Comments Add Comment

गुगलले किन्यो ‘चम्चा कम्पनी’

गुगलले बुधबार किनेको लिफ्ट ल्याबको मुख्य उत्पादन चम्चा । तस्वीर : लिफ्टल्याब
गुगलले बुधबार किनेको लिफ्ट ल्याबको मुख्य उत्पादन चम्चा । तस्वीर : लिफ्टल्याब

हरेक साताजसो नयाँनयाँ कम्पनी खरिद गरिरहेको गुगलले पछिल्लोपटक एउटा चम्चा बनाउने कम्पनी खरिद गरेको छ ।  पार्किन्सन लगायतका जटिल रोग लागेका बिरामीहरुलाई लक्षित गर्दै विशेष चम्चा उत्पादन गरेको जैविक प्रविधि कम्पनी लिफ्ट ल्याबलाई गुगलले किनेको हो ।
सह सस्थापक सेर्जेइ ब्रिनको व्यक्तिगत रुचीकै भरमा गुगलले स्वास्थ्य प्रविधितर्फ हात हाल्ने क्रममा यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।
गएको वर्ष गुगलले मानिसहरुको आयु वृद्धि गर्ने औषधि निर्माता कम्पनी क्यालिकोमा समेत लगानी गरेको थियो ।
पछिल्लोपटक खरीद गरिएको लिफ्ट ल्याब अब गुगलको अनुसन्धान विभाग गुगल एक्समा गाभिनेछ ।
लिफ्ट ल्याबले निर्माण गरेको विशेष चम्चामा सेन्सरको प्रयोग गरिएको छ जसले कम्पन पत्ता लगाउने तथा त्यसलाई रोक्ने  काम गर्छ । त्यसैले यदि पार्किन्सनको रोग भएका मानिसले यो चम्चा प्रयोग गरेमा उनीहरुको हात थर्थराएमा पनि यो चम्चा कम हल्लिन्छ र रोगीले यो चम्चाको प्रयोग गरी सहज रुपमा खानेकुरा खान सक्छन् ।  यो चम्चामा प्रयोग गरिएको प्रविधि क्यामरामा प्रयोग गरिने इमेज स्टाबिलाइजेसन प्रविधि जस्तै हो ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुपम पाठकले गुगल प्लसमार्फत कम्पनीलार्इ गुगलले किनेको पुष्टि गरेपनि रकमको कुरा भने खुलाइएको छैन ।
गुगलले भने लिफ्टल्याबका कर्मचारीलाई गुगल एक्समा स्वागत गर्दै उक्त कम्पनीले बनाएको चम्चाले लाखौँ मानिसको जीवन सहज हुने उल्लेख गरेको छ ।
पछिल्लो समय गुगलले स्वास्थ्य क्षेत्रमा समते आफ्नो उपस्थिति बढाउँदै लगेको छ । जनवरीमा गुगलले स्मार्ट कन्ट्याक्ट लेन्स निर्माण गरेको थियो जसले आँसुमा भएको ग्लुकोजको मात्रा मापन गरी मानिसलाई मधुमेह भए नभएको जानकारी प्रदान गर्छ ।
जुलाई महिनामा गुगलले एउटा महत्वाकांक्षी विज्ञान परियोजना ‘बेसलाइन स्टडी’ को घोषणा गरेको छ । जसमार्फत गुगलले मानिसका आनुवंशिक तथा मोलिक्युलर सूचनाहरु संकलन गर्नेछ र त्यसबाट एउटा पूर्ण स्वास्थ्य मानिस कस्तो हुन्छ भन्ने चित्र तयार गरिनेछ ।
गुगलका सह सस्थापक सर्जेइ ब्रिनको व्यक्तिगत रुचीका आधारमा गुगलले स्वास्थ्य क्षेत्रमा आफ्नो फँडा फिजाइरहेको विश्लेषकहरुको भनाइ छ ।
बि्रनकी आमालाई पार्किन्सनको रोग भएको थियो भने आनुवंशिक परीक्षणबाट बि्रन आफैलाई पनि उक्त रोग हुने अधिक सम्भावना रहेको पत्ता लागेको छ ।
गुगलका अर्का संस्थापक ल्यारी पेज पनि स्वर यन्त्रको समस्याबाट ग्रसित छन् । उनी पनि गुगलमार्फत धेरै भन्दा धेरै तथ्यांक उपलब्ध गराएर मानिसहरुलाई आफ्नो स्वास्थ्य समस्या समाधान गर्नका लागि सहयोग पूर्‍याराउन सकियोस् भन्ने मनसायमा छन् ।

हेर्नुहोस् भिडियो कसरी काम गर्छ यो स्मार्ट चम्चाले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment