३ कात्तिक, काठमाडौं । १ करोड पुरस्कार राशीको राष्ट्रिय लिग फुटबल कात्तिक २२ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले लिग सञ्चालनको निर्णय गरेको छ ।
लिगमा ए डिभिजन लिगमा ६ सहित ११ टिम सहभागी हुनछन् । जसमा ए डिभिजन लिग च्याम्पियन मनाङसँगै थ्रीस्टार, शंकटा आर्मी, पुलिस र सशस्त्र प्रहरीको एपीएफ छन् भने पाँच जिल्ला टोलीले भाग लिनेछ ।
होम एण्ड अवेका आधारमा खेलाइने लिगको विजेताले १ करोड नगद पाउनेछ । कुल पुरस्कार २ करोड २५ लाख रहनेछ भने प्रतेक टीमलाई १५ लाख तयारी खर्च दिइनेछ । लिगको अनुमानित खर्च ५ करोड ७५ लाख रहेको एन्फाले जनाएको छ ।
खेलाडीको तलब बढ्यो
अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीका खेलाडीहरुको तलब बढाएको छ । पुरुष टिमको मासिक ५ हजार बढाएर १५ हजार पुर्याइएको छ ।
महिला टिमको ५ हजारमा दुई हजार थप भएको छ । रेफ्रीले पाउँदै आएको ४ हजारमा २ हजार थपेर ६ हजार पुर्याउने निर्णय भएको छ ।