Comments Add Comment

प्रेमी-प्रेमिकालाई खेलाउन थालेपछि लोकदोहोरी भिडियो बदनाम भए

Ghanashyam-Rijal

घनश्याम रिजाल, महासचिव, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, गण्डकी अञ्चल समन्वय समिति

एल्बम बिक्री हुन्न भन्ने थाहा हुँदा हुँदै पनि बजारमा एल्बम आइरहनुको कारण के हो ?

पुराना कलाकारका लागि एल्बम बजारमा ल्याउनु बाध्यता हो । दर्शक स्रोताले नबिर्सिउन भनेर पनि एल्बम ल्याउनुपर्छ । अहिले कलाकारको आम्दानी भनेको स्टेज प्रोग्राम भएकाले स्टेजमा काम पाइयोस भन्नका लागि पनि एल्बम बजारमा ल्याउनैपर्ने वाध्यता छ । कतिपयले पैसाको बलमा कलाकार बन्नका लागि पनि गीत निकाल्ने गरेको पाइन्छ ।

यो मन्दीको अबस्थामा पनि धनकै बलमा कलाकार बन्न सकिन्छ र ?

पछिल्लाे अवस्था हेर्दा त्यस्तै देखिन्छ । यो प्रबृत्तिले कसैलाई पनि राम्रो गर्दैन् । पछिल्लो समय बजारमा आएका कतिपय गीतहरु परिवारसँग बसेर सुन्न हेर्न नमिल्ने खालका छन् । यस्ता गीतहरुको कारण समग्र गीत संगीतलाई नराम्रो नजरले हेर्न थालिएको छ । यस्ता गीतहरुको कारण समग्र गीत संगीतलाई नराम्रो नजरले हेर्न थालिएको छ । यसो भन्दैमा सबै गीतलाइ नराम्रो भन्न चाहीँ मिल्दैन ।

पछिल्लो समय बजारमा आएका लोक संगीतले कुन बाटो पछ्याउन थालेको पाउनुहुन्छ ?

कहिलेकाहीँ जतिसुकै टाठो बाठो मान्छेले पनि हिँड्दै गर्दा बाटो बिराउँछ । अहिलेको लोक संगीतले पनि बाटो बिराउन थालेको हो की भन्ने लागेको छ । यहि बाटोमा लोक संगीत अगाडी बढ्यो भने नतिजा राम्रो आउँदैन ।

मैले स्पष्ट रुपमा भन्नुपर्दा यही बाटोमा हिाहिरहेमा न त लोक संगीत रहन्छ, न त हामी कलाकार नै रहन्छौं । विकृतीतर्फ उन्मुख हुन लागेको लोक संगीतलाई जगेर्ना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

लोक संगीतमा देखिएको विकृती रोक्ने कसले हो ? यसमा कलाकारको  दायित्व हुन्छ कि हुँदैन ?

नेपालमा विकृति रोक्ने निकाय यही भन्ने छैन् । यसका लागि स्वयम कलाकार नै सचेत भएर लाग्नुपर्छ । लोक संगीतमा अब सेन्सर बोर्डको आवश्यकता देखिएको छ ।

सेन्सर बोर्ड गठन गरिसकेपछि त्यसले लोक संगीतको धज्जी उडाउने खालका गीतलाई बजारमा ल्याउन दिनुहुँदैन् । यसतर्फ राज्यले पहल गरोस भन्ने मेरो आग्रह छ । कलाकारले पनि सेन्सर बोर्ड गठनका लागि पहल गर्नु जरुरी देखिन्छ ।

पुराना गायक गायिका लोक संगीतमा विकृती ल्याउनेहरु नयाँ कलाकार हुन भन्छन् । तर, उनीहरुले बजारमा ल्याउने गीत पनि त्यति राम्रो त छैन नि ?

नयाँ कलाकारलाई दोष लगाएर मात्र हुँदैन । हिजोका दिनमा सिनियरहरुको गीत  बजारमा आउथ्यो । त्यसको आलोचना गर्ने कोही थिएन । पछिल्लो समय उहाँहरुले गीत निकाल्न छाड्नुभयो र नयाँ कलाकारको आलोचना मात्र गर्न थाल्नुभयो ।

नयाँ कलाकारहरु वरिष्ठ कलाकारले सिकाएको बाटोमै हिँडेका हन् । नयाँ कलाकारहरुले मात्र लोक संगीतमा विकृति ल्याए भनेर उहाँहरु पन्छिन पाउनुहुन्न । यसलाई सकारात्मक परिवर्तनको बाटोमा ल्याउन सबै लाग्नुपर्ने जरुरी छ ।

तर, एउटा कुरा के सत्य हो भने पैसाको बलमा कलाकार बन्न खोज्ने नयाँ पुस्ताका कलाकारहरु आफुलाई चर्चामा ल्याउनका लागि जस्तासुकै गीतहरु बजारमा पठाउन पनि पछि परेनन् । जसले गर्दा गीत संगीतप्रति जनमानसको हेर्ने दृष्टिकोण फेरिन थाल्यो ।

लोक संगीतको जगेर्ना गर्ने भनेर दर्जन बढि संघ संगठनहरु खोलिएका छन्, तिनीहरुले के गरिरहेका छन् ?

हचुवाको भरमा संगठन खोल्नु र आर्थिक रुपमा सबल नहुनु यी संस्थाहरुको मूख्य समस्या हो । संगठनले पनि राम्रो मान्छे भन्दा हाम्रो मान्छे हेर्ने परम्परा देखियो । संस्थाको दायित्व के हो र किन जन्माइयो भन्ने कुरा नै थाहा नभएका व्यक्तिहरु संस्थामा रहन पुगे ।

गीत संगीतबाट भएको आम्दानीले जीविका चलाउन पनि पुग्दैन भन्छन, तर वाषिर्क करोडौं रुपैयाँ यही क्षेत्रमा खर्च हुने गरेको छ, आखिर यत्रो पैसा कहाँबाट आउँछ ?

लोक दोहोरी क्षेत्रमा चलेका कलाकारलाई अझै पनि आर्थिक रुपमा समस्या छैन् । उनीहरुले देश विदेशमा आयोजना हुने स्टेज कार्यक्रमबाट नै मनग्गे आम्दानी गरिरहेका छन् । कतिपय चलेका कलाकार त वर्षमा झन्डै आधाजसो समय विदेशमा नै व्यस्त रहन्छन् । त्यसो हुँदा उनीहरुलाई एल्बम निकाल्न, खान लाउनको समस्या छैन् ।

पछिल्लो क्रममा पुरुष कलाकारको भन्दा महिला कलाकारहरुको नामबाट एल्बम बढी निकालेको पाइन्छ । त्यसको एउटामा मात्रै रहस्य के हो भने लोक दोहोरी क्षेत्रभित्र खुदे किराहरुको प्रवेश भएको छ । जसले राम्रा-राम्रा मौरीका घारहरु फोरेर मह खाँदै हिँड्छन ।

कतिपय गायिकाहरुलाई त फ्लाट खोजेर राखिदिएका समेत देखिन्छ । खाइपाइ आएको जागीर समेत छाडेर तीनै पैसावालाहरुको पछाडि लागेर हिँड्ने कलाकारले लोक दोहोरी क्षेत्रमात्र नभएर समग्र संगीत क्षेत्रको बदनाम गरेका छन् ।

यीनै कुराहरुले गर्दा कलाकारहरु यस्ता हुन्छन्, उस्ता हुन्छन, कलाकार नैतिक च्यूत हुन्छन भनेर जनमानसमा राम्रा कलाकारलाई हेर्ने नजर पनि नराम्रो बन्दै गएको छ । कतिपय महिला कलाकारहरु आफ्नो व्याई फ्रेन्डलाई जालमा पारेर एल्बममा लगानी गर्न बाध्य बनाउने गरेको पनि सुन्नमा आउँछ ।

गायकहरुलाई लगानी गर्नेहरु पनि त होलान नी ? गीतसंगीतलाई बदनाम गराउनेहरुमा गायकहरु पर्दैनन र ?

पक्कै पनि छन् । लोक दोहोरी मन पराउने पैसावाल महिलाहरुले पुरुष कलाकारलाई सहयोग गर्छन । कतिपय महिलाहरु त भिडियोमा खेल्नका लागि पनि गीत संगीतमा लगानी गर्ने गरेको पाइन्छ । पछिल्ला म्यूजिक भिडियो हेर्ने हो भने त्यसको छनक पाइन्छ ।

पछिल्लो समय म्यूजिक भिडियोहरु कमजोर बन्दै गएका हुन् ?

गायक गायिकासँग नजिक भएर उनीहरुलाई आर्थिक सहयोग गरेजस्तो गरेर म्यूजिक भिडियोमा देखिन चाहानेहरु बढ्न थालेपछि म्यूजिक भिडियो कमजोर बन्न थालेका हुन् । पछिल्लो समय बजारमा आएका भिडियो हेर्ने हो भने को मान्छे पैसा खर्च गरेर खेल्यो भन्ने छर्लङ्ग देखाउँछ ।

त्यसो त गायक गायीकाले आफ्नो व्याईफ्रेन्ड र गर्लफ्रेन्डलाई पनि मुर्गा बनाउने गरेका छन् । आफ्नो एल्बममा गर्लफ्रेन्ड व्याईफ्रेन्डलाई लगानी गराउने र भिडियो खेलाउने प्रबृत्ति बढेको छ ।

जसले गर्दा म्यूजिक भिडियोबाट प्रतिभावान कलाकार हराउँदै गएका छन र भिडियोहरु कमजोर बन्दै गएका छन् । अहिले व्याईफ्रेन्ड गर्लफ्रेन्ड भन्दा पनि पैसा प्यारो बन्न थालेको छ, उनीहरु पैसाका लागि जे पनि गर्न तयार छन् ।

पछिल्लो समय लोक दोहोरीको भिडियोमा लगाइने पहिरनको अबस्था पनि दयालाग्दो छ, भिडियो हेर्दा लोकगीत हुन कि पपगीतका छुट्टाउन कठिन हुन्छ नी ?

पछिल्लो समय मोडर्न टाइपका गीतहरु सुन्ने युवा युवतीहरुले पनि लोक दोहोरी सुनुन् हेरुन् भनेर निर्देशकहरुले केही उत्ताउलो प्रकारका दृश्यहरु पनि छायाँकन गर्न थालेका छन् ।

दोहोरी गीतमा नाच्ने कलाकारलाई पनि डान्स रेष्टुरेन्टमा नाच्ने नर्तकीलाई जस्तै डे्रसअप गर्न थालिएको छ । यसो गर्न हुँदैनथ्यो । तत्कालका लागि केही व्यक्तिहरुलाई फाइदा भएपनि दीर्घकालिन रुपमा यसले गीत संगीतलाई राम्रो गर्दैन ।

लोक संगीतको जगेर्ना गर्न सरकारी प्रयास कस्तो छ ?

अहिलेसम्म त कुनै प्रयास नै भएको छैन । विश्वले लोक संगीतलाई चिन्दासम्म नेपाल सरकारले अहिलेसम्म आफैले लोक संगीत चिन्न सकेको छैन । तर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सरकारसँग त्यसको बारेमा पहल गरिरहेको छ ।

संस्था आफै पनि आफु मातहतका कलाकारहरुलाई गाह्रो पर्दाखेरी घाउमा मलम लगाउन सकिन्छ कि भनेर एउटा अक्षय कोषको स्थापना गरेको छ । त्यहि कोषबाट कलाकारहरुलाई समस्या पर्दा सहयोग गर्छ ।

पाइरेसीको समस्या पनि सुनिन्छ । साँच्चिकै पाइरेसीका कारण कलाकार मर्कामा परेका छन त ?

प्रविधिलाई कसैले पनि रोक्न सक्दैन । पाइरेसीका विरुद्धमा खुलेका संस्थाहरु आफै कलाकारलाई शोषण गरिरहेका छन् । संस्थालाई केवल मागी खाने भाँडो बनाएका छन् । पाइरेसी हुँदा वा नहुँदा सम्बन्धीत कलाकारलाई कुनै घाटा वा नाफाको अवस्था छैन ।

तपाई लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलको महासचिव हुनुहुन्छ । यो क्षेत्रलाई लोक संगीतको खानीका रुपमा चिनिन्छ ।

अहिले यहाँ लोक संगीतको अवस्था कस्तो छ ?

गण्डकी क्षेत्रमात्र नभएर समग्र पश्चिमाञ्चल क्षेत्र नै लोक दोहोरीको खानी मानिन्छ । जति पनि ख्याति प्राप्त लोक दोहोरी कलाकार छन्, अधिकांश यहि क्षेत्रका हुन् । लोक संगीतलाई उचाई पुर्‍याउन यो क्षेत्रको ठूलो योगदान रहेको छ । त्यसकारण लोक संगीतको जगेर्ना गर्न पनि यहि क्षेत्रका कलाकार कम्मर कसेर लाग्नुपर्छ भन्ने मेरो धारणा हो ।

अहिलेसम्म तपाई कतिवटा एल्बम निकाल्नुभयो ?

अहिलेसम्म मेरो नामबाट बजारमा आएका एल्बम आधा दर्जन भन्दा बढी छन भने मैले लय शब्द गरेका गीतहरु दुई दर्जन भन्दा बढी रहेका छन् । मैले हरेक वर्ष तीजमा एल्बम समेत निकाल्दै आएको छु ।

प्रस्तुती : नविन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment