१३ भदौ, काठमाडौं । घुस लिने कर्मचारीलाई रंगेहात समाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब आफ्नो ध्यान मसाज, डान्सबार र क्याबिन रेष्टुरेन्टतिर लगाउने भएको छ ।
साथै घरेलु कामदारका रुपमा काममा लगाइएका बालबालिकालाई विद्यालय पठाए/ नपठाएको समेत निगरानी गर्न अख्तियारले प्रहरी अधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।
नेपालमा चेलिबेटी बेचबिखन र महिला तथा बालश्रम लगायतका विषयमा देखिएका समस्याबारे छलफल गर्न भन्दै अख्तियारले विहीबार आफ्नै हेडक्वार्टरमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा अधिकारीलाई डाकेर छलफल गरेको थियो ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नेतृत्वमा आयोजना गरिएको छलफलमा विभिन्न मन्त्रालयका सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुको सहभागिता थियो । अख्तियारका आयुक्त केशव बराल पनि छलफलमा सहभागी थिए ।
दशबुँदे निश्कर्ष
चेलीबेटी बेचबिखन र वालहिंसा नियन्त्रण गर्ने उपाय खोज्न अख्तियारको कार्यालयमा आयोजना गरिएको छलफलले विभिन्न १० बुँदे निश्कर्ष निकालेको आयोगले जनाएको छ ।
आश्रयमा रहेका र बाबुआमा पहिचान नभएकाहरुको व्यवस्थापन गर्ने, नागरिकता र पासपोर्टमा अवैधानिक रुपमा उमेर सच्याउनेहरुलाई निरुत्साहित गर्ने, भिजिट भिसा र घरेलु कामदारबारे ठोस नीति तय गर्ने लगायतका निश्कर्षहरु निकालिएको अख्तियारले जनाएको छ ।
त्यसैगरी मसाज, डान्सबार, क्याबिन रेष्टुरेन्ट र वालिवालिकाहरुलाई शोषमुक्त गनेबारे छलफलमा प्रतिवद्धता जनाइएको छ । घरेलु कामदारहरुलाई उचित पठन पाठन गराइनुपर्ने भन्दै समस्यामा परेका वालवालिकाहरुको उद्धार एवं व्यवस्थापन गर्ने निश्कर्ष निकालिएको अख्तियारले जनाएको छ ।
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने र विद्यमान कानूनको कडाइपूर्वक कार्यानवय गर्ने समेत सरकारी अधिकारीहरुले अख्तियार समक्ष प्रतिवद्धता जनाएका छन् ।
महिलामैत्री कानून नभएको देशमा चेलिबेटी नपठाऔं
यसैवीच वैदेशिक रोजगारीमा गएका नेपाली महिलाहरु विभिन्न प्रकारका यौनजन्य शोषणमा पर्ने गरेको गुनासो आइरहेका बेला राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदताराले मैहिला मैत्री कानून नभएका देशमा नेपाली महिला कामदारलाई पठाउन नहुने बताएकी छन् ।
अख्तियारको छलफल कार्यक्रममा बोल्दै चाँदताराले त्यस्ता देशमा नेपाली महिलालाई पठाउन नहुने बताएकी हुन् । तर, उनले त्यस्ता देशहरु कुन-कुन हुन् भन्ने चाँहि खुलाइनन् ।
चेलीबेटी बेचबिखन रोक्न माइती नेपालले गरिरहेको पुनःस्थापना कार्यबारे कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले अख्तियारका पदाधिकारीलाई जानकारी गराएकी थिइन् । सो कार्यक्रममा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले माइती नेपालको भूमिकाको प्रशंसा गरेका थिए ।