Comments Add Comment

एमालेमा पदाधिकारीको जिम्मेवारी तय, योगेशलार्इ प्रचार, गोकर्णलार्इ मोर्चा

४ भदौ, काठमाडौं । गत शनिबार सम्पन्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्न नसके पनि नेताहरूबीच पदाधिकारीको जिम्मेवारीका बारेमा मोटामोटी सहमति भएको छ ।

CPN_UML_officeसोहीअनुसार, केही नेताहरूले अनौपचारिक रूपमा कामको जिम्मेवारी समेत सम्हालिसकेका छन् । अध्यक्ष केपी ओलीले कार्यविभाजनको प्रस्ताव तय गर्ने जिम्मा महासचिव ईश्वर पोखरेल र उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललाई दिनुभएको छ ।

तीन जनाबीच पटक–पटक बैठक बसेर जिम्मेवारी कसरी दिने भन्नेबारेमा छलफल भइरहेको छ ।

‘हामीले जिम्मेवारी तोक्दा मोडालिटीका बारेमा छलफल गरिहेको छौं’– उपमहासचिव भुसालले भन्नुभयो– ‘भूगोल, विभाग र फाँट गरी केन्द्रीय नेतृत्वलाई विन्यास गर्नेछौं ।’ स्रोतका अनुसार, १ सय ६१ सदस्यीय केन्द्रीय कमिटीका ६० प्रतिशत सदस्य भूगोलमा खटिनेछन् भने २० प्रतिशतले विभाग र बाँकी २० प्रतिशतले फाँटको जिम्मेवारी पाउने बुधबार साप्ताहिकमा खबर छ ।

अध्यक्ष र महासचिवलाई खास कुनै तोकेर जिम्मेवारी दिनुपर्ने छैन भने बाँकीलाई रुचि, क्षमता र सन्तुलनका आधारमा जिम्मेवारी दिइनेछ ।

पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन गर्ने जिम्मेवारी दिइनेछ । जस अनुसार, विद्या भण्डारीले पूर्वाञ्चल, अष्टलक्ष्मी शाक्यले मध्यमाञ्चल, वामदेव गौतमले पश्चिमाञ्चल, युवराज ज्ञवालीले मध्यपश्चिमाञ्चल र भीम रावलले सुदूरपश्चिमाञ्चलको जिम्मेवारी पाउनेछन् ।

पाँच सचिवका लागि विधानमै पाँच विभागको किटानी भए पनि दुई उपमहासचिवका लागि भने के जिम्मेवारी दिने भन्ने किटान छैन । एक सचिवले भने– ‘दुवै जना कार्यविभाजनसम्बन्धी छलफल गर्ने टिममा भएकाले आफूलाई उपयुक्त लाग्ने जिम्मेवारी लिनुहुन्छ होला ।’

उपमहासचिव पौडेलले के जिम्मा लिने भन्ने तय नभए पनि अर्का उपमहासचिव भुसालले भने पार्टी स्कुल विभाग लिने सम्भवना छ ।

पाँच सचिवमध्ये यसअघि पाँच वर्ष प्रचार विभाग प्रमुख भएर सफलतापूर्वक काम गर्नुभएका प्रदीप ज्ञवालीलाई यस पटक देशभरिको पार्टी कामको संयोजन गर्ने केन्द्रीय सचिवालय सचिव बनाइनेछ भने कार्यालय सचिवका रूपमा यसअघि कार्यरत पृथ्वीसुब्बा गुरुङलाई संगठन विभाग प्रमुख बनाइनेछ ।

यसैगरी, सञ्चार क्षेत्रमा व्यक्तिगत रूपमा समेत राम्रो प्रभाव राख्ने योगेश भट्टराईलाई प्रचार विभाग प्रमुख र दुई कार्यालय युवासंघको सफलतापूर्वक नेतृत्व गर्नुभएका गोकर्ण विष्टलाई मोर्चा प्रमुख बनाउने सम्भावना छ ।

अर्का सचिव भीम आचार्य भने मन्त्री भएका कारण अहिले कार्यविभाजनमा पर्ने छैनन् । विधान व्यवस्था भएको राज्य व्यवस्था विभाग अहिलेलाई छुट्याउने तर अहिले सचिवालयले नै समन्वय गर्ने सम्भावना रहेको एक सचिवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment