Comments Add Comment

‘सडकमै मर्छु, कसैको ‘अण्डर’ मा बस्दिँन’

hajurba-1

३ साउन, काठमाडौं । सेतोपुलको कुनामा लुगा सिउने कल राखेर प्रधानमन्त्री सुशील कोइरालाकै उमेरका जस्तै देखिने एकजना हजुरबा जीन्दगी गुजारिरहेका छन् । ६४ वर्षमात्र पुगे पनि गरीबी र पीडाले थिचेर हुनुपर्छ यी हजुरबा ७५ कटेजस्तो देखिन्छन् ।

बिहान ७ नबज्दै भक्तबहादुर नेपालीको दिनचर्या यही सडकबाट सुरु हुन्छ । छेवैमा रहेको नर्सरीभित्र रात कटाउने गरेका उनले ८ हजार रुपैयाँमा किनेको यो लुगा सिउने मेसिन आफैं बोकेर सडकमा ल्याउन सक्दैनन् । बिहानै ज्यामीले ४० रुपैयाँ लिएर सडकमा लुगा सिउने कल राखिदिएपछि हजुरबाले ग्राहकतिर धमिला आँखा पट्यारलाग्दो किसिमले ओछ्याउन शुरु गर्छन् ।

‘बिहान चिया खाएर बस्छु, ११ बजेतिर होटलमा भात खान्छु । बेलुका पनि होटलमै खान्छु, बस्ने डेरा सेरा छैन, फूलबारी नर्सरी छ, त्यहीँ सुत्छु ।’- एकाबिहानै सडकमा लुगा खुटिरहेका हजुरबाले आफ्नो ‘खाद्य सुरक्षा’सम्बन्धी मौलिक हक यसरी प्रस्तुत गर्छन् ।

राणा शासन ढल्ने बेलामा बि.सं. २००७ साल भदौमा रामेछापमा जन्मेका हजुरबा ०५० सालमै काठमाडौं पसेका रहेछन् । गाउँमा शहरबाट जाने रेडिमेट कपडाले परम्परागत लुगा सिउने व्यवसाय धरासायी बनाएपछि उनीमात्रै नभई उनका ४ भाइ छोराहरु पनि राजधानीतिरै भासिएका रहेछन् । ५ वर्ष पहिले पत्नीवियोगमा परेका भक्तबहादुर छोराबुहारीको डेरामा जाँदैनन् ।

‘सकुन्जेल काम गरेर काम गरेर खान्छु, नसकेका दिन यही सडकमै मर्छु,’ स्वाभिमानी ज्येष्ठ नागरिक नेपालीले अनलाइनखबरसँग भने-‘म कुनै जाँ….हरुको अण्डरमा बस्दिँन ।’

तपाईलाई यो उमेरमा लुगा सिउन आँखाले साथ दिन्छ त हजुरबा ? उनले काव्यात्मक जवाफ दिए- ‘साथ नदिएर के गर्ने त ? उठेर बोले बतासले लान्छ, बसेर बोले कसैले सुन्दैन । हामी गरीबको पीडा कसैले सुन्छ ?

आम नेपालीलाई लाग्ने राष्ट्रिय रोग हजुरबालाई पनि लागेकै छ । उनी भन्छन्-‘रोग भनेको यही एउटा ग्याष्टिक छ बाबु, गोली दबाइ खाइरहनुपर्छ, पेट पोल्छ ।’

रक्सी पनि खाने गर्नुभएको छ कि ? हजुरबा भन्छन्- ‘अबुई, त्यो त नभई हुन्न । भएको कुरा भन्नुपर्छ, बेलुका अलिकति नखाई त कसरी मन भुलाउनु ?’

कमाइ कति हुन्छ ? पुराना लुगा टालटुल गर्ने पेशा गरिरहेका उनी भन्छन्- ‘जसोतसो म बूढाको सास धानिएकै छ, मलाई किन चाहियो धेरै पैसा ।’

hajurba-2हजुरबा दलित समुदायमा जन्मेकाले स्वाभिमानी हुनुभएछ हैन ? उनले चिम्रा आँखा तिखा पार्दै सोधे- ‘किन बाबु ?’ अनलाइनखबरकर्मीले प्रश्न तेस्र्यायो- ‘तपाईको हातमा पेशागत, परम्परागत सीप भएकाले गर्दा आजसम्म आफ्नै कमाइमा बाँचिरहनुभएको छ, यो ठाउँमा क्षेत्री बाहुन या जनजाति हजुरबा भएको भए के गर्थे होलान् ?’ वाल्यकालमा घाँस काट्दा बांगिएको चोरऔंलाले कल चलाउँदै हजुरबाले शायद पहिलोपटक जीवनमा आफ्नो जातिप्रति गर्व गरे- ‘हातमा सीप नभएको भए आज माग्दै हिँड्नुपथ्र्यो ।’

तर, चिनियाँ साहित्यकार लु सुनले भनेजस्तै गरीब र दलित हुनु कहाँ खुशीको कुरो हो र ! भक्तबहादुर नेपालीले रामेछापको सरकारी अड्डा छेऊमै घर भएर पनि सरकारी जागिरमा धावा बोल्न सकेनन् । उनी अहिले पनि निरक्षर छन् । लुगा सिउनुअघि नापजाँच गर्दा उनलाई लेख्न आउँदैन । ‘औंलाले बित्ता नापेर हिसाब निकाल्छु बाबु, म अक्षर चिन्दिँन ।’ उनी भन्छन् ।

त्यसो त लु सुनले भनेका छन्, ‘गरीब हुनु सुखको विषय हुन्थ्यो भने धनीहरु सबैभन्दा पहिले सडकमा गरीबलाई ठाउँ नै नराखी बोरा ओछ्याएर सुतिसकेका हुने थिए ।’ यी हजुरबाका हकमा पनि यही कुरा सत्य हो ।

जवानीमा भक्तबहादुर पटक-पटक काठमाडौं आउने गरेका रहेछन् । ‘त्यतिबेला रामेछापका साहुहरुको सामान बोक्न भरिया बनेर काठमाडौं आइन्थ्यो’ उनले इतिहास सुनाए,’दोलखा हुँदै हामी सात दिनमा काठमाडौं-रामेछाप आवत-जावत गथ्र्यौं ।

भनिन्छ, प्रत्येक मान्छेको पृष्ठमूमिमा एउटा उपन्यास लुकेको हुन्छ । कुनै उपन्यासकारले यी हजुरबालाई पछ्याएको भए राम्रो मदन पुरस्कार पाउँथे होला । तर, सडकलाई नै बुढेस कालको सहारा बनाउन बाध्य यस्ता सर्वसाधारण ज्येष्ठ नागरिकसमक्ष अहिलेसम्म न कुनै लेखक पुगेको छ, न कुनै पत्रकार नै । लेखक र पत्रकारहरुलाई सुकिला-मुकिलाहरुकोमा धाउँदै सडकसम्म ओर्लने फुर्सद छैन । ‘अहिलेसम्म मलाई कसैले यसरी सोधेका छैनन् बाबु,’ पत्रकार के हो भन्ने नै थाहा नभएका निरक्षर हजुरबाले भने ।

राज्यले पनि उनीजस्ता ज्येष्ठ नागरिकलाई कुनै वास्ता गर्दैन । भक्तबहादुरका लागि सिंगो राज्य नै यही सडक हो । र, वृद्धाश्रम पनि यही सडक नै हो ।

के सरकारले यस्ता ज्येष्ठ नागरिकहरुको देशव्यापी लगत संकलन गरेर उनीहरुको सामाजिक सुरक्षाको जिम्मा लिन सक्दैन ? ज्येष्ठ नागरिकहरुले लामो अनशन गर्दा पनि राज्यले सुनुवाइ गर्न सकेको छैन । सरकारले दिँदै आएको वृद्ध भत्ता पनि भक्तबहादुरजस्ता थात थलोको ठेगान नभएकाहरुले पाउन सकेका छैनन् । जुन राज्यले वालवालिकालाई घरेलु कामदार खटाइरहेको छ, र भक्तबहादुरजस्ता वृद्धलाई सडकमा सुताइरहेको छ, त्यस्तो देशमा लोकतन्त्र र सामाजिक न्याय छ भनेर कसरी मान्ने । भक्तबहादुर ठीकै भनेका हुन्-

उठेर बोले बतासले लान्छ ।

बसेर बोले कसैले सुन्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment