१३ भदौ, काठमाडौं । जनजाति पार्टीहरुले संघीयता र धर्म निरपेक्षतालाई नयाँ संविधानमा अपरिवर्तनीय प्रस्तावनामा राख्न माग गरेका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको शुक्रबारको बैठकमा साना दलहरुले प्रमुख दलहरुबीच भएको सहमति अस्वीकार भएको बताएका हुन् ।
कांग्रेस, एमाले, एमाओवादीसहितका प्रमुख दलहरुबीच बिहीबार मुलुकको भौगोलिक अखण्डता, सर्वभौमसत्ता र जनतामा निहित सार्वभौमसत्तालाई मात्र अपरिर्वतनीय धारामा राख्ने सहमति भएको थियो ।
बैठकमा साना दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीलाई पनि असंशोधनीय धारामा राख्न माग गरेका छन् । ‘संघीयतालाई संशोधनीय धारामा राखेर संघीयतामा नजाने खतरा छ’ थरुहट तराई पार्टीका सभासद गोपाल दहितले अनलाइनखबरसँग भने-‘धर्म निरपेक्षता कांग्रेस र एमालेसहितका दलहरुले आफैं घोषणा गरेका हुन् ।’
धर्मनिरपेक्षतालाई असंशोधनीयमा नराख्ने हो भने कुनै पनि बेला हिन्दु धर्म कायम गराउन सक्ने जनजाति पार्टीहरुको आशंका छ ।
समानुपातिक र समावेशी प्रणालीलाई पनि संविधानमा नै असंशोधनीय बनाउनुपर्ने उनीहरुको माग छ । ‘अहिले पनि बाहिर समानुपातिक समावेशी मान्छौं भने पनि कोर ग्रुपमा बन्दा कांग्रेस र एमालेले विरोध गर्छन्, न्यायाधीश प्रकरण, मन्त्रिपरिषद् गठनमा पनि भएको छैन’ दहितले भने-‘भोलि संशोधनीय बनाउने हो भने कुनै पनि बेला कांग्रेस र एमालेले यसलाई उल्टाउन सक्छन् ।’
बैठकमा मधेसवादी दलका नेताहरु मौन बनेका थिए । राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरु भने प्रशन्न मुद्रामा प्रस्तुत भएका थिए ।
बाबुरामलाई डाक्टर हटाउन चुनौती
बैठकमा गएका खम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार खम्बु र समिति सभापति डा. बाबुराम भट्टराईबीच जुहारी चलेको छ ।
जनजाति पार्टीहरुको कुरा सुनेपछि सभापति भट्टराईले संविधान निर्माणमा लचिलो हुनुपर्ने बताए । अरुको कुुरा नसुन्दा विद्रोह भएको भन्दै उनले सबैलाई समेटेर बढ्नु पर्ने बताएका थिए ।
तर, जवाफमा सभासद खम्बुले भट्टराईलाई आफ्नो नाम अघिको डा. हटाउन चुनौती दिए । ‘तपाईले कति दुःख गरेर पाउनुभएको उपाधि हटाउन सक्नुहुन्छ ?’ भट्टराईलाई प्रश्न गर्दै राईले भने-यो गणतन्त्र, धर्मनिरपेक्षताका लागि पनि ठूलो बलिदानी भएको छ ।’
विषयलाई सामान्य पार्ने प्रयास गर्दै भट्टराईले भने बाबुराम नाम गरेका धेरै भएकाले चिन्न सजिलो होस् भनेर डा. लेखेको जवाफ दिए ।
माओवादी सति जान्छ भने जाओस्
अशोक राई, गोपाल दहितसहितका जनजाति सभासदहरुले एकीकृत नेकपा माओवादीको भूमिकाप्रति आक्रोश पोखेका छन् । ‘यो माओवादीको पनि एजेण्डा हो । तर, कांग्रेस र एमालेसँग मिलेर सति जान्छ भने जाओस्’ दहितले भने- हामी सति जाने पक्षमा छैनौं ।’
जनजाति सभासदहरुले चार दलबीच भएको सहमति स्वीकार्य नभएको बताए । दहितले भने-माओवादी पनि कांग्रेस र एमालेसँग मिलेर पेलेर जान्छ भने हामी पनि हाम्रो हैसियत देखाउँछौं ।’