३० कात्तिक, तारेभीर काठमाडौं । काठमाडौं उपत्यकाका तीन अग्ला डाँडाको नाम लिनुपर्दा फूलचोकी, शिवपूरी र तारेभीरको नाम आउछ । फूलचोकी र शिवपूरी जति चर्चामा छन्, तारेभीर चाहिँ गुमनाम जस्तै थियो ।
तर अब तारेभीर चाँडै ‘रक क्लाइम्बिङ’को आकर्षक गन्तव्य हुदैछ । ९९ प्रतिशत तामाङ समुदायको बसोबास रहेको तारेभीरलाई रक क्लाइम्बिङस्थल बनाउने गरि विकास निर्माणको काम अघि बढेपछि यो ठाउँको सोधीखोजी शुरु भएको छ ।
रत्नपार्कबाट १७ किलोमिटर उत्तरपूर्वी भागमा रहेको तारेभीर गोकर्ण नजिकै रहे पनि अहिलेसम्म मोटरबाटो समेत पुगेको छैन । गोकर्णबाट तारेभीरसम्मको करीव ५ किलोमिटर सडक खन्न काठमाडौं क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयाल कोदाली बोकेर हिँडेपछि अहिले त्यस भेगका जनता आफै जागेका छन् ।
तारेभीरलाई रक क्लाइम्बिङस्थल बनाउन आफ्नो पहलमा पहिलो पटक सरकारले १० लाख रुपैया छुट्याए पनि मोटरबाटो नभई त्यहाँ रक क्लायम्बिङ गर्ने मान्छे जान नसक्ने भएकाले जनताको पहलमा सडक खन्न थालिएको सभासद फुयालले बताए ।
अहिलेसम्म साढे दुई किलोमिटर सडक खनि सकिएको र माघ १ गतेसम्म मोटर पुर्याउन त्यस क्षेत्रका जनता आफैं लागेको उनले बताए । ‘सभासद कोदाली बोकेर सडक खन्न हिड्यो भनेर मलाई खिसिटिउरी पनि गरे तर जनता जगाउन म दिनरात श्रम गर्न तयार छु’, फुयालले भने, ‘माघे सक्रान्तिको दिनसम्म यहाँ मोटर ल्याएरमात्र हामी घिउ चाकु खानेछौं ।’
सुत्केरी महिलादेखि सभासदको श्रमदान
सडक खन्नका लागि जनता आफै श्रमदानमा जुटेका छन् भने सभासद फुयालले २ लाख रुपैया छुट्याएका छन् । जिल्ला विकास समितिबाट बजेट थप्ने पहल भइरहेको छ ।
काठमाडौंको मुटु रत्नपार्कबाट करिब १७ किलोमिटर उत्तरतर्फ रहेको तारेभीरलाई साहसिक खेल ‘रक क्लाइम्बिङ’को गन्तव्य बनाउन सुत्केरीदेखि सभासद लागिपरेका छन्
एघार महिनाकी सुत्केरी माइली तामाङ सभासद फुयालसँगै कोदाली बोकेर सडक खन्न निस्किएपछि त्यस गाउँका महिला पुरुष सबै ओइरिएका छन् । आफ्नो गाउँको विकास हुने सुनेर नानी च्यापेर खन्न आएको प्रतिक्रिया माइलीले दिइन् । ‘सांसद त कोदाली बोकेर आउनुभएको छ, हामी किन चुप लाग्ने ?’ उनले भनिन् ।
‘घरलौरी कोदालो बोकेर महिला पुरुष सबै काममा निस्किएका छन् । दूधे बालकलाई मजेत्रोले बेरेर सडक खन्न आएकी सुत्केरीलाई देखेपछि जनता जागेको अनुभूति भयो,’ सभासद फुयालले भने, ‘तारेभीर अब पर्यटकीय गन्तव्य बन्ने आशा जागेको छ ।’
यदि तारेभीरमा मोटर पुगेमा यस क्षेत्रको मटरकोसा खेति, राँगा पालन र बाख्रापालन व्यवसायले बजार पाउने अपेक्षा स्थानीयको छ ।
प्रतिक्रिया 4