Comments Add Comment

सुनकोशीको असर : दशैंमा महंगी बढ्ने

Tato-pani-sadak-6

२० साउन, काठमाडौं । पहिराेका कारण सुनकोशी नदी थुनिँदा राजमार्ग अवरूद्ध भएपछि  तातोपानी नाका हुँदै नेपालमा हुने आयात ठप्प भएको छ । चीनसँगको एकमात्र व्यापारिक नाका बन्द भएपछि नेपाल र चीनबीचको व्यापार पूर्णरुपमा बन्द भएको छ । व्यापार बन्द भएकाले दशैंकाे मुखमा महंगी बढ्ने व्यवसायीले बताएका छन् ।
ताताेपानी भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीका अनुसार आयात ठप्प हुँदा नेपालले दैनिक २ करोड ५० लाख रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ । तातोपानी भन्सार कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा ६ अर्ब रुपैयाँ राजस्व असूलीको लक्ष्य राखेकोमा यो प्रकोपलेे उक्त लक्षमाथि धक्का लागेको अधिकारीले बताए ।
‘सामान्यतयाः यो नाकामा दैनिक एक करोड रुपैयाँ राजस्व संकलन हुन्छ’ उनले भने -तर, अहिले चाडबाड नजिकिनै लागेकाले दैनिक दुई करोड ५० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।
कन्टेनर अलपत्र
सडक अवरुद्ध भएपछि तातोपानीमा करिब ७० वटा कन्टेनर भ्यान अलपत्र परेका छन् । नेपालतर्फ ४५ देखि ५० वटा र चीनतर्फ २० देखि २५ वटा कन्टेनर भ्यान अलपत्र अवस्थामा रहेको अधिकारीले जानकारी दिए ।

व्यवसायी भन्छन्-  दशैंमा महंगी बढ्छ

तत्काल अरनिको राजमार्ग सुचारु हुने नदेखिएकाले सरकार र व्यवसायी दुबै पक्षले विकल्प खोज्नुपर्ने अधिकारीको भनाइ छ । तर, वैकल्पिक बाटाे खाेज्दा महंगी बढ्ने उनीहरूकाे भनाइ छ ।

नेपाल-चीन चेम्बर अफ कमर्शका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लामोसमय सडक अवरुद्ध भए व्यवसायीहरुले वैकल्पिक बाटो खोज्ने बताए । ‘व्यवसायीहरुले केही समय पर्खिन्छन् र बाटो नखुले कोलकाताको बाटो हुँदै चिनियाँ सामान नेपाल भित्र्याउँछन्’ श्रेष्ठले भने -‘चाडवाडका बेलामा व्यवसायीहरु सामान आयात नगरी बस्न सक्दैनन् ।

दशैंको मुखमा महंगी बढ्ने
तर, कोलकाता बन्दरगाह हुँदै सामान आयात गरी ल्याइएका चिनियाँ वस्तु नेपाली उपभोक्ताले निकै महंगो मुल्यमा खरिद गर्नुपर्ने उनले बताए । ‘कोलकाताको बाटो हुँदै सामान आयात गर्दा ढुवानी बढ्छ, र चिनियाँ सामानको मुल्य पनि बढ्छ’ उनले भने ।
अरनिको राजमार्ग खुल्न ढिला भए नेपालीहरुको दशैँ महंगो हुने श्रेष्ठले बताए । ‘व्यवसायीहरुले वैकल्पिक बाटोबाट आयात गरेर भए पनि उपभोक्तालाई चिनियाँ सामान उपलब्ध गराउँछन्’ श्रेष्ठले भने ।

६७ मेगावाट विद्युत उत्पादन ठप्प
सुनकोशी नदी थुनिएपछि सातवटा जलविद्युत आयोजनाबाट विद्यूत उत्पादन ठप्प भएको छ । २.५ मेगावाटको सानिमा हाइड्रोपावर, ४५ मेगावाटको भोटेकोशी, १० मेगावाटको सुनकोशी, ३ मेगावाटको चाकुखोला, १.८ मेगावाटको मध्यचाकुखोला र १.६ मेगावाटको तल्लो चाकुखोला र ३ मेगावाटको भैरवकुण्ड जलविद्यूत आयोजनाबाट विद्यूत उत्पादन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
५५ गाविसमा टेलिफोन र बिजुली बन्द
जिल्लाका ५५ गाविसमा विद्युत् र टेलिफोन लाइन बन्द भएको छ भने काठमाडौँदेखि खासासम्म बिछयाइएको अप्टिकल फाइभरको लाइन पनि क्षतविक्षत भएको बताइएको छ । पहिरोले अरनिको राजमार्गको डेढ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ विद्युतको अभावमा सो क्षेत्रमा चार्ज नभएर अधिकांस मोबाइल फोनहरु स्वीच्ड अफ भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment