+
+

पाकिस्तानबाट काठमाडौंमा कुकुरसमेत ल्याउन दिँदैन भारत

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३० गते १७:२८

३० कात्तिक, काठमाडौं । यतिबेला काठमाडौंमा सार्कस्तरीय व्यापारिक नेटवर्कका ठुल्ठुला कुरा भइरहेका छन् । तर, नेपाली सेनाले भारतीय अवरोधकै कारण पाकिस्तानबाट ७ वटा कुकुर र ६ वटा घोडा ल्याउन नपाउँदा लाखौं रुपैयाँ डुबाउनुपरेको छ ।
नेपाली सेनाले ६ वटा घोडा Pakistani Dogखरिदका लागि केही वर्ष पहिले नेपालस्थित पाकिस्तानी दूतावासलाई दुई किस्तामा २४ हजार अमेरिकी डलर बुझाएको थियो ।
तर, भारतले ती घोडाहरु नेपाल भित्र्याउन रुट अनुमति र क्लियरिङ सर्टिफिकेट नदिँदा घोडाहरु भित्र्याउन नसकिएको सेनाका एक अधिकारीले बताए ।
नेपाली सेनाले भारतीय अवरोधका कारण पाकिस्तानी घोडा भित्र्याउन नपाएपछि पाकिस्तानी दूतावासमार्फत बुझाएको पैसा महालेखा परीक्षकको कार्यालयले बेरुजुमा चढाएको छ ।
त्यसैगरी नेपाली सेनाले पाकिस्तानबाट ७ कटा कुकुर खरिदका लागि १७ हजार अमेरिकी डलर बुझाएको थियो । यो पैसा पाकिस्तानी दूतावासलाई नभई कुकुर खरिदसम्बन्धी सम्झौता गरिएको पाकिस्तानी र्फमलाई सेनाले तिरेको थियो ।
सम्झौतामा कुकुर नेपाल भित्र्याउने जिम्मा पाकिस्तानी र्फमको थिएन । तर, यसमा पनि भारतले आफ्नो भूमि प्रयोग गर्न नदिँदा नेपाली सेनाले पाकिस्तानी कुकुर काठमाडौं भित्र्याउन सकेन ।
त्यसो त नेपाली सेनाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स -पीआइए)को विमानबाटै ती कुकुरहरु नेपाल भित्र्याउन नखोजेको पनि होइन । तर, पीआइएले मान्छे बोक्ने विमानमा कुकुर बोक्न नपाइने भन्दै नेपाली सेनाको अनुरोधलाई अस्वीकार गरिदियो ।
यता महालेखा परीक्षकको कार्यालयले घोडा खरिद प्रकरणमा जस्तै कुकुर खरिद प्रकरणलाई पनि नेपाली सेनाले गरेको बेरुजु अन्तरगत राख्दै आएको छ ।
सार्क मुलुकमा खुल्ला व्यापारको कुरा हरेक सार्क सम्मेलनमा हुने गरे पनि भारतीय एकाधिकारका कारण नेपाली सेनाले घोडा र कुकुरमा लगानी गरेको ४१ हजार अमेरिकी डलर भुस बनेको छ ।
काठमाडौंमा हुन लागेको १८ औं शिखर सम्मेलनमा पनि सार्क फ्री ट्रेडको नारा घन्किने निश्चित छ । तर, भारत-पाकिस्तानवीचको चिसो सम्बन्धकै कारण दक्षिण एशियाली मुलुकहरुमा स्वतन्त्र व्यापारको परिकल्पना गफमै मात्र सीमित हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?