Comments Add Comment

उर्जा र पूर्वाधार विकासमा जापानी सहयोग आवश्यक छ : अर्थमन्त्री

arthamantry-and-Jaika-vice-chairman

२४ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र जाइकाका उपाध्यक्ष तोसियुकी कोरोयागीबीच अर्थमन्त्रालयमा सोमबार औपचारिक भेटघाट तथा छलफल भयो ।

जापान इन्टनरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का उपाध्यक्ष तोसियुकी तथा जाइकाकै दक्षिण एसिया हेर्ने उपमहानिर्देशक कात्सुओ मात्सुमोतो जाइकाको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रत्यक्ष अवलोकनका लागि आइतबार चारदिने नेपाल भ्रमणमा आएका हुन् ।

नेपालको सहायता रणनीतिका बारेमा सरकार तथा सम्वन्धित अन्य निकायहरुसँग छलफल गर्ने उनीहरको मूख्य उद्देश्य हो । सो अवसरमा अर्थमन्त्री महतले नेपाल र जापानबीच उच्चस्तरको द्विपक्षीय सम्बन्ध रहेको चर्चा गर्दै जाइका नेपालको आर्थिक सामाजिक विकासको लागि सक्रिय साझेदारको रुपमा रहेको बताए ।

जाइकाले विशेषगरी नेपालको पूर्वाधारको विकास, संस्थागत विकास, शान्ति प्रक्रियाको सुदृढीकरण तथा ग्रामीण क्षेत्रको गरिबी घटाउने काममा उल्लेख्य सहयोग गरेको चर्चा गर्दै अर्थमन्त्री महतले सरकारको प्राथमिकता संविधान जारी गर्नु र आर्थिक सामाजिक विकासमा केन्दि्रत हुनु रहेको बताए ।

लगानीको वातावरण निर्माणका लागि सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले जाइकालाई आफ्ना कार्यक्रम सञ्चालन गर्न अनुकूल वातावरण तयार गर्न सरकार तत्पर रहेको उल्लेख गरे ।  उनले नेपालमा उद्योगका क्षेत्रमा लगानी गर्न वातावरण सहज बन्दै गएको जानकारी दिएका थिए ।

अर्थमन्त्री महतले जाइकालाई नेपालको उद्योग तथा वाणिज्यका क्षेत्रमा सहयोगको दायरा बढाउन आग्रह गरे । उनले जापानी स्वयंसेवकहरुले नेपालको कृषि क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरे ।

आगामी दिनमा आवश्यक पर्ने ठूलो साधन स्रोत परिचालनमा जापानजस्ता नेपालका शुभेच्छुकहरुको ठूलो भूमिका रहने स्पष्ट पार्दै महतले विशेषगरी पूर्वाधारको विकास र उर्जा क्षेत्रको विकासका लागि जापानको ठूलो सहयोग आवश्यक रहेको बताए ।

जाइकाका उपाध्यक्ष तोसियुकीले संविधान निर्माण र विकासका लागि सरकारका एजेण्डाहरुबारे जिज्ञासा राखेका थिए । सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा अर्थमन्त्रालयका कर्मचारीहरु र जाइकाका उपमहानिर्देशक मात्सुमोतो तथा जाइकाका नेपालस्थित अधिकारीहरु समेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment