Comments Add Comment

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’

१७ मंसिर, काठमाडौं । एमाले नेता प्रदीप ज्ञवाली एमालेभित्र र बाहिर पनि धेरैका आँखामा नबिझाउने नेता मानिनुहुन्छ । यद्यपि उहाँले दोस्रो संविधानसभा निर्वाचनमा गुल्मीबाट नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीसँग पराजय व्यहोर्नुपरेको छ । चुनाव हारेपछि धेरैले विपक्षीमाथि अनेकन टिप्पणी गरिरहेका बेला ज्ञवालीले भने कसैलाई गाली गर्नुभएन । बरु अरुले नै उहाँलाई गाली गरे । कसैले चुनाव हारेपछि ज्ञवाली भाग्यो भने त कसैले काठमाडौंमा ३ वटा महल ठड्याएको आरोप लगाए । लेखनमा राम्रो दख्खल राख्न सक्ने र साहित्यिक एवं सरस अभिव्यक्ति दिने नेता ज्ञवालीको चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति यस्तो छ :

Pradeepअघिल्लो राति मतगणनामा बस्दा मैले जे-जस्ता अस्वाभाविक र अप्राकृतिक परिदृष्य देखें, त्यसले गर्दा परिणाम प्रतिकूल हुन सक्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । मानसिक रूपमा तयार भएकैले होला, निर्वाचनको अन्तिम नतिजा मलाई अप्रत्यासित लागेन । त्यसो त, पराजय कसलाई पो प्रिय हुन्छ र ! तैपनि यसलाई सहज ढङ्गले लिने प्रयत्न गरें । यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।

डिल्लीराज दाई, उहाँको परिवार र त्यहाँ जम्मा हुनुभएका साथीहरू पीडामा डुब्नुभएको थियो, सान्त्वना दिने प्रयत्न गरें । वीरेन्द्रलाई इन्टरनेट जोड्न आग्रह गरें । निर्वाचनको औपचारिक परिणाम सार्वजनिक भइसकेको थिएन, तैपनि फेसबुक स्टाटसमा निम्न पङ्ति कोरें र विदा भएँ -संविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण गुल्मीवासीप्रति आभार व्यक्त गर्दछु । मलाई आशीष दिने वृद्ध वुवाआमाहरू, हामीमा आˆनो भविष्य देखेर नाच्ने-रमाउने साना नानीहरू, ज्यान हत्केलामा राखेर खटेका युथ फोर्सका साथीहरू, कला-गलाले साथ दिने कलाकारहरू, काठमाडौं, बुटवल र प्रवासबाट आएका साथीहरू-तपाइँहरूलाई म सधै ‘मिस’ गरिरहनेछु । यो यात्रा हो, जुन निरन्तर जारी रहनेछ । गुल्मीको विकास र गुल्मीवासीको दुखसुखमा मेरो उपस्थिति सदैव पाउनुहुनेछ । यो प्रतिकूल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु । सायद उम्मेदवारको रूपमा ममा नै कमी थिए कि ? निराश नबनौं, एकछिन डाँडापारि लुकेको सूर्य फेरि उदाउनेछ ।’

पार्टी कार्यालयमा कमरेड गोकर्ण बिष्टको स्वागत कार्यक्रम चल्दै थियो । मैले उहाँलाई र उहाँलाई जिताउने ३ नं. क्षेत्रका साथीहरूलाई बधाई दिएँ । ५ बर्ष अगाडिको परिदृष्य बदलिएको थियो । त्यतिबेला म विजयी भएको थिएँ र कमरेड बिष्टले पराजयको सामना गर्नु परेको थियो । पराजयको नैतिक जिम्मेवारी आफ्नो शिरमा लिंदै २ नं क्षेत्रका साथीहरूलाई उत्साहका साथ काममा लाग्न आग्रह गरें । साथीहरूको आँखाको आँसु र उदास मुहारले भने मन्तव्य सक्न गाह्रो पारे ।

अचानक खबर आयो- गुल्मी-काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष टीकाराम सापकोटा ‘हर्ट अट्याक’ भएर ढल्नुभएको छ । हतार-हतार जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा पुगें, उहाँ ज्यान बचाइदिन आर्तनाद गरिरहनु्भएको थियो । उहाँलाई काठमाडौं पुर्‍याउनुको विकल्प थिएन । मित्र सुमन पाण्डेजीसँग सम्पर्क गरें, र उहाँले हेलिकोप्टर पठाइदिने हुनुभयो । कामना गरिरहृयौं- अझै दुई घण्टा केही नभइदिए त शहीद गङ्गालाल अस्पताल पुर्‍याउन सकिन्थ्यो !

काठमाडौं जानुपूर्व म कांग्रेसका चन्द्र भण्डारीलाई भेट्न र बधाई दिन चाहन्थें । उनको फोन लगातार व्यस्त भइरहृयो । बल्लबल्ल भेटिए, सापकोटा होटेल अगाडि भेटेर उनलाई अबिर टीका लगाइदिएँ र बधाइ दिएँ । गोकर्ण बिष्ट साथमै हुनुहुन्थ्यो । त्यतिञ्ज्याल चिदिचौरमा हेलिकोप्टर ल्याण्ड गरिसकेको थियो र स्ट्रेचरमा बिमारी ल्याइसकिएको थियो । बिमारीलाई सुरक्षितसाथ चढाएपछि म पनि उडें । (पछि थाहा पाएँ- विजयको उन्मादमा साथीहरूले नारा लगाउन र प्रदीप ज्ञवाली भाग्यो भन्न पनि भ्याएछन् । अमानवीयताको यो पराकाष्ठालाई के पो जवाफ दिन सकिन्छ र !)

एयरपोर्टमा डा. सुरेन्द्रसहितका टोली एम्बुलेन्ससहित आइपुग्यो । हामी गङ्गालाल अस्पताल पुग्दा डा. के.सी. र डा.यादव भट्ट ‘स्ट्याण्डबाई’ थिए । उपचारपछि बिमारी खतरामुक्त रहेको जानकारी पाइयो र म कोठातिर लागें ।

बिमारीका कारण उत्पन्न ‘स्ट्रेस’ कम भएपछि बल्ल मोबाइल ‘अन’ गरें । मैले त निर्वाचनमा पराजयको पीडालाई एककिसिमले गुल्मीमै छाडेर आएको थिएँ । तर मोबाइलमा प्राप्त म्यासेज, फेसबुकमा प्राप्त टिप्पणी र इमेलहरूले भने मलाई अवाक बनाइदिए ।

फेसबुकमा लेखेको स्ट्याटस सामान्य नै लागेको थियो, तर उच्चपदस्थ कर्मचारीहरूको सन्देशले मलाई भावुक बनायो, जसले लेखेका थिए- त्यो पढ्दा आँसु थाम्न सकिएन । त्यसयता जे जति प्रतिक्रिया, टिप्पणी र सन्देशहरू प्राप्त भएका छन्, स्तव्ध पार्ने खालका छन् । धेरै साथीहरूले यसलाई आˆनै पराजयसरह ठान्नुभएको छ । कतिले यसलाई गुल्मीको दुर्भाग्य बताउनुभएको छ । कतिले आफैलाई अपराधवोध र ग्लानी भएको लेख्नुभएको छ । सबैभन्दा ध्यान दिन योग्य कुरा, थुप्रै साथीहरूले लेख्नुभएको छ- म तपाईँको पार्टीको मान्छे होइन, तर तपाइँ हार्दा ठूलो पीडावोध भएको छ ।

नीति श्लोक भन्छ- ….राजद्वारे स्मशाने च य तिष्ठति स वान्धवः’ । निर्वाचन जितेको भए बधाईको ओइरोमा को साँच्चै सहयोगी र शुभचिन्तक हो र को चाँहि शक्तिको पूजारी हो भन्ने थाहा हुँदैनथ्यो सायद । तर, आज मैले पाएको सह- अनुभूति साँचो हो भन्ने कुरामा सन्देह छैन । जीवनमा यति धेरै शुभचिन्तकहरू कमाएको रहेछु, मलाई गर्व लागेको छ ।

निर्वाचनमा गइसकेपछि जय-पराजय स्वभाविकै कुरा हो । मैले यसलाई सहज लोकतान्त्रिक अभ्यासका रूपमा लिएको छु । म कसैलाई दोष दिन चाहन्नँ । तर, एउटै कुरामा दुःख छ । मैले संविधानसभा निर्वाचनलाई एउटा महान बहसको रूपमा अगाडि बढाउन चाहें, कस्तो संविधान, कस्तो सङ्घीयता र कस्तो आर्थिक बाटो लिने भन्ने विषयमा जनतालाई जागृत र उद्वोधित गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा लिन चाहें । यही बिषयलाई छलफलमा ल्याउन चाहें । तर, यी बहसहरू कता हराए कता ! बस, पाँच सय मिटर पाइप, एक किमी बाटो र एउटा वैदेशिक रोजगारीको सपनामा संविधानसभा कतै हरायो ! एउटा मेलोडीले भने जस्तै भयो- ‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ…!’

कहिलेकाहिँ लाग्छ, वर्तमान राजनीतिक यथार्थमा म ‘फिट’ नहुने पात्र पो रहेछु क्यार ! यस्तो बेलामा परिवारको साथ निकै अर्थपूर्ण हुँदोरहेछ । म कोठामा आइपुग्दा सरु उसै गरी शान्तभावमा पर्खिइरहेकी थिइन्, जसरी उनी पञ्चायतकालमा म मारिएको हल्ला चल्दा पनि अविचलित पर्खिइरहेकी हुन्थिन् । पटक-पटकको हिरासतबाट बाहिर आउँदा सँघारमा उभिएकी हुन्थिन्, पार्टी विभाजनताका साङ्घातिक आक्रमणपछि पुनर्जीवन पाउँदा प्रतीक्षारत थिइन् र मन्त्रिनिवास छाडेर बाहिर निस्कँदा पनि निष्पृहभावले स्वागत गरिरहेकी हुन्थिन् । सन्तुष्टि प्राप्त भयो- उनका शान्त आँखा देखेर । यहाँसम्म कि, बिन्दास जस्तो लाग्ने कान्छो छोराले समेत तलको भावपूर्ण सन्देश पठायो-Hard luck father. Still proud of you. You are the best father ever.

जन्मैदेखि मस्तिष्क पक्षाघातले थला परेकी क्षितिजले त बाबाको जय या पराजयका बारेमा के नै पो थाहा पाउँथी र ! तैपनि, धेरै दिनपछि मेरो काखमा बस्न पाउँदा खुसी देखिई । -पटक-पटक घरमा आएका र मेरो पारिवारिक स्थिति थाहा पाएका प्रतिष्पर्धी साथीहरूले यस्तो बिषयमा समेत क्षुद्र चुनावी राजनीति गर्न भ्याएछन्- प्रदीप ज्ञवालीका काठमाडौंमा तीनवटा बिल्डिङ छन् र उसका छोराछोरी विदेशका महङ्गा कलेजमा डाक्टरी पढ्छन् भनेर ।)

साथीहरूले संविधानसभामा मलाई ‘मिस’ गर्ने प्रतिक्रिया दिएका छन् । मलाई लाग्छ, त्यस्तो हुनेछैन । योग्य साथीहरू निर्वाचित हुनुभएको छ र उहाँहरूले यो ऐतिहासिक अभिभारा पूरा गर्नुहुनेछ । त्यसै पनि, अबको संविधानसभाले हिजोजस्तो असहज स्थितिको सामना गर्नु पर्नेछैन । अब साथीहरूले नेपाल बहुराष्ट्रिय राष्ट्र हो कि एक राष्ट्र हो भन्ने जस्ता हास्यास्पद प्रश्नको सामना गर्नुपर्ने छैन । आत्मनिर्णयको अधिकार भनेको लोग्ने स्वास्नीको पारपाचुकेको अधिकार जस्तै हो भन्ने विखण्डनकारी तर्क सुन्नुपर्ने छैन ।

झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश हुनुपर्छ र त्यसको सम्पर्क भाषा हिन्दी हुनुपर्छ भन्ने कर्कश आवाज सुन्नुपर्ने छैन । सबै जनतालाई सैन्य तालिम दिनुपर्छ भन्ने उटपट्याङ जिद्दी सुन्नुपर्ने छैन । बेला न कुबेला जङ्गल जान्छौं भन्ने घुर्की र संविधानसभा मात्रै होइन, काठमाडौंसमेत छाडेर जान्छौं अनि वीरगञ्जलाई राजधानी घोषणा गर्छौं भन्ने धम्की सुन्नुपर्ने छैन । ‘जनयुद्ध’ को दर्शनमा उभिएर संविधान बन्नु पर्छ या पार्टी विशेषको छाप लागेको संविधान हुनुपर्छ भन्ने बालहठ देख्नु पर्नेछैन । संविधान निर्माणको जग तयार भएको छ, घर ठड्याउन मात्रै बाँकी छ । हो, ‘गाई’ले लात्ताले हान्छ कि भनेर भने होसियार हुनु जरुरी छ ।

एउटा सक्रिय राजनीतिक कार्यकर्ता र सामाजिक रूपान्तरणको अभियन्ताको रूपमा मैले आफ्नो ‘स्पेश’ बनाउने नै छु । गुल्मी, जसले मलाई जन्मायो, हुर्कायो, नौ बर्षको उमेरमा जुलुसको नेतृत्व गर्न लगायो, १७ बर्षको उमेरमा भूमिगत हिंडायो, जसले पार्टी विभाजित भएको प्रतिकूल अवस्था र पार्टी ३३ सीटमा खुम्चिने विषम सुनामीका बीचमा पनि दुई-दुई चोटि निर्वाचित गर्‍यो, जसले मेरो पहिचान बनाइदियो, कसरी बिर्सन सक्छु र त्यसप्रतिको दायित्व मैले ? फरक भूमिकामा म जिल्लाले लगाएको रिन तिर्न लागिरहनेछु ।

अहिलेलाई भने क्षमा पाऊँ साथीहरू ! मैले तपाइँहरूको अपेक्षा पूरा गर्न सकिनँ, तपाइँहरूलाई निराश तुल्याएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment