Comments Add Comment

मिडिया सेन्टरमा माधव र वामदेवको जुहारी

२४ असार, काठमाडौं । महाधिवेशनको बन्द सत्र चलिरहेको बेला भावी नेतृत्वको विषयलाई लिएर एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

हलबाट राजनीतिक दस्तावेज पारित भए लगत्तै अध्यक्षका प्रत्याशी बरिष्ठ नेता नेपालले महाधिवेशनबाट आफ्नो नीति पारित भएको दावी गर्दै अब नेतृत्व पनि आफूले नै पाउनुपर्ने बताए । ‘हाम्रो नीति हलले पारित गरेको छ अब नेतृत्व पनि हामीले नै गर्ने हो’ नेता नेपालले भने ‘अध्यक्षमा म अत्यधिक मतले जित्ने निश्चित भइसक्यो’ । बरिष्ठ नेता नेपालले नीति र नेतृत्व एउटैको हुनुपर्ने बताए ।

उनले प्रतिनिधिहरुको समर्थन आफूलाई रहेको दावी समेत गरे । नेपालले भने ‘मलाई अध्यक्ष झलनाथ खनालको पनि साथ छ त्यसैले राम्रो मतान्तरमा चुनाव जित्छु ।’ खनालले बन्दसत्रमा जवाफ दिने क्रममा आफू कुनै गुटमा नरहेको र गुट चलाउन पनि नजानेको बताउँदै नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने धारणा राखेक थिए । नेपालले खनाल कुनै गुटमा नरहेको स्वीकार गर्दै समर्थन आफूलाई रहेको दावी गरे ।

वामदेवको जवाफ

नेपालले मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर निस्किए लगत्तै उपाध्यक्ष तथा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले नेपालको अध्यक्ष जित्ने दावीलाई नपर्ने पानीको गर्जनको संज्ञा दिए । ‘माधव कमरेडले जित्छु भन्नु पानी नपर्ने बेलाको बादल गर्जन जस्तै हो’ गौतमले भने-‘उहाँ इज्जतका साथ चुनाव हार्नुहुन्छ र केपी कमरेडले इज्जतपूर्वक जित्नुहुन्छ ।’

अध्यक्ष झलनाथ खनालसहित उनको पक्षले नेपाललाई सघाएको भन्ने कुराको समेत गौतमले खण्डन गरे । उनले अध्यक्ष खनालको मुख्य कमाण्डरनै आफू भएकोले सबैले नेपाललाई सघाए भन्नुको अर्थ नहुने बताए । ‘उहाँको पक्षमा मजत्तिको उभिएको कोही छैन । उहाँको पक्षमा मसहितको फौज थियो’ गौतमले भने-‘कमाण्डर कतातिर छन्, सहकमाण्डर कता छन् भन्ने हो । केही सहकमाण्डर अन्तै लागे पनि सिंगो फौज र जवान मसितै छ ।’

पार्टी अध्यक्ष खनालले नेपाल र ओली दुबैलाई समर्थन नगरेको भन्दै उनले मतदान गर्ने बेलासम्म पनि खनाल कतै नखुल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment