+
+

माधवलाई छाडेर कृष्णगोपाल केपीको गाडी चढे

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २४ गते १७:५३

२४ असार, काठमाडौं । नेकपा एमालेका काठमाडौं उपत्यका ईन्चार्ज कृष्णगोपाल श्रेष्ठ महाधिवशेनको अन्तिम घडीमा माधव नेपालको साथ छाडेर केपी ओलीलाई भोट माग्नतिर लागेका छन् ।

krishna-gopal-shrestha

माधवकुमार नेपालले छाडेको काठमाडौं २ मा उपनिर्वाचनको टिकटका लागि ओली क्याम्प छाडेका श्रेष्ठले असार १८ मा प्रज्ञा प्रतिष्ठान कमलादीमा माधव नेपाल पक्षले गरेको कार्यक्रममा नेपाललाई सघाउने घोषणा गरेका थिए ।

नेता श्रेष्ठले आफ्नो भाषणमा केपी ओली बिरामी भएकाले आराम गरेर सर्वमान्य नेता भएर बस्नुपर्ने बताएका थिए । श्रेष्ठले वामदेव गौतममाथि सुरासुन्दरी र भ्रष्टाचारसँग जोडेर आलोचनासमेत गरेका थिए ।

तर, केपी र वामदेवको गठबन्धनलाई ‘अपवित्र’ भनेका श्रेष्ठ सोमबार ओलीको गाढी चढेर महाधिवेशनस्थल पुगेका थिए । उनले मंगलबार औपचारिक रुपमा गुट फेर्दै ओलीलाई भोट हाल्न प्रतिनिधिलाई आग्रह गरेका छन् । मंगलबार महाधिवेशनस्थलबाट विज्ञप्ति निकाल्दै श्रेष्ठले ओली र नेपाल दुबैपक्षलाई सर्वसम्मत नेतृत्वका लागि आफूले गरेको पहल सफल नभएकाले बाध्य भएर ओलीको पक्षमा उभिन पुगेको जनाएका छन् ।

आफूले उम्मेद्वारी नदिने

ओलीलाई सघाउने घोषणा गरेका श्रेष्ठले नवौं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी नदिने पनि घोषणा गरे । संविधानसभाको उपचुनावमा काठमाडौं २ मा पराजित श्रेष्ठले छोटो समय नेपाल पक्षलाई साथ दिएका थिए ।

‘नेतृत्वको हस्तान्तरणका पक्षमा भोट हाल्न प्रतिनिधिहरुलाई आग्रह गर्छु’, श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यो पटक म कुनै पनि पदमा उम्मेदवारी दिन्न ।’ 

बुटवलमा भएको आठौं महाधिवेशनमा लुम्बिनी अञ्चल ईन्चार्ज रामनाथ ढकालले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिएनन् । संयोगवश योपटक उपत्यका इन्चार्ज श्रेष्ठले पनि उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

Krishna-Gopal-Statemnet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?