Comments Add Comment

ज्ञानेन्द्रसँग झुक्नु जिन्दगीकै भूल भयो: माधव नेपाल

madhav nepal with onlinekhabar (3)
२३ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका शीर्ष नेता माधवकुमार नेपालको बसोबास काठमाडौंको कोटेश्वरमा छ । भारतको सीमासँग जोडिएको रौतहट जिल्लामा जन्मिएका नेपाल बैंकको जागिर छाडेर राजनीतिमा लागेका हुन् ।

अनलाइनखबरले बिहानदेखि साँझसम्म पछ्याउँदा एमाले नेता नेपालको जिन्दगीका केही रोचक रहस्यहरु फेला पारेको छ । यसक्रममा नेता नेपालले ज्ञानेन्द्रलाई दाम राख्नु र प्रधानमन्त्री माग्नुलाई आफ्नो जीन्दगीकै सबैभन्दा ठूलो भूल बताएका छन् ।

एमालेमा सरल जीवनशैलीका नेताका रुपमा परिचित नेपालको दिनचर्या, जीवनशैली, रुची र केही ‘सेक्रेट’ कुराहरु यस्ता रहेछन्ः
 

घरमा योग गर्दै माधव नेपाल ।
घरमा योग गर्दै माधव नेपाल ।

माओबादी द्वन्द्वले मनिङवाक रोकियो

माधव नेपाल किशोर अवस्थादेखि नै मर्निङवाक गर्थे । त्योबेला उनी मर्निङ वाक गर्दै भारतको सीमानासम्म पुग्थे । माओबादी द्वन्द्व सुरु भएपछि भने सुरक्षाका कारण उनले मनिङवाक गर्न छाडे ।

तर, अहिले योगा गर्छन् । उनी भूमिगतकालबाटै योगा सुरु गरेको बताउँछन् । ‘ठ्याक्कै याद नभए पनि मैले ०३२ सालबाट योगा सुरु गरेजस्तो लाग्छ, जलेश्वर जेलमा हुँदा २ वर्षसम्म लगातार योगा गर्थें’, नेपाल भन्छन्- ‘मलाई योगाको सबै आसन गर्न आउँछ, पछिल्लो समय बरु नियमित योगा गर्न पाएको छैन ।’

दिनभरि सक्रिय हुने र धेरैवटा काम भ्याउने नेता नेपाललाई मर्निङवाक र योगाले अहिलेसम्म स्वस्थ्य राखेको छ ।

5-Madhav K Nepal copy
पत्रिका पढ्न भ्याउँदिन

आफ्नो दैनिकीबारे बताउँदै नेपाल भन्छन्- ‘बिहान सधैं ५ बजे उठ्छु । मलाई टाइम म्यानेज गर्न भ्याई नभ्याई हुन्छ । म बिहानमा खासै पत्रिका पत्रिका पढ्न भ्याउँदिन । बिहान उठ्न नभ्याउँदै भेट्ने मान्छेको घुइँचो हुन्छ । दारी काट्दै र नुहाउँदै रेडियो सुन्छु ।’

उनी भन्छन्- दिउँसो तत्काल सूचना थाहा पाउन अनलाइनहरु हेर्छु । टाइम म्यानेज गर्न मोबाइलमा नोटिस पनि राख्छु । निजी सचिवहरु पनि छन् ।

नेपाल फुर्सद हुनासाथ म पुस्तक पढ्छन् । गाडी, हवाइजहाजमा पनि  पुस्तक पढेर यात्रा गर्ने गरेको उनी बताउँछन् । ‘सामाजिक राजनीतिक, आर्थिक विकास, कथा र उपन्यास पनि म पढ्छु, नेपालले केही दिनअघि पढेको किताब सम्झँदै भने- ‘मैले रुक्माङगत कट्वालको आत्मकथा पढें । त्यसमा मसँग सम्बन्धित केही कुराहरु तथ्य जानकारी नपाई लेखेजस्तो लाग्यो ।’

16-Madhav K Nepal
नेपालका पुराना तस्वीर ।

 वाल्यकालमै लगनशील

बाल्यकालमा माधव नेपाल निकै लगनशील र मेहनती मान्छे हुन् । पढाइमा ट्यालेन्ट थिए उनी । उनले एकैपटक दुई क्लाससम्म टपेका थिए । उनले १४ वर्षको उमेरमा एसएलसी पास गरेका हुन् ।

माधवको बाल्यकाल गौरमै बित्यो । एसएलसी दिएपछि बुबा स्कुल नजाँदा उनले आफैं गएर संस्कृत र नेपाली पढाइदिने गरेका थिए ।

एसएलसी पास गरेपछि उनी इण्डियाको सीतामणिमा साइन्स पढ्न गए । तर, बच्चादेखि बिरामी भैरहने मान्छे, त्योबेलामा पनि बिरामी परेर पढ्न नसकी वीचमै छाडे । त्यसपछि पट्ना पुगेर उपचार गरे । तर, उनको पढाइ भताभुंग भयो । त्यसपछि घर फर्केंर भूमिसुधार प्रशासनमा जागिर खान थाले ।

किशारोवस्थाका ती दिन सम्झँदै नेता नेपाल भन्छन्- ‘त्योबेलाको मलाई याद छ, जागिरका क्रममा १० घण्टाको साइकल यात्रा पनि गरेको थिएँ । त्योभन्दा पहिले एसएलसी दिएपछि पनि मैले केही समय राष्ट्र बैंकमा जागिर गरेको थिएँ ।’
‘भूमिसुधारको जागिरसँगै आइकममा भर्ना भएका नेपाल कलेज पढ्दादेखि नै प्रगतिशील विचारधाराप्रति आकषिर्त थिए ।

 एल्वमबाट अाफ्ना पुराना तस्वीर दैखाउँदै नेपाल ।
एल्वमबाट अाफ्ना पुराना तस्वीर दैखाउँदै नेपाल ।

राजनीतिमा प्रवेश

माधव नेपाल ०२६ सालमा वीरगञ्ज पढ्न गए । त्यहाँ पुष्पलालको कम्युनिष्ट पार्टीको संगठन थियो । उनले त्यसको सदस्यता लिए ।  त्योबेला राजनीति खुला थिएन, गोप्यरुपमा गर्नुपथ्र्यो । त्यतिबेला  नेपालले सुस्ता र राधिकापुरका नारा लगाए । ‘मेरो अक्षर राम्रो थियो, त्यसैले मैले नोट तयार गरेर साथीहरुलाई बाँड्थेँ र राजनीतिमा आकर्षण गर्थेँ,’ उनी भन्छन् ‘वीरगञ्जबाटै मैले आइकमको पढाइ सकेँ । आइकम सकेपछि म ०२८ सालमा काठमाडौं आएँ ।’

नेपाल बैंकको जागिर

बीकममा भर्ना भएपछि  माधव नेपालले नेपाल बैंकमा जागिर खान सुरु गरे । जागिर त भयो, तर पोष्टिङचाहिँ बिराटनगर भयो । अनि पढाइ छाडर जागिर खान बिराटनगर गए ।

बिराटनगरको जागिरे बसाइ र राजनीतिक यात्रा सम्झँदै उनी भन्छन्- ‘त्यहाँ पनि मैले मजदुरको बीचमा राजनीति थालेँ । राजनीति गर्दागर्दै भूमिगत भएपछि बैंकको जागिर छाडें । जागिर छोड्दा सञ्चयकोषबाट आएको पैसा पनि पार्टीलाई बुझाएँ ।’
12-Madhav K Nepal

दाल भात तरकारी नै प्यारो

माधव नेपाललाई साधारण खाना दालभात, तरकारी नै मनपर्छ । बिहानमा उनी भात खान्छन् । प्रायः बिहान खाजा खाँदैनन् । चिया चाँही पिउँछन् । तर, बेलुका एउटा रोटी र दूधमात्रै खान्छन् ।

नेता नेपाल प्रायः घरबाहिर खाना खाँदैनन् । घरमा खान आउन नभ्याए हटकेसमै बोकेर हिँड्छन् ।’ उनलाई मकैको रोटी मीठो लाग्छ । साग मन पर्दैनथ्यो, अहिले खान थालेका छन् ।

कामकाजी जीवनशैली

‘म स्वाभिमानी र कामकाजी मान्छे हुँ । अलि भावुक पनि छु । सायद म राजनीतिमा नलागेको भए चार्टर एकाउण्टेन हुन्थेँ होला’ नेपाल भन्छन्- ‘कम्युनिष्ट ढोंगी हुनुहुँदैन । जनताको जीवनशैलीसँग मिल्ने हुनुपर्छ । तर, परिवर्तनलाई भने आत्मसाथ गर्न सक्नुपर्छ ।’

सम्पत्तिका विषयमा पनि नेपालको भिन्न मत छ ।  ‘भ्रष्टाचार गर्नु भएन, अरुलाई ठग्नु भएन तर आफ्नो कमाइबाट घरजग्गा, गाडी जोड्छ भने त्यसले के अपराध गरेको छ ?’ कमर्स पढेका नेता नेपाल भन्छन्,-‘आखिर १० वर्ष भाडा तिर्ने पैसाले घर नै आउँछ भने उसले घर किनेर बस्नु किन गलत ? कम्युनिष्ट जोगी त होइन नि । आखिर जोगीले त मठ मन्दिर कब्जै गरेर बसेको हुन्छ ।’

त्यसो त कोटेश्वरमा घर बनाउनुअघि दसौं ठाउँ डेरा सरेको माधव नेपालसँग  अनुभव छ । उनी आफ्नो घरको आर्थिक स्रोतबारे यसरी स्पष्ट पार्छन्- ‘यदि मेरा बारेमा सोध्नुहुन्छ भने मेरी श्रीमती र बुबाको कमाइले घर, गाडी जोडेको हुँ ।  म फजुल खर्चको विषयमा अलि कडा छु ।’

दुईवटा ‘सेक्रेट’ कुरा

तपाईको गोप्य रहस्य के हो ? अनलाइनखबरको प्रश्नमा उनले दुईवटा कुरा सुनाए- एक, म राति एउटा रोटीमात्रै खाएर सुत्छु । दुई, म एक सिता पनि भात फाल्दिँन । मेरा पाहुनालाई पनि भात फाल्ने अनुमति छैन ।

madhav nepal with onlinekhabar (1)
पार्टी कार्यालयमा मदनभण्डारीको पोष्टरअघि नेपाल ।

जीन्दगीमा धेरै रोएको छु

माधव नेपाल प्रचण्डजसरी सार्वजनिक स्थलमा रोएको कसैले देखेको छैन । तर, उनी पनि प्रचण्डभन्दा कम भावुक  । ‘म जीन्दगीमा धेरैचोटि रोएको छु । सबैभन्दा दुख भनेको एमाले पराजीत भएका बेला लाग्यो । म भावुक मान्छे हो’, उनी भन्छन्-‘पछिल्लोपटक आमाको निधनका बेला म साह्रै रोएको छु । अनि बहिनीलाई क्यान्सर भएको छ, त्यसले अति नै दुःखी बनाएको छ । मलाई उनको श्रीमानको माया देख्दा रुन मन लाग्छ । बहिनीको प्रसंग आउँदा धेरैपटक रोएको छु ।’
एमाले नेता नेपाल कहिलेकाँही हिन्दी सिरियल हेरेर पनि रुन्छन् । सिरियलमा घरकी बुहारीको पीडा देख्दा उनलाई रुन मन लाग्छ । उनको जीवनको सबैभन्दा सुखको क्षण भने एमाले पहिलोपटक सरकारमा गएका बेला हो ।

एमालेको जग खन्दा

किशोरावस्थामा गौरबाट काठमाडौंमा आउँदै नेपालले कम्युनिष्ट नेता मनमोहन अधिकारीलाई भेटेका थिए । चिनियाँ प्रकाशनको ग्राहक भएर किताबहरु पढ्न थालेपछि त्यतिबेलै उनलाई लागेको थियो, अब नयाँ क्रान्तिकारी पार्टी बनाउनुपर्छ । नेपाल भन्छन्- ‘मनमोहन र पुष्पलालभन्दा फरक नक्सलवादीजस्तो पार्टी बनाउने निर्णय गरेँ ।’

नेकपा एमालेको जग हाल्न भूमिका खेलेका नेता नेपालले इतिहासबारे स्मरण गर्दै भने- ‘हामीले ०३२ सालमा नयाँ पार्टी अर्थात कोअर्डिनेसन केन्द्र (कोके) खोल्यौं । त्यसमा म, सीपी मैनाली, रामचन्द्र यादव, मुकुन्द न्यौपाने, अमृत बोहोरा, झलनाथ खनाल गरी ६ जना थियौं । कोअर्डिनेसन केन्द्र मात्र बनायौं, फूल कमिटी बनाएनौं । त्यो हाम्रो इन्डियन नक्सलवादीको सिको थियो । अहिले त्यही पार्टी एकता हुँदैहुँदै नेकपा एमाले भएको हो ।’

पार्टी जीवनमा नेपाल दुई वर्ष जेल परे । ‘पार्टीमा काम गर्दागर्दै दमन सुरु भयो र म पनि पक्राउ परेँ । मलाई प्रहरीमाथि भाला र फर्सा उठाएको भन्दै कडा अभियोग लगाएको थियो । प्रहरीले ममाथि गोलीसमेत हान्यो,’ उनी भन्छन्, ‘दुई वर्ष जेल बसेपछि छुटें । त्यसपछि भूमिगत भएर राजनीति गरेँ ।’

13-Madhav K Nepal
पार्टी कार्यालयमा कार्यकर्ताहरूसँग नेपाल ।

 

जिन्दगीका उपलब्धी

तपाईको जीवनको उपलब्धि के हो ? अनलाइनखबरको प्रश्नमा उनी भन्छन्- ‘मेरो जिन्दगीको उपलब्धीचाँहि एमालेलाई थोरै मान्छेबाट यत्रो विशाल देशको नेतृत्व गर्ने आशा भरोसाको केन्द्र बनाउन सफल भएँ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मेरो ठूलो भूमिका छ । ज्ञानेन्द्रको शासन सत्ता ढाल्न पनि मेरो भूमिका छ ।’

आफूले जीवनमा गरेका कामको फेहरिस्थ लगाउँदै नेता नेपालले भने- ‘म प्रधानमन्त्री हुँदा पनि धेरै काम गरेको छु । दलितका लागि जनता आवास, फस्ट ट्रयाक रोड, सबै क्षेत्रमा काको सुरुवात गरें । युनिर्भसीटी लगायतका कामको सुरुवात गरेँ । माओवादीलाई निशस्त्र पार्ने काम पनि मैले गरेको हुँ । अनमिनलाई पनि मैले हटाएको हुँ ।’

भिडियो

जिन्दगीको सबैभन्दा ठूलो भूल नि ?

माधव नेपाललाई अनलाइनखबरले सोध्यो, तपाईले जीवनमा गरेको सबैभन्दा ठूलो भूल के हो ? जवाफमा उनले भने- ‘पार्टीमा त भूल कति भए, कुरा नगरौं । धेरै भए होलान् । खोल्दा चित्त दुख्न सक्छ । तर, भूलकै कुरा गर्दा जुन मैले प्रधानमन्त्रीको लागि दाबा पत्र लेखेर ज्ञानेन्द्रलाई दिएँ, त्यो नै मेरो जीन्दगीको ठूलो भूल हो ।’

माधवको थप विश्लेषण छ- ‘त्यो कुनै विन्तिपत्र थिएन । त्यसबाट विरोधीले खेल्ने मौका पाए । र, मेरो विकनेस देखियो । मलाई लागेको थियो, त्यो हक हो, हामीले दाबी गर्नुपर्छ,  ज्ञानेन्द्रले तोक्ने होइन भन्ने लागेको थियो ।’

ज्ञानेन्द्रलाई दाम राखेर ढोगेकोमा पनि माधव नेपालले पश्चाताप गरेका छन् । यसलाई जीवनको दोस्रो भूलको संज्ञा दिँदै उनी भन्छन्- ‘अर्को भूल ज्ञानेन्द्रलाई दाम राखेर ढोगेको कुरा पनि हो । अरु त मैले केही गर्न सक्दिनथें, शीर ननिहुर्‍याएको भए हुने थियो । विनम्रता पनि कहिलेकाँही अभिशाप हुँदो रहेछ ।’

दाम राख्नुको कारण खुलाउँदै उनले भने- ‘त्यो मैले चलनको पालना गरेको हो, अरु केही गरेको त होइन । तर, मेरा विरोधीहरुले त्यो फोटोलाई गलत प्रचार गरिरहेका छन् ।

चुनाव हारेर प्रधानमन्त्री हुनु बाध्यता

पहिलो संविधानसभाको चुनावमा दुईठाउँबाट पराजित भएका नेपालले तत्कालै एमाले महासचिव पदबाट नैतिकताका आधरमा राजिनामा दिए । तर, उनको ‘भाग्य’ यसरी चम्कियो कि उनी सभासद र त्यसपछि प्रधानमन्त्रीसम्म बने ।

तर, चुनाव हारेर प्रधानमन्त्री भएको भन्दै एमाओवादी नेताहरुले ‘हरुवा’ भनेकोमा उनको चित्त दुखेको छ । ‘चुनाव हारेर पनि प्रधानमन्त्री बनेको मान्छे भन्दै प्रचार गरेका छन् । त्यो शब्द सुन्दा मलाई अहिले पनि दुख लाग्छ,’ नेपाल भन्छन्- ‘किनभने मेरो चाहनाले संसदमा गएको होइन । मैले गिरिजाबाबु, प्रचण्ड तथा पार्टीका साथीहरुले भन्दा मानिँन । हाम्रो पार्टीको केन्द्रीय कमिटीले निर्णय नै गरेपछि म एक्लिएँ र संविधान निर्माण समितिको अध्यक्ष भएको हो ।’
प्रधानमन्त्री बनेको प्रशंग कोट्याँदै नेपाल भन्छन्- ‘त्यहीबेला प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । अनि गिरिजाबाबुले मेरो नाम प्रस्ताव गर्नुभयो । पार्टीबाट पनि सर्बसम्मत भएँ ।’

आफूलाई गिरिजाले प्रधानमन्त्रीमा प्रस्ताव गरे पनि झलनाथ खनाललाई यो कुरा नपचेको नेपालको चित्त दुखाइ छ । ‘झलनाथ खनाललाई चाँहि त्यो कुरा पचेको रै’नछ,’ उनले अनलाइनखबरसँग भने, ‘गिरिजाबाबुले भन्नुभएको थियो, प्रचण्डको सामना गर्न सक्ने माधव नेपाल मात्र हो ।

18-Madhav K Nepalआफैले किनेको गाडी प्यारो

आफूले प्र्रयोग गर्ने सवारी साधनबारे प्रश्न गर्दा नेता नेपालले भने-‘जीवनमा धेरै गाडी चढिसकेँ । ०४७ सालबाट मैले सवारी साधन प्रयोग गर्न थालेको हुँ । ती सबै सुविधाका गाडी चढेँ । तर, अहिले आफ्नै पैसाले नयाँ स्करपीओ गाडी किनेको छु ।’

गाडीको आर्थिक स्रोतबारे उनी भन्छन्- ‘यो किस्तामा लिएको छु । मलाई धेरैले फि्रमा गाडीको अफर गर्छन्, तर म लिन्न । सुविधाको गाडी पनि काम सकिनासाथ फिर्ता गर्छु । र, पार्टीका नेताहरुलाई पनि फिर्ता गर्न आग्रह गर्छु ।’
काठमाडौंमा कारभन्दा जीप नै ठीक हुने नेपालको अनुभव छ । ‘बाटोका कारण काठमाडौंमा कार काम छैन, जीप नै चढ्नुपर्छ,’ उनी भन्छन्-‘म कहिले आफैं ड्राइभिङ पनि गर्छु ।’

madhav nepal with onlinekhabar (2)
फोनमा कुरा गर्दै नेपाल ।

‘टेक्नोलोजी’मा रहर

माधव नेपाल ग्याजेटका निकै  सौखिन नेता हुन् । नयाँ टेक्नोलोजी आउनासाथ उनलाई चलाउन मन लाग्छ । उनीसँग आइप्याड छ । आइफोन ५ मोबाइल बोक्छन् । ‘पैसा भएसम्म नयाँ टेक्नोलोजी युज गर्छु, उनी भन्छन्- ‘मोवाइल र आइप्याटबाट इन्टरनेट, फोटो, नोबलहरु र डकुमेन्ट राख्न बढी युज गर्छु ।’

मोबाइल नभएको भए ? उनी भन्छन्- ‘अहिले लाग्छ, मोबाइल नभएको भए जीन्दगी नै अधुरो हुन्थ्यो होला ।’ माधव नेपालले अहिलेसम्म ५/७ वटा मोबाइल फेरिसके । पुराना फोन पार्टीकै साथीहरुलाई दिने गरेका छन् ।
त्यसो त क्यामेरामा पनि माधव नेपाललाई विशेष रुची छ । ‘म फोटोको सौखिन भएकाले क्यामेरामा पनि मेरो रुची छ’ प्रविधिको प्रयोगबारे कुरा गर्दा उनले थपे- ‘टेलिभिजन ०४७ सालमा अमेरिकाबाट फर्किंदा किनेको हुँ ।

एउटाले मेरो रौद्र रुप छापेछ

माधव नेपाल फोटो खिच्न भनेपछि निकै रुची राख्ने नेता हुन् । एकताका एउटा पत्रिकाले तस्वीर नराम्रो छापेकोमा टेलिफोनै गरेर लागी गरेको प्रशंग पनि पुराना पत्रकारमाझ चर्चा चल्ने गर्छ । यसबारेमा राखिएको चासोमा नेता नेपालले यसरी स्पष्ट पारे- ‘म फोटोप्रति अलि कन्सस छु, त्यो आफ्नै ठाउँमा छ । तर, कुरा के हो भने मिडियाले आफ्नै इज्जतका लागि राम्रो फोटो खोजेर राख्ने गर्छन् । तर, एउटा पत्रिकामा मेरो रौद्ररुप छापिएछ । यो त मेरोभन्दा पनि पत्रिकाको इज्जतको कुरा हो नि ।  जिङरिङ्ग दारी पलाएको कुरुप फोटो छापिएछ । अनि मैले अरु फोटो भेट्नुभएन ? भनेर सोधेको थिएँ ।’

 जँड्याहरुलाई एमालेमा ठाउँ छैन

‘म मदिरा सेवन गदिर्ँन र गरेको निको पनि मान्दिँन । मैले पहिलेदेखि भन्दै आएको छु, जँड्याहरुलाई एमालेमा ठाउँ छैन,’ एमाले नेता नेपाल भन्छन्-‘जाँड खाएर माधव नेपालसँग कसैले कुरा गर्ने आँट नगरे हुन्छ ।’

नेतामात्र होइन, समाजसेवी पनि

एमाले नेता नेपाल आफूलाई नेता मात्रै होइन समाजसेवीसमेत भएको दाबी गर्छन् । ‘मैले धेरै सामाजिक कार्य गरेको छु । धेरै अनाथ तथा गरीब केटाकेटी पढाएको छु । कतिपयको फी तिरिदिन्छु । कसैको होष्टलको फी तिरिरहेको छु’ उनी भन्छन्- ‘बाढीपीडित क्षेत्रमा थुप्रै सहयोग गरेको छु । त्यो मेरा बुबा र श्रीमतीको कमाइबाट गरिरहेको छु ।’

10-Madhav K Nepal
वीर अस्पताल उपचार गराउँदै नेपाल ।

अरु विदेश, म वीर अस्पताल

उपचारका लागि सकेसम्म विदेश नजाने नेता नेपालको प्रतिवद्धता छ । ‘म सकभर नेपालमै उपचार गराउँछु । थुप्रैपटक वीर, टिचिङलगायतका अस्पतालमा उपचार गराएको छु,’ उनी भन्छन्- ‘नेपालमा पनि सक्षम डाक्टर र उपकरण छन् । नेपालमै उपचार हुन्छ भने विदेश जानु राम्रो होइन । हामीले नेपालमै उपचार गराएर सुरुवात गर्नुपर्छ । यसमा राज्यको पनि भूमिका हुनुपर्छ भन्ने लाग्छ ।’

6-Madhav K Nepal
कार्यकर्तासँग भेटघाट गर्दै नेपाल ।

झलनाथको सम्पत्ति विवरणमा माधव नेपालको जग्गा

झलनाथ खनाल र माधव नेपालवीच जग्गा किचलो परेको चर्चा सुन्ने गरिन्छ । यसबारे अनलाइखबरको जिज्ञासामा नेता नेपालले यसरी स्पष्टीकरण दिए- ‘मैले ०४० सालमा यही कोटेश्वरको जग्गा किन्दा झलनाथ खनालसँग २० हजार सापटी लिएको थिएँ । हुन त मैले जग्गा बाँड्ने पनि भनेको थिएँ । तर, बुबाले झगडाको बिउ रोपिन्छ, कसैलाई साझेदार नबनाउनु भन्नुभयो । झलनाथजीले  पछि आफ्नो सम्पत्ति विबरणमा हाल्नुभएको रहेछ । म त अचम्ममा परेँ । पछि त्यो सापटी पनि फिर्ता गरेँ ।’

नवौं महाधिवशेनमा पनि खनालको भूमिकाप्रति नेपाललाई चित्त बुझेको छैन । उनी भन्छन्- ‘महाधिवेशनमा झलनाथको भूमिका मलाई ठीक लागेन, मेरो पक्षमा उहाँ रहनुभएन ।’

पार्टीमा माग बढेको छ
पछिल्लोे समय एमालेको अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएका नेता नेपाल आफ्नो हार प्राविधिक मात्र भएको र आफूले जितेको दाबी गर्छन् । अशिले पार्टीभित्र आफ्नो माग बढेको उनको विश्लेषण छ । एमाले पार्टी भद्रगोल बन्न थालेको भन्दै उनी चिन्तित देखिएका छन् ।

‘पार्टी लठिबज्र तालले चलेको छ । कमिटी छैन, केही छैन । अहिले मनपरि ढंगले पार्टीमा नियुक्तिहरु भइरहेका छन् । एकलौटे निर्णय भइरहेको छ’ अनलाइनखबरसँगको अन्तरंगमा नेता नेपालले भने- ‘म त जितेकै मान्छे हो, मतपत्रको गडबढीले मलाई हराइयो । म र सुरेन्द्र पाण्डे पक्का थियौं ।’

पार्टीमा आफ्नो स्थान राम्रो रहेको दाबी गर्दै नेपालले थपे – ‘मेरो तलको जनमत राम्रो छ,  हारले मलाई कत्ति पनि दुखी बनाएको छैन । हारपछि जित हुन्छ, रातपछि बिहान हुन्छ ।

पछिल्लो समय एमालेले सरकारमा गएर राम्रो काम गर्न नसकेको र आफूले पनि निर्णयक भूमिका खेल्न नपाएको नेता नेपालको अनुभूति छ । उनी भन्छन्- ‘अहिले एमाले सरकारमा भए पनि पुलको काम गर्न सकेको छैन । म अहिले पार्टीको निणर्ायक तहमा पनि छैन ।’

8-Madhav K Nepalसमितिका बैठकले दौडधुप

विभिन्न बैठक र कार्यक्रमहरुमा समयमै हाजिर हुने नेता नेपालको बानी छ । ‘प्रायः समितिका बैठकहरु छुटाउँदिन, त्यो पनि टाइममै पुग्छु,’ उनी भन्छन्- ‘म टाइममा साह्रै कन्सस छु । मेरा कारण अरुलाई दुख नहोस् । अरु सार्वजनिक कार्यक्रममा पनि म समयमै पुग्ने प्रयास गर्छु ।’

काठमाडौंमा भएसम्म संसद तथा संविधानसभा बैठक नछुटाउने नेता नेपाल आफूमाथि संविधान बनाउने ठूलो जिम्मेवारी रहेको बताउँछन् । ‘आजकल म संविधान कस्तो भनाउने भन्नेबारे नै दत्तचित्त छु,’ उनी भन्छन्-‘मसँग ०४७ सालको संविधान बनाएको अनुभव पनि छ ।’

केपी, प्रचण्ड र सुशीलको मूल्यांकन

माधव नेपालकोृ नजरमा केपी ओली गुटबन्दी गर्ने मान्छे हुन् । उनी सामूहिक नेतृत्व चलाउन नसक्ने मान्छे हुन् । मेहनत पनि गर्न नसक्ने मान्छे हुन् । प्रधानमन्त्री सुशील कोइरालाचाँहि बडो भद्र मान्छे हुन् । तर, उनमा प्रशासनको अनुभव छैन । कोइराला चुनौतीको सामना गर्न नसक्ने नेता हुन् ।

नेपालको नजरमा एमाओवादी अध्यक्ष प्रचण्ड चाँहि आत्मकेन्दि्रत मान्छे हुन् । प्रचण्ड राष्ट्र र जनताको हितभन्दा पनि आफ्नो हित खोज्ने मान्छे हुन् ।

14-Madhav K Nepal

फिजियो थेरापी गर्दै नेपाल
फिजियो थेरापी गर्दै नेपाल

 

तस्वीर तथा भिडियो : श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment