Comments Add Comment

तीन दलको आजको बैठक निष्कर्षबिहीन

१९ असोज, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । विवादित विषयमा सहमति गर्ने गरिएको प्रयास जारी रहेको नेताहरुले बताएका छन् ।

सहमति गर्ने भन्दै प्रमुख दलका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छ घन्टा बसेपनि कुनै निष्कर्ष ननिकाली छुटि्टएका छन् ।

बैठकपछि नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सहमति हुन नसकेका विषयवस्तुमा सहमति गर्न सकिन्छ कि भनेर छलफल गरिएको बताए । यद्यपी ठोस निर्णय भने नभएको गौतमले बताए ।

बैठकमा सहभागी एमालेकै अर्का उपाध्यक्ष भीमबहादुर रावलले आजको छलफल सहमति खोज्ने अभ्यासका रुपमा सीमित रहेको बताए । रावलले भने-‘संविधानसभाले प्रस्तावित नयाँ संविधान लेखनका लागि पारित गरेको समय सीमा असाध्यै साँगुरिँदै गएकाले अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल केन्द्रित भयो, प्रदेशको नाम, सीमा, सङ्ख्या, शासकीयस्वरुप लगायत विषयमा सहमति जुटाउन विकल्पसहितका अवधारणा अघि सारेर छलफल गरियो ।’

दलहरु अहिलेसम्म लगभग पुरानै अडानमा कायम रहेकाले सहमतिको मिलनविन्दुको भेट हुन नसकेको उनले बताए ।

एमाओवादका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको अन्तर्वस्तुका बारेमा अत्यन्तै गम्भीर रुपमा छलफल भए पनि कुनै पनि विषयमा सहमति भइनसकेको प्रतिक्रिया दिए । राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत स्वाधीनता, भूमिसुधारका विषयमा समेत छलफल भएको उनको भनाइ थियो ।

बैठक सोमबार बिहान ९ बजे बस्ने गरी स्थगन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment