Comments Add Comment

आज सहिद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

sahid-diwas-4
लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गर्दै एक वालक ।

१६ माघ, काठमाडौं । आज सहिद दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रको र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति सम्झना गर्दै यो दिवस मनाउने गरिएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदहरुको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासन विरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालिन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले नेपालमा शासन चलाउने जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । दिवसको अवसरमा राजधानीको लैनचौरस्थित सहिदपार्कमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ ।

संविधान समयमै बनेमात्र सहिदको सपना साकार : राष्ट्रपति

राष्ट्रपति डा. रामबरण यादबले समयमै नयाँ संविधान बनेमात्र सहिदको सपना साकार हुने बताएका छन् । सहिद दिवसको अवसरमा आज शुभकामना दिदैँ राष्ट्रपति यादवले भने-‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि हामी सबै निरन्तर अगाडि बढिरहेको छौं ।’

सहिद दिवसका अवसरमा सबैलाई आपसी सहमति र सहकार्यमा लोकतान्त्रिक संविधान निर्माण गर्न बल पुग्ने उल्लेख गर्दै राष्ट्रपतिले सहिदका सम्झनाले राजनीतिक स्थायित्व कायम गरी मुलुकको आर्थिक समृद्धि र सामाजिक विकासका लागि उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

यसैगरी, उपराष्ट्रपति परमानन्द झाले दिनुभएको शुभकामना सन्देशमा लोकतन्त्र तथा गणतन्त्र स्थापना गर्नका लागि सहिदहरूको योगदानलाई कदर गर्दै निर्भिकरूपमा देश र जनताका लागि आफ्नो जीवनको बलिदानी दिनुहुने सहिदहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

त्यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली परिवेश र आवश्यकताअनुरूपको संविधान जारी गरी देशमा शान्ति र स्थायित्व कायम गर्दै आर्थिक सामाजिक तथा सांस्कृतिक विकासको मार्गमा अग्रसर हुनसके मात्र सहिदहरूको बलिदानको कदर हुने बताएका छन् ।

sahid-diwas-1
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गर्दै
sahid-diwas-2
श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रहरी नायव महानिरिक्षक ।

sahid-diwas-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment