Comments Add Comment

एमाओवादीले जनजाति र मधेसीको साथ नछाड्ने

९ मंसिर, काठमाडौं । निर्वाचनमा व्यापक धाँधली गरेर पहिचान एवं अग्रगमनका पक्षधर शक्तिलाई घेराबन्दी गरिएको आरोप लगाइरहेको एकीकृत नेकपा माओवादीले जातीय पहिचान र अग्रगमनका पक्षधर एवं मधेसवादी दलहरुसँग मोर्चाबन्दी शुरु गरेको छ । यसैक्रममा आइतबार प्रचण्ड निवासमा अशोक राई नेतृत्वको संघीय समाजवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमका नेताहरुसँग एमाअेावादी नेताले वार्ता गरेका छन् । सोमबार बेलुका पेरिसडाँडा पहिचानवादी शक्तिहरुको अर्को सर्वदलीय बैठक डाकिएको छ ।

निर्वाचनको परिणाम कांग्रेस र एमालेको पोल्टामा गएपछि पहिचान पक्षधर माओवादी, मधेसवादी र आदिवासी जनजातिका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरु त्रसित देखिएका छन् । कांग्रेस र एमालेले पहिचानसहितको संघीयता, धर्म निरपेक्षता लगायतका मुद्दाहरु छाड्छन् र ०४७ सालको संविधान पो ब्युँताउँछन् कि भन्ने उनीहरुमा त्रास देखिएको छ । यही भएर उनीहरुले आगामी संविधानसभामा कसरी प्रस्तुत हुने भनेर एामओवादीको नेतृत्वमा मोर्चाबन्दीको कसरत सुरु गरेका हुन् । एमाले र कांग्रेसका नेताहरुले आफूहरु पहिचानविरोधी नभएको बेलैमा विश्वास दिलाउन सकेनन् भने मुलुकमा फेरि जातीय एवं क्षेत्रीय धु्रवीकरण बढ्ने सम्भावना देखा परेको छ ।

एकीकृत नेकपा माओवादीले चुनावी परिणामप्रति असन्तुष्ट मधेसवादी एवं जातीय पहिचानका पक्षधर दलहरुसँग मोर्चाबन्दीको प्रयास थालेको हो । चुनावमा अप्रत्याहित नतिजा आएपछि संस्थागत र संरचनागतरुपमा धाँदली भएको निष्कर्षमा पुगेको माओवादीले चुनावी परिणाममा असन्तुष्ट पहिचानवादी दलहरुसँग सहकार्य गरेर अघि बढ्ने नीति लिएको छ । प्रचण्ड निवास लाजिम्पाटमा आइतबार बसेको बैठकले सोमबार साँझ ५ बजे असन्तुष्ट थप दलहरुलाई सर्वदलीय बैठकका लागि पेरिसडाँडामा बोलाएको छ । सर्वदलीय बैठकअघि पार्टी कार्यालयमा एमाओवादीको केन्द्रीय समिति बैठक बस्दैछ ।

‘निर्वाचन शान्तिपूर्ण भएको हो तर, धाँदलीपूर्ण परिणाम आयो’ प्रचण्डसँगको छलफलपछि संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले आइतबार साँझ अनलाइनखबरसँग भन्नुभयो-‘परिर्वतनको पक्षमा रहेका दलहरुको बैठक भोलि पेरिसडाँडामा बोलाइएको छ, यसले थप निर्णय गर्नेछ ।’

लाजिम्पाटमा सम्पन्न तीन दलको बैठकमा पहिलो चरणमा धाँदलीका तथ्यहरु संकलन गर्ने र धाँदलीको सत्य सावित भए मोर्चाबन्दी गनेर आन्दोलनमा जाने सहमति भएको छ । बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवले तत्काल संयुक्त आमसभा गरेर धाँदलीबारे आफ्नो धारणा राख्ने प्रस्ताव गर्नु भएको थियो । यसबारे सोमबारको बैठकमा छलफल हुने भएको छ । बैठकपछि फोरम अध्यक्ष यादवले चुनावी परिणामबारे सामान्य कुराकानी भएको अनलाइनखबरसँग बताउनुभयो । अप्रत्यासहित परिणाम आएपछि एमाओवादी, फोरम र र संघीय समाजवादीले चुनावमा धाँदली र षड्यन्त्र गरिएको भन्दै संविधानसभामा नजाने चेतावनी दिँदै आएका छन् ।

सर्वदलीय बैठकमा ३३ दल सहभागी नहुने

परिसडाँडामा सोमबार बोलाइएको सर्वदलीय बैठकमा निर्वाचन बहिस्कारमा सहभागी ३३ दलीय मोर्चाले भने सहभागिता नजनाउने भएको छ । ‘हामीले चुनाबमै भाग लिएका छैनौं, त्यसैले धाँधलीको विरोध गर्ने बैठकमा हामी जाँदैनौं, उहाँहरु यसमा आफ्नै ढंगले लाग्नु हुन्छ ।’ आइतबार प्रचण्ड र बाबुरामसँग छलफलसमेत गरेका गुरुङले अनलाइनखबरसँग भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment