Comments Add Comment

विजयकुमारको खुशी : केही असल, केही खराब

बेथर

पत्रकार विजयकुमारको ३२६ पृष्ठको मोटो किताब ‘खुशी’ बजारमा आएपछि यसबारे क्रिया-प्रतिक्रिया व्यक्त भइरहेका छन् । कोही खुशी पढेर आफू पनि खुशी भएका छन् भने कोही आलोचना एवं निन्दा गरिरहेका छन् ।

के छ खुशीमा ?

sata-ko-bookविजयकुमारको खुशी उपन्यास, कथा वा कुनै ‘फिक्सन’ नभएर उनको आफ्नै जीवनको अनुभूति हो । यसलाई आत्मकथा भन्दा फरक पर्दैन । खुशीमा २९ वटा शीर्षकमा विजयले आफ्नो जीवनका भोगाइ उतारेका छन् ।

‘प्रसव वेदना’ शीर्षकबाट सुरु भएर ‘जाँदाजाँदै’मा अन्त्य भएको पुस्तकभित्र ह्यातको पार्किङ लट, पहिलो पेग, एम्बिसन, प्रतिभा, अञ्जली र सम्पादकलाई गोली लगायतका शीर्षक छन् ।

लेखकले काँचको पर्दा (टेलिभिजन) मा जागिर शुरु गर्दाको क्षण पुस्तकमा छ । ‘युग फेरिएको त्यो रात’ शीर्षकमा पाण्डेले ०४६ सालमा पञ्चायत ढलेर बहुदल आएको प्रशंग उल्लेख गरेका छन् ।

जुलिया, माइकल र लियो, दर्शकले नदेखेको दर्द, पिउँदा पिउँदै जीन्दगी यो…., अन्तिम पेग, कोहो अल्कोहलिक, स्वान्त सुखाय, पैसा, राधेश्याम सर्राफ र प्रशिद्धि जस्ता शीर्षक मार्फत उनले आफ्ना भोगाइ एवं अनुभूति पस्केका छन् ।

विजयकुमारले सेक्सका बारेमा लेखेका छन् । आफ्ना आनीबानी, घमण्ड, स्वाभिमान र विनम्रता, आध्यात्मिक परिचय, सन्तान र खुशीका बारेमा लेखका छन् ।

विजयकुमारका नाममा दुई समस्या

पत्रकार विजयकुमारको खुशी बजारमा आउने बेलामै दुईवटा समस्या देखिएका थिए ।

सुरुमै पुस्तक लेखनमा अनुबन्धित हुनेबेलामा विजयकुमारले फाइन प्रिन्टबाट १० लाख रोयल्टी लिएको चर्चा बजारमा चल्यो । यति धेरै रोयल्टी लिइसकेपछि उनको किताब बेचेर प्रकाशकले कसरी नाफा कमाउलान् भन्ने प्रश्न पनि उठ्यो । कतिपयले नामका लागि त्यत्रो पैसा खर्च गरिए पनि किताबचाँहि गतिलो नआउने आशंका गरे ।

नाम लोकप्रिय हुँदा पनि मान्छेलाई समस्या पर्दोरहेछ । विजयकुमार नामले चल्ने हो, सेलिब्रेटी हो, त्यसैले उनको नाम बिक्री हुने हो, नामको भ्रममात्रै बिक्री हुने हो भन्नेखालको पँधेरे प्राक्कथन विजयकुमारका लागि शुरुकै चुनौती थियो । यो चुनौती प्रकाशकमाथि पनि परेकै थियो ।

दोस्रो चुनौती थियो, खुशीको प्रचार-प्रसार र विज्ञापनको । ठूला पत्रकारका सामग्रीहरु मिडियाले प्रचार गरिदिएकै भरमा बिक्छन् र चर्चामा आउँछन् भन्ने श्रुतिजस्तै बनिसकेको छ पाठक समाजमा ।

विश्लेषक एवं लेखक डम्बर खतिवडाले खुशी पढ्नुभन्दा पहिले आफूलाई पनि यस्तै लागेको र कितावलाई खासै महत्व नदिएको बताइसकेका छन् । तर, किताव पढेपछि उनले भ्रममुक्त भएको बताएका छन् ।

ठूला मिडियामा काम गर्ने चर्चित अनुहार भएकाले विजयकुमारको पुस्तकको जुन प्रचार-प्रसार र हल्ला भयो, त्यसले पनि पाठकमा साइड इफेक्ट पारेकै छ । लेखकका सामु देखापरेको यो दोस्रो समस्या एवं चुनौती थियो । बढ्ता विज्ञापनले खुशीलाई कस्मेटिक सामान बनाउन खोज्यो ।

तर, विजयकुमार र उनको खुशीलाई तटस्थ भावले विश्लेषण गर्ने हो भने माथि उल्लेख गरिएका दुई समस्याबाट मुक्त हुनैपर्छ । विजयकुमारको लोकपि्रयता र खुशीको बजार हल्लाबाट पर बसेर मात्रै यो कृतिको सही विश्लेषण गर्न सकिन्छ ।

वास्तविकता चाँहि के हो ?

Bijakumar-bookनामले मात्रै किताब चल्दैन । नामले मात्रै चल्ने भए रुकमाङगद कटवालको जीवनी अहिले बजारहल्लाबाट बाहिर पर्ने थिएन । अर्काबाट लेखाएको कटवालको कहानीजस्तै हरिबंश आचार्यको ‘चिना हराएको मान्छे’ पनि अहिले हराउने थिएन । विजयकुमारको पुस्तकको सन्दर्भमा यही कुरो सत्य हो ।

बैतडीमा जन्मेका पत्रकार विजयकुमारलाई धेरैले सुकिला-मुकिला वर्गको कित्तामा राखे पनि उनको लेखकीय क्षमता बेजोडको छ भन्नेमा कसैले प्रश्न उठाउन सक्दैन । खुशीमा उनले प्रयोग गरेको भाषाशैली र लेखकीय कला अब्बल दर्जाको छ ।

विजयकुमार कसैले नाम चलाइदिएको वा टीभीमा देखिएर मात्रै लेखक भएका होइनन् । उनी लेख्न सक्ने, अझ राम्ररी लेख्न सक्ने पत्रकार हुन् भन्ने कुराको बलियो पुष्ट्याइँ छ खशीमा ।

सबै पत्रकार र लेखकहरुले विजयकुमारबाट यस्तो लेखकीय क्षमता सिक्नुपर्छ । एकजना महत्वाकांक्षी मानिस कसरी इञ्जिनियरिङ क्षेत्रको सरकारी जागिर छाडेर पत्रकारितामा लाग्यो र यही पेशामा खुशी देखियो भन्ने पुस्तकमा पढ्न पाइन्छ ।

पत्रकारितामा पनि एकै ठाउँ जमेर धेरै समय नबस्ने, प्रकाशकसँग चाकडी र मोलाहिजा गरेर जागिर नखाने अनि स्वाभिमानी भएर बाँच्ने उनको जीवनशैली अन्य व्यवसायिक पत्रकारका लागि पनि प्रेरणा बन्न सक्छ । गैर पत्रकारका लागि पनि उदाहरण बन्न सक्छ ।

हामीकहाँ किशोर नेपालजस्ता बरिष्ठ पत्रकार छन्, जो बुढेसकालमा पनि अनवरत लेखिरहेका छन् । किशोर नेपाल र विजय कुमारहरु राम्ररी लेख्न सक्ने क्षमता राख्छन् । पत्रकार युवराज घिमिरे पनि यस्तै सक्रिय अग्रज पत्रकार एवं विश्लेषक हुन् । यो मामिलामा विजयकुमारलाई कसैले टीभीमा अनुहार देखाएको भरमा चुलिएको व्यक्तित्व मात्रै ठानेको छ भने उसले एकपटक खुशी पढ्नैपर्छ ।

काठमाडौं बाहिर ओभरसियरको जागिर खाइरहेका बेला हाकिमको स्वागत गर्न उभिँदा उडेको धूलोले उनलाई फेरि राजधानी छिरायो ।

पदम ठकुराठीको पत्रिकामा काम गर्दा उनीमाथि गोली लागेको क्षण र दरबारभित्रको द्वन्द्वबारे पाण्डेको कितावमा इतिहासको सूचना पनि पढ्न पाइन्छ ।

पुस्तकको धेरै प्रशंगमा विजयकुमारले आफूलाई ‘सुपेरियर’ देखाउन खोजेको समीक्षकहरुको टिप्पणी रहे पनि उनले ह्यात होटलमा रक्सीले मातेर रातभरि गाडीभित्र लडेको दयनीय अवस्था पनि लुकाएका छैनन् । झल्लु र जँड्याहा विजयकुमारलाई पनि उनले लुकाएका छैनन् । सबैले यसो गर्न सक्दैनन् । रुक्माङदले पनि यसो गर्न सकेका छैनन् ।

बलियो लेखन, कमजोर विचार

विजयकुमारको लेखकीय कला पक्षमा प्रश्न उठाउने ठाउँ छैन । तर, कतिपय सन्दर्भमा मृत्यु भइसकेका मान्छे आफ्नो बिहेमा उपस्थित भएको प्रशंग उल्लेख भएको भन्ने टिप्पणी पनि आएको छ । त्यस्तो त्रुटी भएको हो भने त्यसलाई सच्याउने काम पछिल्ला संस्करणमा अवश्यै होला ।

तर, विजयकुमारको खुशीभित्रको मुख्य कमजोरी भनेको विचार पक्ष  नै हो । यद्यपि, विचार पक्षको कुरा गर्दा आफूसँग असहमत विचारलाई ‘कमजोरी’ ठानेर आलोचना गर्ने समालोचकहरु नेपाली साहित्यमा नभएका होइनन् ।

त्यसैले विचार पक्षमा विजयकुमारको आलोचना गरिरहँदा यो उनको कमजोरी नभएर उनको मौलिकता पनि हुन सक्छ । तथापि समाजमा सच्चाइ, न्याय र जनताको पक्षमा बोल्छु र व्यवहार गर्छु भन्ने मान्छेको जीवन र व्यवहारमा संगति छ कि छैन भनेर मानिसहरुले  अवश्यै जाँच्छन् ।

प्रचण्डका छोराले रक्सी खाएर ढल्दा पत्रकारले आलोचना गर्छन् । पारस शाह मातेर हिँड्दा सबैले निन्दा गर्छन् । कुनै नेता घमण्डी भयो भने सबैले आलोचना गर्छन् । अनि पत्रकारले चाँहि दिनहुँ घ्याम्पा फुटाए पनि, जति नै हल्लिएर हिँडे पनि, जति नै फजुल खर्च गरे पनि उसलाई महान नै मानिदिनुपर्ने ? यो प्रश्न उठ्नु नाजायज छैन ।

त्यस्तो फजुल खर्च गर्ने पत्रकारको आर्थिक स्रोत के हो ? यस्ता विविध प्रश्न खुशी पढिसकेपछि उब्जन्छन् । यस्तो ‘ट्वाँके’ जीवनशैलीलाई व्यक्तिगत स्वतन्त्रता वा स्वच्छन्दता मात्रै मानेर समाजले पचाउने कि नपचाउने ? यस्ता प्रश्न पनि उठ्न सक्छन् ।

तर, विजयकुमारले आफू घमण्डी र मुडी भएको स्वीकार गरेका छन् । यो उनको महानता हो । उनको विचारमा सामान्य मानिसहरु आफ्नो घमण्डलाई आत्मसम्मानको नामाकरण गर्छन् र अरुलाई घमण्डी भन्छन् ।

विचारलाई सही र गलत भन्ने कुनै कसी छ भने विजयकुमारमा केही वैचारिक कमजोरी छन् । उनले पुस्तकमा ‘ठूला मान्छे’ सँगको उठबस र संगतलाई बढी महत्व दिएका छन्, यसले उनलाई ठूलो बनाउनुको साटो उल्टै कद घटाउन खोज्छ । तल्लो वर्गका सामान्य मान्छेलाई भन्दा स्वनामधारीहरुलाई उनले बढी महत्व दिएको जस्तो देखिन्छ ।

मैले ठूलो मान्छेलाई चिनेको छु भनेर फुर्ती लगाउनु सामन्ती मनोविज्ञान हो ।

विजयकुमार आफैं ठूला मान्छे हुन्, उनले ठूला मान्छेसँगको बातचितको प्रशंग ल्याउनै पर्दैन । ज्यामितीको स्वयंसिद्ध  तथ्यबाटै उनले आफूलाई अब्बल प्रमाणित गर्न सक्थे ।

यद्यपि टीभीमा कार्यक्रम चलाउँदा उनले समाजका सामान्य भन्दा सामान्य पात्रलाई पनि रोज्ने गरेका थिए, यो चाँहि बैतडीका पाण्डेले आफ्नो धरातल छाडिनसकेको झिनो प्रमाण हो ।

विजयकुमारले जस्तोखालको जीवन बाँचिरहेका छन्, अरुले पनि त्यस्तै गरे भने के होला ? आफूले काम गर्ने मिडियामा उनले सामान्य पत्रकारलाई मान्छे नै नगनेको गुनासो सुनिन्थ्यो, अरुले पनि त्यसै गरे के होला ? उनले रक्सीमा गरेको खर्च गाउँका गरीब एवं जेहेन्दार वालवालिकाको शिक्षामा लगाउन सके कस्तो होला ?

यस्ता प्रश्नहरुले उनको विचार पक्षमा सामन्तवादी दम्भ एवं पुँजीवादी विकृत जीवनशैलीको ह्वास्सै गन्ध आउँछ । र, यही कमजोरीका कारण उनको पुस्तक लेखनमा बलियो, विचारमा कमजोर सावित भएको छ ।

कमसेकम कितावले दिने सन्देश जनपक्षीय हुन सकेको छैन ।

तर, तपाई विजयकुमारसँग असहमत हुन सक्नुहुन्छ । उनको जीवनशैली अथवा जीउने तरिका तपाईलाई अपाच्य लाग्न सक्छ ।

रिम्पोचेले विजयकुमारलाई ठीकै सोधेका हुन्- ‘तिमी को हौ ? तिमी विजयकुमार हौ वा विजयकुमार तिम्रो नाम ?’

विजयकुमार यस अर्थमा महान देखिन्छन् कि उनले आफूलाई सम्पूर्णमा ठीक छु भनेका छैनन् ।

जाँदाजाँदै विजयकुमार लेख्छन्- ‘केही असल र केही खराब मिलेर बनेको रहेंछु म ।…. मेरो मात्रै किन, धेरैको जीवन यसरी नै बित्छ होला ।….. हामी मानिस, लयवद्ध तरिकाले मात्रै विकसित नहुने रहेछौं ।’

ठीकै भनेका हुन् विजयकुमारले । खुशी पढिसकेपछि थाहा हुन्छ, उनी केही असल र केही खराब मिलेर बनेका रहेछन् । तर, धेरै असल र थोरै खराब मिलेर बनेका रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment