Comments Add Comment

दसैंका सामान रसुवागढीबाट भित्रिन थाले

Rasuwagadhi
फाेटाे साैजन्य : विकिपीडिया

नविन अर्याल

२९ भदौ, काठमाडौं । सुनकोशीको पहिरोले चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग अवरुद्ध भएपछि व्यवसायीहरु रसुवागढीतर्फ मोडिएका छन् । दसैंका बेला चीनबाट भित्रिने लत्ता कपडा, फलफूल र अन्य सामाग्रीको अभाव हुने र महंगी बढ्ने चिन्ता व्यक्त भइरहेको समयमा तातोपानीको विकल्पमा रसुवा गढी नाकालाई प्रयोग गर्न थालिएको हो ।

जुरेमा पहिरो जानुभन्दा पहिले हप्ताको ३ वटासम्म चिनियाँ कन्टेनर केरुङ हुँदै रसुुवागढी आउँथे । तर, अहिले दिनमा ५ वटासम्म कन्टेनर आउन थालेको स्थानीय बताउँछन् । त्यसैगरी हप्तामा ३/४ गाडीहरु स्याउ बोकेर आउन थालेको रसुवागढी भन्सार प्रमुख शम्भु खड्काले अनलाइनखबरलाई बताए ।

चीनको केरुङ भन्सार सञ्चालनमा नआइसकेको हुँदा खासा भन्सारबाट पास लिएर गाडीहरु आउन थालेको खड्काले बताए । ‘चिनियाँ एक गाडी बराबर हाम्रा दुई गाडी हुन्छन्, यसरी हेर्दा दैनिक १० वटासम्म ट्रक रसुवागढीबाट समान बोकेर आउँछन्’ खड्काको भनाइ छ ।

जुरेमा गएको पहिरोका कारण अवरुद्ध भएको तातोपानी नाका जोड्ने अरनिको राजमार्ग अहिलेसम्म खुलेको छैन । अहिले सरकार तथा व्यवसायीहरु उक्त राजमार्ग खोल्न कम्मर कसेर लागे पनि पानी परिरहेको हुँदा सफल हुन सकेका छैनन् ।

रसुवागढी नाकाबाट खासगरी दशैंका लागि आवश्यक पर्ने लत्ताकपडा तथा जुत्ताचप्पल र फलफूल आउने गरेका छन् । इलेक्ट्रोनिक्स तथा घरायसी समान र कच्चा पदार्थ नआएको भन्सार प्रमुख खड्काले बताए ।

चीनको खासा भन्सारका अधिकारीहरुले अरनिको राजमार्ग खुल्छ भनेर कन्टेनरहरु रोकिँदा सोचेजति गाडीहरु रसुवागढी आउन नपाएको खड्का बताउँछन् । केरुङ भन्सार सञ्चालनमा नआएका कारण खासाको स्वीकृति अनिवार्य चाहिन्छ । ‘केरुङ भन्सार अक्टोबर महिनादेखि सञ्चालनमा ल्याउने तयारीमा चिनियाँ पक्ष रहेको छ, अहिले उनीहरु निर्माण कार्यमा व्यस्त छन्’ खड्काले भने- ‘यो भन्सार सञ्चालनमा आएपछि खासको स्वीकृति चाहिँदैन ।’ 

अहिले नेपालको रसुवागढी भन्सारले १५ वटासम्म गाडीहरु चेकजाँच गर्न सक्ने क्षमतामा रहेको छ । नाका व्यस्त भएमा जनशक्त थप गर्ने बताउँदै भन्सार प्रमुख खड्काले अहिले २१ जना कर्मचारी रहेको बताए ।

दुई महिनामा राजश्व लक्ष्य नाघ्यो

अरनिको राजमार्ग बन्द भएर रसुवागढी नाका व्यस्त हुन थालेपछि राजश्व संकलन पनि अप्रत्यासित रुपमा बढेको छ । यस वर्ष सरकारले रसुवागढी नाकाबाट ८ करोड ४ लाख रुपैयाँ भन्सार संकलन गर्न निर्देशन दिएकोमा भदौ महिनासम्म लक्ष्यभन्दा बढी १० करोड रुपैयाँ उठिसकेको छ ।

गत वर्ष यस भन्सार कार्यालयबाट ३ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । रसुवागढीबाट काठमाडौं आइपुग्न अन्दाजी डेढ सय किलोमिटरको बाटो तय गर्नुपर्छ ।

अक्टोबर महिनापछि केरुङ भन्सार कार्यालय सञ्चालनमा आएपछि गाडीको आवागमन बढ्ने अपेक्षा गरिएको छ । जसले राजश्व संकलन अझै बढ्ने निश्चित छ । अक्टोबरदेखि दिनमा ८/१० वटा चिनिया गाडी नाकासम्म आउने अपेक्षा गरिएको खड्काले सुनाए ।

तातोपानी/खासामा ६ सय गाडी अलपत्र

तातोपानी भन्सार प्रमुख निमांशु अधिकारीका अनुसार अहिलेसम्म अरनिको राजमार्गबाट ट्रक आवात-जावत गर्न सक्ने अवस्था छैन ।  ‘खासामा ३ सयको हाराहारीमा भरिएका ट्रक लाइन लागेर बसेका छन्, ४०/५० वटा ट्रक भन्सारभित्रै छन्’ अधिकारीले भने- ‘बाटो खुलाउन सरकार र व्यवसायी तातेका भए पनि लगतार परेको पानीका कारण तत्काल ट्रकहरु गुडिहाल्ने अवस्था देखिँदैन ।’

तातोपानी र खासामा लोड भएका र नभएका गरी करिव ६ सय ट्रकहरु अलपत्र अवस्थामा रहेको नेपाल चाइना चेम्बर अफ कमर्श तातोपानी शाखाका अध्यक्ष ज्याङ्बु शेर्पाले बताए ।

बाटो तत्काल खुल्ने अवस्था नरहेपछि व्यवसायीहरुले दशैंका लागि ल्याएका लत्ता-कपडा बोकाएर ल्याउन थालेका छन् ।

दिनमा ५ देखि ७ ट्रक हल्का समान टाउकोमा बोकेर ल्याउने गरिएको भन्सार प्रमुख अधिकारीले जानकारी दिए । ‘यो समयमा फलफुल तथा लत्ता-कपडा लगायतका सामान बोकेका गाडीहरु दिनमा ११० देखि १२० वटासम्म नेपाल आउँथे’ अधिकारीले भने- ‘दशैं अगाडि नै ५४/५५ करोड रुपैयाँ राजश्व उठ्थ्यो, अहिले त मुख्य सिजनमै ठप्प भएपछि आधा पनि राजश्व उठेको छैन ।’

ज्याङ्बु शेर्पाका अनुसार शनिबार साँझ ५ बजे जबरजस्ती एउटा गाडी पास गराइएको छ । सहजरुपमा आते-जाते गर्न समय लाग्ने उनले सुनाए । घाम नलागेमा अबको ८/१० दिनमा मज्जाले गाडी हिँड्न सक्ने अवस्था सिर्जना हुने बताउँदै उनले लगतार परेको पानीले बाटो थप बिगारिरहेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment