१८ साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको धर्मपुत्रका रुपमा उनीसँगै रहँदै आएका नेपाली युवक जीतबहादुर मगरलाई मोदीले उनका परिवारसँग पुनर्मिलन गराइदिएका छन् । इन्डियन एयरफोर्सको विशेष विमानमा जीतबहादुरलाई पनि आफूसँगै लिएर आएका मोदीले उनका परिवारलाई जीतबहादुरसँग मिलन गराइदिएका हुन् ।
भिडियो
दश वर्षकै उमेरमा नवलपरासीस्थित आफ्नो घर छाडेर हिँडेका जीतबहादुर बेवारिसे अवस्थामा अहमदावादमा एक मनकारीले भेटेर तत्कालीन गुजरातका मुख्यमन्त्री मोदीसमक्ष पुर्याएका थिए । मोदीले जीतबहादुरलाई आफ्नो परिवारको सदस्यका रुपमा पालनपोषण र रेखदेखमात्र गराएनन्, उच्च शिक्षासमेत दिलाए । तिनै जीतबहादुरको परिवारसँग सम्पर्क स्थापित भएपछि उनले जीतवहादुरसँग पुनर्मिलन गराउने घोषणा नै गरेका थिए ।
जीतबहादुरलाई भेट्न उनका आमाबुबा र परिवारका अन्य सदस्य काठमाडौं आएका थिए । मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बौद्धस्थित हायात रिजेन्सी होटलमा पुग्दा जीतबहादुरका परिवार त्यहाँ आइसकेका थिए । उनले त्यहाँ सबैभन्दा पहिलो काम नै परिवारको पुनर्मिलन गराएर सामुहिक फोटो खिचाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बताएका छन् ।
मोदीले पनि जीतबहादुरलाई परिवारको जिम्मा लगाएलगत्तै ट्वीट गरेर जीतबहादुरको परिवारसँग पुनर्मिलन गराउन पाउँदा खुसी लागेको बताएका छन् । मोदीले जीतवहादुरको परिवारसँग भेट्न चाहेकाले काठमाडौंस्थित दूतावासले जीतवहादुरकी आमा खगिसरा, दाइ दशरथ, जीतवहादुरकी बहिनी प्रेमकुमारी र उनकी भाउजूलाई काठमाडौं ल्याइएको थियो । भारतीय दूतावासकै खर्चमा उनीहरु शनिबार काठमाडौं आएको स्रोतले जनाएको छ ।
हायात होटलमा पुग्नेवित्तिकै मोदी जीतवहादुरका परिवारलाई भेट्न आतुर भएका थिए । त्यहाँ आयोजित एक सानो समारोहमा परिवारको पुनर्मिलन गराई मोदीसँग फोटो खिचाइएको थियो । २७ वर्षीय जीतवहादुर १६ वर्षअघि आफ्नो घर छाडेर मजदूरीका लागि भारत छिरेका थिए । दिल्लीमा घरेलु कामदारका रुपमा रहेका उनी केही समयपछि भागेर राजस्थान पुगेका थिए ।
त्यहाँबाट घर फर्किन गोरखपुरको रेल चढेका जीतबहादुर झुक्किएर अहमदावाद पुगेपछि उनको जीवनले नयाँ मोड लियो । यसबीच करीव दश वर्ष मोदीको अभिभावकत्वमा हुर्किएका जीतवहादुर मोदी प्रधानमन्त्री भएपछि होस्टलमा बस्न थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया 4