Comments Add Comment

एडीबी महानिर्देशकले भने- ठूला ‘गेम चेन्जर’ परियोजना छनौट गर्नुस्, लगानी गर्न तयार छौं

Ramsaran-and-ADB-MD

१७ कात्तिक, काठमाडौं । एसियाली विकास बैंकका महानिर्देशक हुँ किमले ठूला ‘गेम चेन्जर’ परियोजना तयार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सोमबार अर्थमन्त्री डा. रामशरण महतसँग भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन् ।

‘नेपाललाई ठूलो सहयोग हुने ठूला गेम चेन्जर आयोजनामा लगानी गर्न तयारी छौं’ महानिर्देशक किमले भने- ‘बैंकका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षले पनि त्यस्ता ठूला आयोजनाको सम्भावना हेर्न हामीलाई निर्देशन दिनुभएको छ ।’

गत बर्षको बैंकको सहायता प्रतिवद्धता अनुसार निकासा कम भएको उल्लेख गर्दै कार्यान्वयनमा जोड दिएर सहयोग बढी लिन पनि किमले आग्रह गरेका छन् । उनको भनाई थियो, ५० अर्ब रुपैयाँ सम्मको सहयोगको सम्भावना रहेको छ ।

बिगतमा सानातिना छरिएर रहेका परियोजनामा बढी लगानी भएको र कसरतहरु पनि बढी भएको भन्दै उनले भने, सीमित तर अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्ने आयोजनामा लाग्नुपर्ने महसूस गरिएको छ ।

यसअघि अर्थमन्त्री महतले बैंकका उपाध्यक्ष नेपालमा आएको बखत र आस्तानामा भएको बैंकको बाषिर्क बैठकका क्रममा सानातिना आयोजनामा भन्दा ठूलो प्रभाव दिने परियोजनामा लगानी गर्न र परिवर्तित समय अनुसार थप सहयोग गर्न आग्रह गरेका थिए ।

महानिर्देशक किमले राजनीतिक र आर्थिक वातावरणमा भएको सुधारको प्रशंसा गरे । उनले कहिले अख्तियार, कहिले प्रशासन र कहिले स्थानीय अवरोधका कारण परियोजनाहरु सञ्चालन गर्न अप्ठेरो भैरहेकोले त्यसमा गम्भीररुपले ध्यान दिन अर्थमन्त्री डा महतसमक्ष आग्रह गरेका थिए ।

अर्थमन्त्री डा महतले आफू अर्थतन्त्रमा ठूलो प्रभाव दिने ठूलो परियोजना सञ्चालनको पक्षमा रहेको र बैंकलाई बिगतमा पनि यस्तो आग्रह गरेको बताए । जनता ब्यग्रताका साथ विकास निर्माणका कामहरु पर्खिएर बसिरहेको र यो सरकारलाई छिटो काम गर्ने दबाब रहेको भन्दै उनले ठूला पूर्वाधारका परियोजनाहरुमा सहयोग गर्न र सहयोग रकम बढाउन आग्रह गरेका थिए ।

बैंक अहिले सीमित तर ठूला आयोजनाको पक्षमा उभिएकोमा महतले धन्यवाद दिए । आगामी माघभित्रै संविधान जारी हुने र त्यसपछि आर्थिक विकासको वातावरण अझ राम्रो हुने उनको भनाई थियो ।

सरकार आर्थिक सुधारका काममा जोडतोडका साथ लागेको जानकारी दिँदै उनले काम गर्ने वातावरण निर्माण भैरहेकोले नेपालले बैंकबाट पाउँदै आएको सहयोग बढी उपभोग गर्न सक्ने उल्लेख गरे ।

बैंकको हालसम्मको लगानी करिब २ अर्ब ९७ करोड डलर रहेको छ । ठूला परियोजनाहरुमा लगानी गर्न शुरु गरिसकेको बैंकले तनहुँ जलविद्युत आयोजनामा करिब १५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता अनुरुप काम अगाडि बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment