Comments Add Comment

कता हराए झलनाथका कार्यकर्ता ?

uml-top-led

अरुण बराल

१० असार, काठमाडौं । नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालले ९४२ मत पाएका थिए । खनालका प्रत्यासी केपी ओलीले ८१४ मत प्राप्त गरेका थिए । ओलीले पाएको मतमा माधव नेपाल पक्षका प्रतिनिधिसमेत जोडिएका थिए भने खनालको मतमा वामदेव र ईश्वर पोखरेलका उपगुटहरुको मतसमेत मिसिएको थियो ।

नवौं महाधिवशेनको तयारीमा रहेको एमालेभित्र यतिबेला अध्यक्षका लागि केपी ओली र माधव नेपालवीच प्रतिस्पर्धा हुँदैछ । दुबैले देशैभरि आफ्ना बहुमत प्रतिनिधिहरु चुनिएको दाबी गरिरहेका छन् । तर, माधव नेपाल र ओली दुबै पक्ष मिल्दासमेत हराउन नसकेको झलनाथ खनाल समूहका प्रतिनिधिहरु चाँहि अहिले कता हराए होलान् ? बुटवल महाधिवेशनमा अध्यक्ष खनालले प्राप्त गरेको मत एमालेभित्र यतिबेला एकाएक सुषुप्त बनेको छ ।

माधव नेपाल र केपी ओली एकैतिर हुँदा पनि बहुमत सिद्ध भएको झलनाथ खनाल समूहबाट यसपालि पक्कै देशैभरि प्रतिनिधि छनोट भएका छन् । तर, त्यस्तो मतलाई ओली र नेपाल पक्षले या त आफ्नोमा पारेका छन्, या ‘तटस्थ’ भन्दै झिनो संख्यामा देखाएका छन् । यो अनुमान गर्न सकिँदैन कि नवौं महाधिवशेनको प्रतिनिधि छनोटमा खनाल पक्षका कार्यकर्ताहरु परेकै छैनन् या झिनो संख्यामा मात्र छन् ।

आठौं महाधिवशेनमा ओली माधव दुबै मिल्दा पनि हराउन नसकेको खनालको प्यानलमा यसपालि पनि ओली र नेपालका जस्तै उल्लेख्य कार्यकर्ताहरु छानिएका हुन सक्छन् । तर, नवौं महाधिवशेनमा ती कार्यकर्ताले झलनाथ खनालको इशारा मानेको अवस्थामा त्यो भूमिकाले ओली या माधव नेपालमध्ये कुनै एकको पल्ला भारी हुन सक्छ ।

वामदेव र माधव नेपालको कमजोर गुट

यो कुरा भुल्न मिल्दैन कि आठौं महाधिवेशनमा झलनाथ खनाललाई जिताउनका लागि वामदेव गौतमले साथ दिएका थिए । अहिले गौतम ओलीतिर लागेका छन् । यसको अर्को पाटो के छ भने ओलीलाई जिताउन लागि परेका केही नेता अहिले ओलीको विपक्षमा खडा भएका छन् । नेपाल र गौतमको समीकरणमा आएको यो परिवर्तनको परिणामबारे पर्याप्त विश्लेषण हुन सकेको छैन ।

एमालेमा माधव नेपाल र वामदेव गौतमका गुटलाई खासै बलिया छैनन् भन्ने तथ्यलाई मान्ने हो भने एमालेभित्रको गुटबन्दी ‘नेपाल भर्सेज ओली’ नभएर ‘ओली भर्सेज खनाल’लाई मान्नुपर्ने हुन सक्छ । तर, राधाकृष्ण मैनाली लगायत विश्लेषण के छ भने माधव नेपाल उपगुटबाट गुटमा फेरिएको छ भने खनाल गुट उपगुटमा फेरिएको छ ।

विगतको समीकरणमा सामान्य परिवर्तन आए पनि माधव नेपाल र वामदेव गौतममा साना गुटहरु आठौं महाधिवशेनमा मुख्य गुटका लागि निणर्ायक बनेका थिए । गौतमको उपगुटले खनाललाई र नेपालको उपगुटले ओलीलाई सघाएका थिए ।

महासचिव ईश्वर पोखरेलको उपगुटले झलनाथलाई सघाएको थियो, जुन अहिले ओलीतिर छ । आठौं महाधिवेशनमा खनाललाई सघाएको घनश्याम भुसालको उपगुट अहिले माधव नेपाल पक्षको मेरुदण्ड बनेको छ ।

आशन्न नवौं महाधिवशेनमा ओलीको बलियो गुटलाई वामदेवको उपगुटले सघाउँदैछ । माधव नेपालको उपगुट ओली गुटसँग प्रतिस्पर्धा गर्दैछ । तर, अध्यक्ष झलनाथ खनालको गुटले साथ दिएको खण्डमा नेपालको ‘उपगुट’ ओलीका लागि समानान्तर प्रतिस्पर्धी गुट बन्ने पक्कापक्की भैसकेको छ ।

झलनाथले कसलाई सघाउलान् ?

नेपाल र ओली दुबैले आफूलाई खनालले समर्थन गर्ने प्रचार गरिरहेका छन् । तिनाऊ खोलाको किनारमा ओली र नेपाल दुबैलाई हराएका झलनाथ खनालले यसपालि कसलाई सघाउँछन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

खनाल पक्षका धेरै नेताहरु माधव नेपालतिर लागेका छन् भने केही ओलीको पक्षमा लागेका छन् । ओली पक्षको दाबी के छ भने स्याङजाका पदम अर्याललगायतका केही नेता खनाललाई छाडेर ओलीको पक्षमा खुलेका छन् ।

महाधिवशेनमा झलनाथ खनाल पक्षको समर्थन पाएकै कारण माधव नेपाल पक्षले देशव्यापीरुपमा आफ्नो अवस्था बलियो बनेको दाबी गरेको त होइन ? यदि त्यसो हो भने यसपालिको महाधिवेशनमा ओलीले जित्ने कि माधव नेपालले भन्ने कुरो अध्यक्ष झलनाथ खनालकै भूमिकामाथि भर पर्ने निश्चित छ ।

कसले जित्ला ?

नेकपा एमालेका सन्दर्भमा अहिले उठेको सबैभन्दा सघन प्रश्न के हो भने महाधिवेशनमा अध्यक्ष कसले जित्ला ? माधव नेपालले या केपी ओलीले ? एमालेबारे चासो राख्ने सबैको प्रश्न यही छ ।

ओली र नेपालका सम्बन्धमा उठ्ने गरेका बहस के छन् भने प्रतिनिधिको संख्याबारे हिसाब गरिसकेपछि माधव नेपालले उम्मेद्वारी फिर्ता लिन सक्छन् । कसैको भनाइचाँहि अन्तिम घडीमा सर्वसम्पतिको प्रयास हुनेछ र झलनाथ खनाल आफैं अघि सर्न सक्छन् । अनि केहीले भन्ने गरेका छन्, ओलीले जित्छन् र माधव नेपालले हार्नेछन् । तर, माधव नेपाल पक्षको दाबी चाँहि खनालको समेत समर्थनमा माधव नेपालले ओलीलाई हराउने छन् । तर, माधव नेपालले प्रतिनिधि छनोटमा अपेक्षा गरेभन्दा बढी प्रगति हासिल गरेका छन् ।

सबैभन्दा भरपर्दो तर्कचाँहि छानिएका प्रतिनिधिमध्ये २० प्रतिशत भन्दा बढी तटस्थ र खनाल पक्षधर छन् । बाँकीमध्येबाट ६०/४० को अनुपातमा ओली र नेपालका प्रतिनिधि छन् । यसमा २० प्रतिशत तटस्थ वा कित्ता नछुटिएकाहरुले निर्णयक भूमिका खेल्न सक्ने दाबीलाई सत्यको नजिक मान्न सकिन्छ । तर, धेरैको अनुमानमा ओलीले जित्ने बढी र नेपालले जित्ने कम सम्भावना छ ।

यो पनि पढ्नुस् 

एमालेका ‘इञ्जिनियर’ भन्छन्- ढुलमुलेको भूमिका निर्णायक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment