+
+

जब बालेनले माओवादी र रास्वपा कार्यालयमा फोहोर बोकेको ट्रक पठाए

अमृत चिमरिया अमृत चिमरिया
२०८१ जेठ ७ गते १९:२१
काठमाडौंको फोहोर बोकेका ट्रकको फाइल तस्वीर ।

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार दिउँसो फोहोर बोक्ने ट्रकका चालक पक्राउ परेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिए ।

‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन ।’

बालेनको यो स्टाटस काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध गरेको घटनासँग सम्बन्धित थियो ।

शनिबारदेखि बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर रोकेको थियो । उनीहरुले फोहोर लिएर जाने गाडीलाई अवरोध गर्ने क्रममा फोहोर बोक्ने निजी कम्पनीका चारवटा गाडीमा क्षति भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

त्यसपछि महानगरपालिकाले प्रशासनसँग अनुरोध गरेर अवरोध खुलाउन भनेपनि जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सहयोग नगरेको महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए ।

‘हामीले प्रहरीसँग फोहोरको अवरोध हटाउन अनुरोध गर्‍यौं, तर उहाँहरुले आदेश छैन भनेर टार्नुभयो’, उनले भने, ‘फोहोरमा राजनीति गरेको प्रष्टै देखियो, फोहोर ४/५ दिन रोकिँदा यसको संकलन र ढुवानीको साइकल नै बिग्रने भएकाले तत्काल एक्सन लिनुपर्नेमा झारा टार्ने काम भयो ।’

सोमबार विहान महानगरपालिकाको फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पेरिस डाँडा र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेका थिए । त्यहाँबाट फोहोर बोक्ने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसपछि काठमाडौं महानगरपालिकाले सोमबार बिहान फोहोर बोकेको ४ ट्रक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा र ४ वटा गृहमन्त्री रवि लामिछानेको पार्टी कार्यालय बनस्थलीमा पठाएको थियो ।

लम्सालका अनुसार फोहोर बोकेको गाडी पार्टी कार्यालयमा पठाएको खबर पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई दिइएको थियो ।

रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो भने पेरिसडाँडा गएका ट्रकका चालक भने पार्टी कार्यालयको गेटमै पक्राउ परेका थिए ।

त्यसपछि मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेको र स्टाटस लेखेको केहीबेरमा ट्रक चालकहरु रिहा भएका र बञ्चरेडाँडाको अवरोध पनि हटेको लम्सालले बताए ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्दै आएका नेप्से म्याक सेवा प्रालिका सञ्चालक मित्र घिमिरेका अनुसार जागिर नदिएसम्म फोहोर लैजाने गाडी जान नदिने भन्दै स्थानीय युवाले फोहोर बोकेका चारवटा टिपर फुटाएका थिए । त्यतिबेला मेयर बालेन शाह विदेशमा थिए । स्थानीय प्रशासनसँग सहयोग माग्दा नपाएको उनले बताए ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानाले आन्दोलन स्थानीय युवाहरुको भएको बताए । ‘युवाहरुले रोजगारीको लागि माग गरेर आन्दोलन गरिरहेका थिए, यसमा हामी समावेश छैनौं’, ढुंगानाले अनलाइनखबसँग भने ।

महानगरपालिकाले भने बञ्चरेडाँडाका स्थानीयलाई श्रम बैंक मार्फत जागिरको अवसर प्रदान गरिरहेको जनाएको छ ।

‘महानगरपालिकाले बञ्चरेडाँडाका बासिन्दालाई प्राथमिकतामा राखेर श्रम बैंक मार्फत जागिर दिइरहेकै छौं । त्यो आन्दोलन राजनीतिक रुपमा गरेको देखिन्छ’ महानगरको फोहोर व्यवस्थापन फोकल पर्सन समेत रहेका सुनिल लम्सालले भने ।

यस अगाडि २४ चैत २०८० मा पूर्वसहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

ल्याण्डफिल साइट क्षेत्रको बस्ती स्थानान्तरणको माग राख्दै स्थानीयले आन्दोलन गरेका थिए । शहरी विकास मन्त्रालयसँग छलफल गरेपछि त्यसै दिन फोहोर व्यवस्थापनको अवरोध हटेको हो ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?