Comments Add Comment

पोखराका होटलमा थपिँदै तीन अर्ब लगानी

Pokhara Views (14)
फेवातालमा देखिएकाे माछापुच्छ्रे लगायतका हिमालकाे छायाँ ।

नविन अर्याल

१ असोज, पोखरा । पर्यटकीय नगरी पोखरामा पछिल्लो समय होटल व्यवसायमा लगानी हृवात्तै बढ्न थालेको छ । होटल व्यवसायमा लगानी गर्न खोज्नेहरुको पहिलो रोजाइ पोखरा बनेको छ ।

पोखरामा अहिलेसम्म साना ठूला गरेर झण्डै साढे ४ सय पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् । जुन होटलहरुमा अनुमानित ७५ अर्ब रुपैयाँ लगानी भएको पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराका उपाध्यक्ष भरतराज पराजुलीले बताउँछन् ।

निकट भविष्यमै पोखरामा साना ठूला गरेर ३० वटा होटल सञ्चालनको तयारीमा रहेका छन् । जहाँ ३ अर्ब रुपैयाँभन्दा बढी लगानी रहने अनुमान गरिएको छ ।

उपाध्यक्ष पराजुलीका अनुसार संघमा अहिलेसम्म ३ सय ५० वटा होटल तथा रिसोर्टहरु दर्ता भएका छन् । संघमा दर्ता नभई सञ्चालनमा रहेका होटलहरुको संख्या सयको हाराहारीमा रहेको अनुमान छ ।

पोखरामा फुलवारी रिसोर्ट एन्ड स्पा र पोखरा ग्रान्ड होटल गरी दुईवटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् ।

पर्यटन कार्यालय पोखराका अनुसार गत वर्षमात्र पोखरामा २७ वटा सानो लगानीका होटलहरु सञ्चालनमा आएका छन् । जुन होटलमा ३० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ ।

पोखरामा सञ्चालनमा रहेका पर्यटकस्तरीय होटल तथा रिसोर्टमा ७ हजार रुमहरु उपलब्ध रहेको बताउँदै उपाध्यक्ष पराजुलीले एकै पटकमा १४ हजार जना पर्यटकले रात बिताउन सक्ने जानकारी दिए ।

इजाजत नलिई सञ्चालनमा रहेका करिव सयवटा पर्यटक स्तरीय होटलमा पनि प्रयाप्त रुमहरु रहेका छन् । यी होटलहरुले पनि पर्यटकलाई गुणस्तरकै सेवा सुविधा उपलब्ध गराउँदै आएका छन् ।

Rupakot-Resort-Photo-2
निर्माणधिन रूपाकाेट रिसाेर्ट ।

तीन अर्ब लगानी थपिँदै

उपाध्यक्ष पराजुलीका अनुसार करिव ३० वटा साना-ठूला होटलहरु सञ्चालनका लागि पाइपलाइनमा रहेका छन् । करिव ३ अर्ब रुपैयाँभन्दा बढी लगानी रहने यी होटलहरुमा न्यूनतम २५ देखि ६५ वटासम्म कोठाहरु रहने बताइएको छ ।

पर्यटकस्तरीय होटलमा सेवा सुविधा राम्रो हुनैपर्छ । पछिल्लो समय होटल व्यवसायीहरु आफ्नो होटलमा फरक खालका लक्जरियस सेवा-सुविधाहरु उपलब्ध गराउने होडबाजीमा उत्रिएको पाइन्छ । जसले गर्दा व्यवसायीहरुको लागत बढ्दै गएको बताउँछन् पराजुली ।

‘कतिपय होटलहरु निर्माण सम्पन्न भइसकेका छन, कतिपय निर्माण भइरहेका छन भने कतिपय निर्माण सुरु हुने तरखरमा छन्’ पराजुलीले भने- ‘यी होटलहरु सञ्चालनमा आएपछि करिव एक हजार रुम थपिने अपेक्षा गरिएको छ ।’

निर्माणधीन ३० होटलहरु

पोखरा भ्याली तथा आसपासको क्षेत्रमा अहिले साना ठूला पर्यटकस्तरीय होटलको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । पोखरा भ्यालीमा भन्दा पनि आसपासको क्षेत्रमा होटलहरु निर्माण भइरहेका छन् ।

पोखराको बेगनासताल माथिको डाँडामा ‘रुपाकोट रिसोर्ट’, न्यूरोडमा ‘होटल गुडविल पोखरा’ बेगनासमाथिकै पचभैया डाँडामा ‘द लस्ट होराइजन रिसोर्ट’ लेकसाइडमा थोरङ्ला रिसोर्ट, सराङकोटमा जापानीको लगानीमा पाँचतारे स्तरको होटल निर्माण भइरहेको छ ।

पर्यटकहरुले सुन्दर दृश्यहरु अवलोकन गर्दै शान्त वातावरण खोज्ने हुँदा व्यवसायीहरुले भ्यालीभन्दा पनि डाँडापाखा रोज्न थालेको पराजुली बताउँछन् ।

‘पोखरामा आउने पर्यटकहरु हिमाल र फेवातालको दृश्य अवलोकन गर्न खोज्छन्’ पराजुलीले भने- ‘डाँडापाखामा निर्माणाधीन होटलहरु दुबै दृश्य पर्यटकलाई देखाउन चाहन्छन् ।’

Pokhara Views (21)
विश्वशान्ति स्तुपाबाट देखिएकाे सुन्दर पाेखरा भ्याली र हिमालहरू ।

रुपाकोट रिसोर्ट

बेल्जियममा २० वषैदेखि रेष्टुरेन्ट व्यवसाय गरिरहेका पुष्प अधिकारीले बेगनासमा ‘रुपकोट रिसोर्ट’ बनाइरहेका छन् । तीस करोड करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको यो रिसोर्ट दशैंमा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ ।

दुईसय रोपनी जग्गामा बन्न लागेको होटलमा ४२ वटा वातानुकुलित कोठाहरु रहनेछन् । जहाँ एकैरात ८४ जनाले रात बिताउन सक्नेछन् ।

रिसोर्टमा एक रात विताउन ३० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । सुन्दर दृश्यहरु अवलोकन गर्न पाउनु नै यस रिसोर्टको मूख्य विशेषता हो ।

रिसोर्टमा मुख्य भवन, पार्किङ, स्वीमिङ पुल, गार्डेन र दुईवटा हेलिप्याड रहनेछन् । रिसोर्ट पैसावाल र प्राकृतिक सुन्दरताका पारखीहरुलाई लक्षित गरेर निर्माण गरिएको हो ।

होटल गुडविल

पोखराको न्यूरोडमा करिव २६ करोड लगानीमा होडल गुडविल निर्माण भइरहेको छ । मदन केसीले ४३ कोठा भएको होटल निर्माण गर्न लागेका हुन् ।

ट्राभल एजेन्सी र मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्दै आएका केसीले यो होटल यसै वर्ष सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

The-Lost-Horizen-Resort
निर्माणकाे तयारीमा रहेकाे द लस्ट होराइज रिसोर्टकाे स्केच ।

द लस्ट होराइज रिसोर्ट

सांग्रिला होटल एन्ड रिसोर्टले पोखराको बेगनासमा ५० करोड रुपैयाँ लगानी गरि रिसोर्ट सञ्चालन गर्ने भएको छ । ‘द लस्ट होराइजन रिसोर्ट’ सञ्चालनका लागि कम्पनीले ४० रोपनी जग्गा लिएको छ ।

आगामी पुस तेस्रो साताबाट निर्माण सुरु गरिने रिसोर्टमा ४० वटा विश्वस्तरीय कटेजहरु रहनेछन् । होटल बेगनास तालबाट करिव ५ सय फिटको उचाईमा रहेको पचभैया डाँडामा निर्माण हुनेछ ।

रिसोर्टबाट जंगल, बेगनास ताल, लेखनाथको फाँट, आठ हजार मिटरभन्दा अग्ला ४ वटा हिमाल देखिने छ । होटलको लक्ष्य गुणस्तरीय पर्यटक नेपाल भित्राउने रहेको छ ।

होटलमा एक रात बिताउन करबाहेक ३० हजारदेखि ५० हजार रुप्ैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । त्यस्तै सांगि्रलाले हाल काठमाडौंमा पाँचतारे होटल सांग्रिला र पोखरामा चारतारे सांगि्रला भिलेज रिसोर्ट सञ्चालन गरिरहेको छ ।

सराङकोटमा जापानी होटल

Pokhara-Japanise-Hotel
सराङकाेटमा जापानीजले बनाउन लागेकाे सुविधासम्पन्न हाेटल ।

त्यस्तै, सराङकोटमा पनि सुविधा सम्पन्न होटल निर्माण भइरहेको छ । जापानी लगानीमा बन्न लागेको उक्त होटलको नाम अझै राखिएको छैन ।

होटल पाँचतारे स्तरको रहने दाबी गरिएको छ । होटलले पोखराबाट केवलकारमा ग्राहकहरुलाई होटलसम्म पुर्‍याउने दीर्घकालिन लक्ष्य राखेको छ ।

यस होटलमा पनि न्यूनतम ३० करोड रुपैयाँ लगानी रहने पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष पराजुली बताउँछन् । ‘जापानीजले ठूलो लगानी गरेर होटल निर्माण गरिरहेका छन्’ उनले भने- ‘निर्माण कार्य हेर्दा ठूलो लगानी रहने अनुमान गर्न सकिन्छ ।’

उक्त होटलबाट हिमाल, फेवाताल, जंगल, आकाशमा उडका प्याराग्लाइडिङ र पोखराको सुन्दर बजार हेर्न पाइन्छ ।

ठूला घरानाको ४ तारे घोषणा

त्यसैगरि, पोखरामा ठूला व्यवसायीक घरानाले ठूलो लगानीमा ४ तारे होटल निर्माण गर्ने घोषणा गरेका छन् । सोल्टी होटलले छिट्टै ४ तारे होटल निर्माण गर्ने बताएको छ भने लक्ष्मी ग्रुपले सोही स्तरको होटल निर्माण गर्न जग्गा खोजिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्यले बेगनासमा रिसोर्ट सञ्चालनको तयारी गरिरहेको बताएका छन् । रिसोर्टका लागि जग्गा खोजीसकेको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय चेन खोजीरहेको बताउँछन् ।

Hotel-Godwill-Phokhara
निर्माणधिन हाेटल गुडविलकाे भवन ।

‘तारे होटल निर्माणका लागि प्रति रुम एक करोड लगानी गर्नुपर्छ’ लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठले भने- ‘यसरी हेर्दा डेढसय रुम भएको होटल निर्माण गर्न जग्गासहित २ अर्ब रुपैयाँ लगानी लाग्छ ।’

तीनवटै होटलले तत्काल होटल निर्माण कार्य सुरु गरेमा पोखराको होटलमा ६ अर्ब लगानी थपिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment