Comments Add Comment

कामरेड जितु गौतमबाट यसरी ठगिएँ

९ असार, काठमाडौं । ‘बिइङ हुम्यान’ लेखिएको हरियो टी-शर्ट लगाएका युवा अनलाइनखबरको कार्यालय खोज्दै आइपुगे । उनको उद्देश्य रहेछ नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद जीतु गौतम र उनकी पत्नी तुलसाले आफूलाई ठगेको रामकहानी अनलाइनखबरमार्फत सबैका सामु पुर्‍याउनु ।

झापा जिल्ला पृथ्वीनगर गाविस निवासी एमाले नेताबाट पीडित एमालेकै कार्यकर्ताको यो दर्दनाक कथा कुनै म्यानपावरका दलालले नेपाली युवालाई ठगेको भन्दा कम छैन । पीडित युवाले एमाले मूख्यालय बल्खु र ओली निवास बालकोटसम्म धाउँदा पनि न्याय पाएका छैनन् । यसको विपरीत आरोपी जितु गौतमलाई एमालेले यसवीचमा सभासद बनायो । अब नवौं महाधिवशेनबाट उनी केपी ओली पक्षबाट केन्द्रीय सदस्य बन्दैछन् । आफ्नै कार्यकर्तालाई जितु गौतमको परिवारले गरेको ठगीबारे सानुकुमार लामाले यसरी व्याख्या गरे ।sanukumar-tamang

 म झापाको पृथ्वीनगरमा बोर्डिङ स्कुल चलाएर बसेको एमाले कार्यकर्ता थिएँ । ०६४ को चुनावमा म झापा क्षेत्र नं ३ मा नेकपा एमालेको उप इञ्चार्ज थिएँ । त्यसैक्रममा चुनाव सकिएको केही समयपछि मलाई माओवादीबाट धम्की आयो र म एमाले नेताहरुको साथ सहयोग पाइन्छ कि भनेर काठमाडौं आएँ । एमालेका केन्द्रीय नेता जितु गौतम हाम्रै गाउँका नेता भएकाले म स्वाभाविकरुपमा उहाँको घरमा पुगें ।

काठमाडौंमा आश्रित भएका बेला जीतु गौतमकी पत्नी तुलसा गौतमले मलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्न थालिन् । त्यसबेला गृहमन्त्री एमालेका भीम रावल थिए । उनी सामान्य प्रशासन राज्यमन्त्री थिए । जागिरका लागि मन्त्रीलाई पैसा दिनु नपरे पनि सचिव तथा अन्य कर्मचारीलाई डेढ लाख दिनुपर्ने भयो भनेर तुलसाले बताइन् । जितु गौतमले पनि तुलसाले मिलाउँछिन् भनेपछि म जागिर नपाएर तडि्पएको मान्छे सहजै सहमत भएँ र कर्मचारीलाई घुस खुवाउनका लागि भन्दै गौतम पत्नीलाई डेढ लाख रुपैयाँँ दिएँ । कर्मचारीलाई घुस दिनुपर्छ भन्दै एमालेका केन्द्रीय सदस्यको जानकारीमा तुलसाले मसँग पैसा मागिन् । राष्ट्रिय अनुसन्धानमा जागिर खाएपछि राम्रो हुन्छ भन्दै उनले मलाई धेरै जोड गरेकी थिइन् ।

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइएन । त्यसपछि मैले पैसा फिर्ता माग्न थालेपछि मन्त्री पत्नीले मलाई अष्ट्रेलिया पठाउने बताइन् । त्यसपछि मैले काठमाडौंमै बसेर आइएलटीएस पढें । तर, उनले अष्ट्रेलिया पठाइनन् । पछि एक हप्ताभित्र जापान उडाउँछु भनिन् । तर, जापान पनि पठाइनन् ।

त्यसपछि मलाई पाँचवर्ष बस्न पाउने भिसासहित अमेरिका पठाउने भनियो । एनजीओमार्फत अमेरिका लैजाने भन्दै मलाई थप अढाइ लाख मागियो । अमेरिका नै पुगिन्छ भने ठीकै छ नि त भन्ने ठानेर मैले थप अढाइ लाख दिएँ । अनामनगरतिर घर भएको परराष्ट्रको कर्मचारी बताउने कवि द्वारिका ढुंगानामार्फत अमेरिका पठाउने तुलसाले बताइन् । ढुंगानाले पनि अमेरिका लान सकिने बताए ।

hondurasत्यसपछि तुलसाले वीरेन्द्र सेन्चुरीमार्फत अमेरिका पठाउन लागेको बताउन थालिन् । वीरेन्द्रले दिल्लीबाट फोन गरेर चाहबिलबाट दिल्लीको बस आउँछ, त्यसैमा चढेर दिल्ली आउन भने । दिल्ली पुगेपछि सेन्चुरीले मेरो नाममा होण्डुरसको भिसा देखाए ।

अमेरिका भनेको होण्डुरसको भिसा छ त भन्दा उनले यो त ट्रान्जिटमात्रै हो, त्यहाँबाट अमेरिका जाने हो भने । त्यसपछि वीरेन्द्रले मसँग अढाइ लाख भारु मागे । मैले मसँग पैसा छैन भन्दा नेपालबाट मन्त्रीपत्नी तुलसाले फोन गरेर अमेरिका जान पाउने बेलामा पनि यस्तो दुईचार लाखको कुरा गरेर बस्ने भन्दै हप्काइन् र तुरुन्त पैसा खोज्न भनिन् ।

त्यसपछि मैले मेलेसियामा वैदेशिक रोजगारी गरिरहेका भाइ पूर्णबहादुर लामालाई यस विषयमा कुरा राखें । उनले अमेरिका जान पाउनु राम्रो हो भन्दै अडाइलाख रुपैयाँ पठाइदिए । त्यो पैसा मैले दिल्लीमा रहेका वीरेन्द्र सेन्चुरीलाई दिएँ । मैले प्रत्यक्षरुपमा नभई दाइले मलेसियाबाट सिमत्र तामाङका नाममा आइएमई गरेर पठाएको पैसा विशालबजरबाट हुण्डी गरेर दिल्लीमा वीरेन्द्र सेन्चुरीलाई पठाइयो ।

त्यसपछि उनले फोन गर्दा पनि फोन उठाउन छाडे । अमेरिका जान मलाई दिल्ली बोलाएर उनी पैसासहित भागेपछि म एकजना नेपालीले खर्च लगाइदिएर नेपाल फर्केँ । मलाई अमेरिका लैजाने भनेर वीरेन्द्र सेन्चुरीले समेत ठग्यो, अब मेरो पैसा फिर्ता देऊ भन्दा मन्त्रीपत्नी गौतमले प्लेन उड्ने बेलामा किन भागेको भन्दै उल्टै मलाई गाली गरिन् ।

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै मबाट लिएको पैसा तिर्नु त कता हो कता इमोसनल ब्ल्याकमेलिङ गर्दै थप पैसा उठाइयो । मलेसियामा भाइले दुख गरेर कमाएको पैसा पनि कामरेडहरुले खाइदिए । त्यसपछि पैसा फिर्ता माग्दा हामीलाई क्यानडन लैजाने कुरो गर्न थालियो । यसका लागि साउथ एशिया ग्रासारुट फोरम नामक एनजीओको माध्यमबाट बंगलादेशमा तालिम गर्ने र त्यसपछि एउटा कार्यक्रममा क्यानडा गएर उतै बस्ने योजना सुनाइयो । यसका लागि हिमांशु मित्र नाम गरेका ‘बंगलादेशी नागरिक’लाई अगाडि सारियो ।

यो संस्थाको सदस्य बन्न ५० हजार रुपैयाँ लाग्ने र प्लेन टिकटका लागि डेढ लाख लाग्ने भनियो । मन्त्रीपत्नी तुलसाले यसक्रममा ११ जना मजस्तै युवाहरुबाट प्रतिव्यक्ति पाँच लाखसम्म उठाइन् । तर, हामी बंगलादेशमा तालिम लिएर फर्केपछि क्यानडाले भिसा दिन मानेन भन्दै हामीलाई फेरि हिस्स पारियो । बंगलादेशी हिमांशुसँग पैसा फिर्ता माग्दा तुलसालाई माग्नू भने । तुलसालाई माग्दा हिमांशुलाई देखाइन् ।

एकपछि अर्को गर्दै ठगिँदै गएपछि मैले तुलसा र जितु गौतमसँग पैसा फिर्ता माग्न थालें । पैसाकै निहुले घरमा पत्नीसँग भनाभन हुन थाल्यो । दाजुले मलेसियामा कमाएको पनि कामरेडले खाइदिए । त्यसपछि पैसा माग्न जितु गौतमको घरमा जाँदा दाजु पूर्णबहादुर लामालाई अपहरणकारीको अभियोग लगाई प्रहरी हिरासतमा थुनियो ।

cheaqueमैले यसबारे एमाल अनुृशासन विभागका प्रमुख अमृत बोहोरालाई पन उिजुरी गरेको छु । तर, उनलाई जितु गौतमले आफूले पत्नीसँग डिफोर्स गरिसकेको बताएछन् । मैले केपी ओलीसम्म पुगेर न्यायका लागि आग्रह गरें ।

तर, उनै गौतमलाई केपी ओलीको कोटाबाट समानुपातिक सभासद बनाइयो । र, अहिले केन्द्रीय सदस्य बनाउने कसरत भइरहेको छ । यसैसाता बाउन्स चेक प्रकरणमा नेता गौतमकी पत्नी प्रहरी हिरासतमा परेकी छन् । तर, हामीले आफ्नो धन फिर्ता पाउने स्थिति अझैसम्म देखिएको छैन ।

आफ्नो पार्टीको सक्रिय कार्यकर्तालाई त एमाले नेता जितु गौतम र उनकी पत्नीले यसरी ठग्छन् भने अरुलाई कति ठगेका होलान् ?  म चाहन्छु, मजस्तै ठगिएका सबै पीडितहरुमाथि नेकपा एमालेले न्याय गरोस् ।

-सानुकुमार लामा, पृथ्वीनगर झापा, हाल काठमाडौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment