+
+

एमालेमा ‘ब्लड प्रेसर’ र ‘ग्यास्टिक’का रोगी धेरै

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते १०:१३

Health

२३ असार, काठमाडौं । भृकुटीमण्डपमा जारी नेकपा एमालेको महाधिवेशनमा राजेन्द्र राईले केपी ओलीलाई बिरामी भनेको पुस्तक प्रशंगले हंगामा ल्यायो । तर, महाधिवशेनस्थलमै खडा गरिएको स्वास्थ्य शिविरको रिपोर्ट हेर्दा पार्टीभित्र विभिन्नखाले रोगीहरुको संख्या अधीक भेटिएको छ ।

महाधिवशेनमा सहभागी प्रतिनिधिमध्ये अधिकांश ग्यास्टिक र ब्लड प्रेसरका बिरामी भेटिएका छन् । महाधविशेनस्थलमै रहेको शिविरमा स्वास्थ्य परीक्षण गराउने प्रतिनिधिमध्ये कतिपयले दाँत नमाझ्ने गरेको पाइएपछि डाक्टरले उनीहरुलाई दाँत माझ्न सिकाएका छन् । दाँत सफा नगर्ने केही कार्यकर्ताको मुखमा क्यान्सर लागेको आशंका समेत गरिएको छ ।

स्वास्थ जाँच गराउने धेरै प्रतिनिधिहरुमा दाँत र मुखको समस्या देखिएपछि स्वाथ्यकर्मीले उनीहरुलाई दाँत माझ्ने तालिम दिएका हुन् । स्वास्थ्य शिविरमा प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिरहेका दन्त विषेशज्ञ डा. बुद्धिमान श्रेष्ठले भने-‘महाधिवेशनमा आएका मध्ये केही प्रतिनिधिहरु नियमित दाँत नमाझ्ने पनि भेटिए, उनीहरुलाई दाँत माझ्ने तरिकाबारे तालिम दिँदैछौं ।’

चिकित्सकहरुले गिजाको समस्या भएकालाई औषधि दिइरहेका छन् । दाँतमा ब्रस लगाएर माझ्ने तरिकाबारे पनि चिकित्सकहरुले प्रतिनिधिलाई सिकाइरहेका छन् । ‘यहाँ आएका २२ सय प्रतिनिधिलाई हामीले दाँत माझ्ने तालिम दिइरहेका छौं’, डा. श्रेष्ठले भने, ‘हामीले सिकाएको कुरा कम्तिमा पनि ५० हजार कार्यकर्तामाझ पुग्ने विश्वास लिएका छौं ।’

Health-1

दाँत टल्काउने १ सय २२ पुगे

शिविरमा हालसम्म १ सय २२ जना प्रतिनिधिहरुले कालो भएका दाँत टल्काएका छन् । ‘धेरै प्रतिनिधिको दाँतमा खाना अड्कने समस्या देखिएको छ, परीक्षण गरिएका मध्ये २ जनामा प्रारम्भिक क्यान्सरको संकेत मिलेपछि थप उपचारका लागि अस्पताल जान सिफारिस गरिएको छ’, डा. श्रेष्ठले भने, ‘मुखमा घाउ आएका प्रतिनिधिको पनि उपचार भएको छ, हालसम्म १ सय ५१ जनाले दाँत फुकालिसकेका छन् ।’

महाधिवेशनमा सहभागी सबैजसो प्रतिनिधिले स्वास्थ्य जाँच गरिसकेको जनाउँदै चिकित्सकहरुले प्रतिनिधिहरुमा नियमित खानपानको अभावमा स्वास्थ्य समस्या देखिएको जनाएका छन् ।

धेरै एमाले कार्यकर्तालाई ‘ब्लड प्रेसर’ र ग्यास्टिक

महाधिवेशनस्थलमै रहेको शिविरमा स्वास्थ्य परीक्षण गराएका प्रतिनिधिहरुमध्ये धेरैजसोमा उच्च रक्तचापको समस्या देखिएको छ । शिविरमा प्रतिनिधिको स्वास्थ्य जाँच गरिरहेका चिकित्सक डा. कृष्णगोपाल महर्जनका अनुसार तीन दिनमा १ हजार ८ सय जनाले रक्तचापको परीक्षण गरेका छन् ।

‘मध्यम उमेरका केही र ५० काटेका धेरैजसो प्रतिनिधिहरुमा उच्च रक्तचापको समस्या देखिएको छ, उनीहरुलाई खानपानमा विशेष सजगता अपनाउन सुझाव दिएका छौं’, महर्जनले भने, ‘त्यसपछि ग्यास्टिकको समस्या लिएर आउने प्रतिनिधि धेरै छन् । रक्तचाप र ग्यास्टिकको परीक्षण गर्ने प्रतिनिधि बराबर छन् ।’

स्वास्थ्य शिविरमा एमालेकै कार्यकर्ता

महाधिवेशनस्थलमा स्वास्थ्य प्रतिनिधिहरुको उपचारमा खटिएका सबैजसो स्वास्थ्यकर्मीहरु पनि एमालेकै कार्यकर्ता हुन् । पार्टीको निर्देशन बमोजिम उनीहरु प्र्रतिनिधिहरुको उपचारमा खटिएका हुन् । एक स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य परीक्षणमा संलग्न सबैजसो स्वास्थ्यकर्मीले एमालेको सदस्यता लिएका छन् ।

एमालेका कार्यकर्ता बाहेक स्वास्थ्य शिविरमा स्वयम् सेवकका रुपमा सुमेरु अस्पतालका चिकित्सकहरुले पनि भूमिका खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?