Comments Add Comment

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा शीर्ष नेताद्वारा शुभकामना व्यक्त

dashain१७ असोज, काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् । सवैले शुभकामना सन्देश दिँदै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति डा. रामवरणा यादवले शुभकामना सन्देश दिँदै वर्षभरि आइरहने चाड र जात्रा नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लेख गर्दै यस्ता पर्वले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आपसमा जोड्न सम्बन्ध सूत्रको काम गरेको बताएका छन्।

उनले यस क्षणमा देशका विभिन्‍न भागमा आएको प्राकृतिक विपत्तिजन्य प्रकोपका कारण जीवनयापन कष्टमय भएका परिवारप्रति सहभाव व्यक्त गर्दै उनीहरूको दैनिक गुजारा सहज तुल्याउने र जीविकाको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्‍न सबैसँग आग्रह गरेका छन्।

राष्ट्रपतिले जनताले अपार उत्साह प्रदर्शन गरी चयन गरेको दोस्रो संविधानसभाले निश्‍चित अवधि किटान गरेर संविधानको मस्यौदा तयार पार्न दर्साएको क्रियाशीलतालाई कायम राखी आफ्ना कबुल पूरा गर्न सबै दलमा आग्रह गरेका छन्। राष्ट्रपतिको सन्देशमा उल्लेख गरेका छन्-‘दलहरू यस पटक चुक्ने छैनन् र तोकिएको मितिमै संविधान निर्माण गर्न सक्षम हुनेछन् भन्‍ने सबैको आशा छ, मलाई विश्वास छ, यस पटक मुलुक र देशवासीलाई निरास पारिने छैन।’

उपराष्ट्रपति परमानन्द झाको सन्देशमा पनि राष्ट्रिय सहमति र सहकार्यबाट मात्रै लोकतान्त्रिक संविधान जारी हुन सक्ने भएकाले सो कार्यमा सबै दल र नेपालीलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ यस बाटामा अघि बढ्न दुर्गा भवानीले प्रेरणा प्रदान गरून् भन्‍ने कामना गरेका छन्।

नेपालीले सुख, शान्ति अनुभव गरून्ः प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासका लागि नेपाली जनताले झन्डै ६० वर्षसम्म गरेको आन्दोलन र सङ्घर्षका उपलब्धिलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न हरेक नेपालीले सहयोग गर्नुहुने विश्वास व्यक्त गरेका छन्।

आफ्नो शुभकामना सन्देशमा उनले एक्काइसौं शताब्दीमा नेपाली नागरिकलाई सुखसुविधा दिन धेरै काम गर्नुपर्ने खाँचो रहेको जनाउँदै स्वदेशमा नै लगानीका अवसर सिर्जना गरी रोजगारी सिर्जना गर्न तथा समस्त नेपाली नागरिकलाई योग्य, सक्षम, सुखी, समृद्ध बनाउने कार्यका लागि निर्धारित समयमा नै लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन्।

उनले राजनीतिक दलबीचका आपसी, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नेपाललाई सबल राष्ट्रमा रूपान्तरण गर्न सम्भव छ भन्दै संविधानसभामा प्रतिनिधित्व हुन नसकेका राजनीतिक दलको विचारलाई पनि आगामी संविधानमा समेट्न अधिक लचकतासाथ अधिकतम प्रयास भइरहेको बताएका छन्।

पाैडेल, ओली, नेपाल र दाहालको सन्देश

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपालीको महान् चाड विजया दशमी २०७१ को उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीमा सुख, शान्ति, सुस्वास्थ्य एवम् प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

उपसभापति पौडेलले बिहीबार दिएको शुभकामना सन्देशमा नेपाल बहुभाषा, बहुजाति, बहुसंस्कृति, चाडपर्व, परम्परा र रीतिरिवाजले धनी रहेको र यसकै माध्यमबाट राष्ट्रिय एकताको भावनालाई सबल हुने गरेको पृष्ठभूमिमा दसैंजस्ता चाडपर्वले आपसमा मित्रता, एकता र पारस्परिक मेलमिलापको भावनालाई सुदृढ बनाउन मद्दत पुग्ने गरेको बताए ।

शुभकामना सन्देशकै क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई दिगो शान्ति र समृद्धिमा लानका लागि आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु अनिवार्य भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री तथा एमालेका नेता माधवकुमार नेपालले अधिकार प्राप्तिको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न समयमा संविधान जारी गारी आर्थिक विकासको बाटो खोल्नुपर्नेमा जोड दिएका छन्।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले असत्य वा खराबीमाथि विजय प्राप्त गरी देशमा संविधान निर्माण र समृद्धि स्थापना गर्न दसैँबाट महत्वपूर्ण प्रेरणा मिल्नेछ भन्‍ने कामना गरेका छन्।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ ‘‘यस वर्षको यो अवसरलाई पहिचानसहितको सङ्घीयतामा आधारित संविधान निर्माणका निम्ति आपसी छलफलको अवसर बन्नेछ भन्ने विश्वास लिएको छु, आगामी संविधान अग्रगामी र परिवर्तनसहितको बन्न सहयोगी बन्नेछ भन्ने अपेक्षा गर्दछु ।’उनले नेपाल र नेपालीको भाग्य र भविष्य निर्धारण गर्ने संविधान निर्माण गर्नका लागि आआफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment