+
+
Shares

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा मन्त्री निधिले स्वागत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते २०:२०
फाइल फोटो
फाइल फोटो

१८, कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले स्वागत गर्ने भएका छन् ।

अर्को महिना हुने सार्क सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी जनकपुर हुँदै आउने कार्यक्रम छ ।

मोदी विमानबाट जनकपुर आउने बताइएको छ । उनी सडक मार्गबाट आउने चर्चा पनि छ । तर, भिट्टामोड जनकपुर सडकको दुरावस्था र सुरक्षा कारण सडक मार्गबाट आउने सम्भावना न्यून रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सार्कका राष्ट्र/सरकार प्रमुखलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वयले स्वागत गर्ने छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले भने सार्क राष्ट्रका प्रमुखहरुलाई सम्मेलन स्थलमा नै स्वागत गर्ने परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले बताए ।

आवासको प्रबन्ध गरिएको सोल्टी होटलमा शिक्षा मन्त्री चित्रलेखा यादव र ऊर्जामन्त्री राधा ज्ञवालीले स्वागत सत्कार गर्ने छन् ।

सम्मेलनको तयारी पूरा

आगामी मंसिर १० र ११ गते राजधानीमा हुने सार्कको १८औँ शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको मन्त्रालयले जनाएको छ । शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम व्यवस्थापकीय र घोषणापत्र तयारी, सरकार प्रमुखले सम्मेलनमा गर्ने सम्बोधन तथा प्रक्रियागत विषयलाई दुई पाटाबाट अघि बढाइएको छ ।

सम्मेलन तयारीका लागि गठित अर्थ व्यवस्थापन, सुरक्षा परिवहन तथा यातायात, सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार, भौतिक पूर्वाधार, सरसफाई तथा नगर सजावट समितिले कात्तिक मसान्तभित्र सबै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिखर सम्मेलन आयोजना हुने स्थान राष्ट्रिय सभागृहको सम्पूर्ण भौतिक संरचना यही कात्तिक २५ गते तयार हुनेछ ।

सिंहदरबारस्थित ग्यालरी बैठकको मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ भने शिखर सम्मेलनमा प्रयोग हुने सवारी मार्गको मर्मतसम्भार यसै महिना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको सरकारले बताएको छ ।

सम्मेलन तयारी तथा समन्वय समितिका संयोजक एवम् परराष्ट्रमन्त्री पाण्डेेले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी प्रायः पूरा भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?