+
+

सशस्त्र द्वन्द्वमा मारिएकाको ११ वर्षपछि पहिचान

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते १३:५०

४ साउन, काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा मारिएका धनुषाका ५ जना स्थानीयको शवको ११ वर्षपछि पहिचान भएको छ । राज्यपक्षबाट गिरफ्तार गरेर माओवादी आरोपमा धनुषाको गोदारमा मारिएका जनकपुरका सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको शवको पहिचान भएको हो ।

गोदार क्षेत्रबाट ०६७ भदौ र फागुनमा उत्खनन् गरिएका शवहरूको राष्ट्रिय मानव अधिकार आयोगको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा वैज्ञानिक परीक्षणपछि पहिचान भएको हो । उनीहरु पाँचैजनालाई ०६० असोज २१ गते सुरक्षाकर्मीले जनकपुरबाट पक्राउ गरेपछि हत्या गरेको खुलेका थियो ।

पहिचान भएका पाँचवटै मानव अवशेष पीडित परिवारलाई हस्तान्तरण गर्नका लागि आयोगले आइतबार मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिक समाजका अगुवासँग छलफल गरेको आयोगका कामू सचिव वेदप्रसाद भट्टराईले जनाएका छन् ।

छलफलमा आयोगबाट जारी ‘शवोत्खनन् मार्ग निर्देशिका ०६९’ बमोजिम पीडित परिवारलाई शव बुझाउँदा सरकारका उच्च पदस्थ अधिकारी उपस्थिति हुनुपर्ने, पीडित परिवारलाई परिपूरणको व्यवस्था हुनुपर्ने र दोषीलाई कारवाही गरी पीडित परिवारको न्यायप्राप्तिको अधिकारको सुनिश्चितता गर्न सुझाव सहभागीले दिएका थिए ।

‘उक्त घटना संक्रमणकालीन न्याय र पीडितको न्यायप्राप्तिको अधिकारसँग सम्बन्धित रहेकोले सोको उचित सम्बोधन गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ’ आयोगले विज्ञप्ती निकालेर भनेको छ ।

छलफलमा आयोगका पूर्वसदस्यत्रय गौरी प्रधान, सुशील प्याकुरेल र सुदीप पाठक उपस्थित थिए । यसैगरी चरण प्रसाईँ, विष्णुपुकार श्रेष्ठ, प्रदीप पोखरेल, सुबोध प्याकुरेल, कनकमणि दीक्षित, गोविन्द बन्दी, डा. गोपाल शिवाकोटी, भवानी खरेल, देवी सुनारलगायतका अधिकारकर्मी तथा नागरिक अगुवा पनि छलफललमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?