Comments Add Comment

निगमले यही वर्ष १३ वटा जहाज उडाउने !

IMG_9809
१७ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यस वर्ष १३ वटा जहाज उडाउने भएको छ । निगमले आन्तरिक उडानतर्फ ९ वटा र अन्तराष्ट्रिय उडानतर्फ ४ वटा जहाज उडाउने भएको हो ।

मंगलबार राजधानीमा आयोजित निगमको ५६औं वाषिर्कोत्सव समारोहमा बोल्दै निगम महाप्रबन्धक मदन खरेलले यही वर्ष आन्तरिक तथा वाहृयतर्फ गरी १३ वटा जहाज उडाउने बताएका हुन् । निगमका अहिले अन्तराष्ट्रिय उडानमा दुईवटा बोइङ र आन्तरिक उडानमा दुईवटा गरि ४ वटा जहाज सञ्चालनमा रहेका छन् ।

आन्तरिकतर्फ एउटा ट्वीनअटरबाट उडान भर्दै आएको निगमले गत हप्तादेखि चिनियाँ एमए-६० जहाजबाट पनि उडान सुरु गरेको हाे । निगमले चीनबाट २ वटा एमए-६० र ४ वटा वाइ१२इ जहाज ल्याउँदै छ ।

चीनबाट ल्याउन लागिएका ६ वटा जहाजहरु कार्तिकसम्म सबै नेपाल आइपुग्ने निगमले बताएकाे छ । त्यस्तै, निगमले अन्तर्राष्ट्रिय उडानका लागि यसै वर्ष २ वटा एयरबस ल्याउँदैछ ।

‘ग्राउन्डेड अवस्थामा रहेको एउटा ट्वीनअटर एक/दुई दिनमा इञ्जिन फेरेर उडाउने तयारीमा छौं, अर्को ग्राउन्डेड ट्वीनअटर असोजसम्म उडाइसक्छौं’ महाप्रबन्धक खरेलले भने- ‘खरिद गरिएका र ग्राउन्डेड अवस्थामा रहेका सबै जहाज उड्न सुरु गरेपछि १३ वटा पुग्नेछन् ।’

निगमले १० वर्षे व्यावसायीक योजना बनाएर सन् २०२४ सम्म अन्तर्राष्ट्रिय उडानतर्फ ९ वटा र आन्तरिक उडानतर्फ १६ वटा जहाज पुर्‍याउने लक्ष्य राखेको छ ।

समाराेहलार्इ सम्बाेधन गर्दै पर्यटन मन्त्री भीम आचार्यले अन्तर्राष्ट्रिय उडानमा प्रतिस्पर्धी बन्न निगमलाई तत्काल थप २ वटा न्यारो बडी जहाज र २ वटा वाइड बोडी जहाज आवश्यक परेको बताउँदै छिट्टै सञ्चालक समितिबाट निर्णय गरि प्रकृया अगाडी बढाउन निर्देशन दिएका छन् । उनले निगम सञ्चालक समितिलार्इ जहाज खरिद गर्ने निर्णय गर्न १५ दिनकाे समयावधि ताेकिदिएका छन् ।

IMG_9819

कुनै समय १७ वटा जहाजको मालिक निगम १० वर्षे व्यवसायीक योजना बनाएर अहिलेको जहाजवीहिन अवस्थाबाट माथि उक्लिन खोजिरहेको छ । महाप्रबन्धक खरेलले पनि २०१६ सम्म २ वटा न्यारो बडी जहाज र २०१७ सम्ममा २ वटा वाइड बडी जहाज ल्याउने गरि काम अगाडी बढाउन लागेको बताएका छन् ।

दश वर्षे व्यवसायीक योजना

सन् २०१५ सालदेखि लागु गर्न लागिएकाे १० वर्षे व्यवसायीक योजना सैद्धान्तिक स्वीकृतिका लागि निगमले सरकारसमक्ष पेश गरिसकेको जनाएको छ । व्यवसायीक याेजनामा सन् २०१५ सालमा १ सय ८४ मिलियन डलरको कारोबार गर्ने र ११ मिलियन डलर नाफा गर्ने लक्ष्य निगमको छ । सन् २०२४ मा ५ सय ४ मिलियन डलर कारोबार गर्ने र ५७ मिलियन डलर नाफा गर्ने प्रक्षेपण गरिएकाे महाप्रबन्धक खरेलले बताए ।

उक्त व्यवसायीक योजनामा निगमले सन् २०१५ मा अन्तर्राष्ट्रियतर्फ ५ लाख ७८ हजार यात्रुहरुलार्इ सेवा दिने र सन् २०२४ मा पुग्दा १५ लाख ४० हजार यात्रुलार्इ सेवा पुराउने लक्ष्य राखिएको छ । ‘हामीसँग २०१५ मा अन्तर्राष्ट्रिय उडानमा ८/९ प्रतिशत बजार हिस्सा हुन्छ, २०२४ मा पुग्दा २५/२६ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्ने लक्ष्य राखेका छौं’ महाप्रबन्धक खरेलले भने ।

आन्तरिकतर्फ २०१५ सालमा निगमले १० लाख यात्रुलाई सेवा प्रदान गर्ने र २०२४ मा १३ लाख ९२ हजार यात्रुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । सन् २०१५ मा २१ प्रतिशत अन्तरिक बजार हिस्सा ओगट्ने लक्ष्य राखेकाे निगमले २०२४ सम्ममा ३० प्रतिशत बजार ओगट्ने विश्वास लिएकाे छ ।

Bhim acharya

निगमले अधिकृत पुँजी वृद्धि गर्नका लागि पनि सरकारलाई परिपत्र गरिसकेकाे महाप्रवन्धक खरेलले जानकारी दिए । निगमको कारोबार ठूलो हुने हुँदा अधिकृत पुँजी ३५ अर्ब रुपैयाँ पुर्‍याउन सरकारलाई आग्रह गरेको उनको भनाई छ ।

सार्वजनिक खरिद ऐनको कारण विमान खरिद गर्दा धेरै बाधा अड्चन आइरहने हुँदा समयसापेक्ष परिमार्जन गरि जहाज खरिद प्रकृयालाई सहज बनाउन पनि निगमले सरकारसमक्ष आग्रह गरेको छ ।

विदेशमा त्यहाँको सरकारले सित्तैमा तथा अनुदानमा जहाज कम्पनीलाई हवाई इन्धन उपलब्ध गराउँदै आएको उल्लेख गर्दै महाप्रबन्धक खरेलले नेपालमा महंगोमा इन्धन हालेर विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धामा उत्रिने गाह्रो परिरहेको गुनासो गरे ।

उनले कम्तीमा पनि अन्तर्राष्ट्रिय उडानतर्फ सहुलियतमा इन्धन उपलब्ध गराउन सरकारसमक्ष आग्रह गरेका छन् । सहुलियत इन्धन पाएमा विदेशी एयरलाइन्सँग प्रतिस्पर्धामा उत्रिन निगमलाई सहज हुने उनको भनाई थियो । उनका अनुसार नेपाल वायुसेवा निगमले संसारमै सबैभन्दा महंगो इन्धन भरेर अन्तराष्ट्रिय उडान भर्दै अाएकाे छ ।

व्यवस्थापक र कर्मचारीको सम्बन्ध सुमधुर हुनुपर्छ

महाप्रबन्धक खरेलले निगमको प्रगतिका लागि व्यवस्थापन पक्ष र कर्मचारीवीच सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् । निगमको उडान नै ठप्प पारेर मागहरु अगाडी तेर्साएर निगमको उन्नती नहुने बताउँदै उनले आफ्ना मागहरु उचित ढंगले राख्न कर्मचारीहरूलार्इ आग्रह गरेका छन् ।

IMG_9821

‘व्यवस्थापन र कर्मचारीवीच आरोप-प्रत्यारोप गर्नुहुँदैन, कर्मचारीले आफ्नो कर्तव्य बुझेर साेहीअनुसार काम गर्नुपर्छ, कामको बेलामा माग तेर्साएर अवरोध गर्दा निगम झन धरासायी हुन्छ’ महाप्रबन्धक खरेलले भने ।

नेपाल एयरलाइन्स पाइलट एशोसियसनका उपाध्यक्ष मधुवन लाल श्रेष्ठले पनि कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी ठिक ढंगबाट निर्वाह गर्न आग्रह गरे । व्यवस्थापनसँग असन्तुष्टि देखाउँदै निगमका आन्तरिक कुराहरु मिडियासँग नपोख्न पनि उनले कर्मचारीलार्इ आग्रह गरेका छन् ।

वार्षिकाेत्त्सव समारोह समितिका संयोजक रामहरि शर्माले निगमले बनाएको १० वर्षे व्यवसायीक योजना साकार बनाउने बताए । उनले याेजना सफल बनाउनका लागि निगमका कर्मचारी तथा सरोकारावालाहरुलाई आग्रह समेत गरेका छन् ।

याे पनि पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment