Comments Add Comment

नेपाल र भारत प्रधानमन्त्रीबीच भेटवार्ता, सार्क सम्मेलनको तयारीबारे छलफल

modi-susil
१२ असोज, काठमाडौं । न्युर्योक भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ६९ महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका दुर्इ देशका प्रधानमन्त्री बीच न्यूयोर्क प्यालेस होटलमा भएको भेटवार्तामा दुइदेशको आपसी सम्बन्ध, सार्क सम्मेलनको तयारी, भारतीय सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । प्रधानमन्त्री कोइरालाले भने आफू स्वस्थ भैसकेको बताएका थिए ।

वार्ताका अवसरमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्रीको गत साउनमा सम्पन्न नेपाल भ्रमण पछि द्धिपक्षीय सम्बन्धमा नयाँपन आएको बताए । उनले भ्रमणकालमा भएको समझदारी अनुरुप नै डेढ महिनाभित्र विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी जीएमआरसंग लगानी बोर्डले आयोजना विकास संझौता गरिसकेको जानकारी गराए । प्रधानमन्त्री कोइरालाले नेपाल लगानीको लागि अनुकूल बन्दै गएको पनि उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले सार्क शीखर सम्मेलनको तयारीका सम्बन्धमा पनि चासो व्यक्त गरेका थिए । वार्तामा सहभागी परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र पाण्डेका भारतीय समकक्षी शुषमा स्वराजले सार्कको शीखर सम्मेलनको तयारीका बारेमा माल्दीभ्समा सम्पन्न मन्त्री स्तरीय बैठकमा विशेष छलफल भएको जानकारी दुवै प्रधानमन्त्रीलाई गराएका थिए । भारतीय प्रधानमन्त्री मोदीले सार्क सम्मेलनको अवसरमा जनकपुर र लुम्बिनीको भ्रमण गर्ने रहर पुरा हुने विश्वास पनि व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment