको भागिदार त श्रमिकहरु नै बनिरहनु पर्ने भो ।

श्रमिकका समस्याप्रति कोरियाका नेपाली सङ्घ सस्थाहरु मैान

शायद कोरियामा जति नेपालीहरूका सङ्घ संघठनहरु अरू देशमा छैनन् होला । यहाँ  पार्टी जाति र क्षेत्रीय सङ्गठनहरू आठ दर्जन बढी रहेका छन् । तर यहाँ कसैलाई श्रमिकका साझा समस्याहरूबारे बोल्न फुर्सद छैन । पार्टीका कुरा गर, जातिका कुरा गर, क्षेत्रका कुरा गर, मन्चमा जाऊ, ब्याज लगाऊ, बोल्न समय पाए आ-आफ्नै पाराको डम्फु बजाउँदै बोलाको अवस्था छ । मानौ नेपालका ठुलै नेताहरु कोरिया भित्रिएका छन् । अनि त्यस्ता व्यक्तिहरूलाई हामी केही जानी नजानी साथ दिंदै हिडेका  छौं । यो कोरियाको तितो  यथार्थ हो । अब हामीले यिनीहरुलाई भन्ने  दिन आएको छ, तिम्रा जाति, पार्टी  र क्षेत्रियताका कुरा छाडिेदेउ र पहिला हामी मजदुर भन्ने बर्गीयताका कुरालाई  बुझेर यसको हितमा
लागौं ।

यी त थिए मैले आजसम्म कोरियामा रहँदा देखेका र भोगेका कुराहरूको सारंश  । पैसा त कमाउन नै आएका हौं, कमाउदैछौं नै होला तर एक भएको खण्डमा निसासिएर बाँचेको यो प्रवासको   जीवनलाई खुल्ला बनाउन सक्ने बाटाहरु प्रशस्तै छन् यसमा हामी किन नलाग्ने ?

-दक्षिण कोरिया (सउल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment