+
+

अर्थमन्त्रीले भने- कर पुनरावलोकन प्रतिवेदन छिटो बुझाउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३० गते १७:५३

Arthamantri३० कात्तिक काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आयकर, भ्याट र भन्सार तीनै किसिमका राजस्वका स्रोतलाई सुसंयोजित र व्यवस्थित हुनेगरी करप्रणालीको पुनरावलोकन गर्न उच्चस्तरीय कर प्रणाली पुनरावलोकन सुझाव आयोगलाई निर्देशन दिएका छन् ।

मन्त्री महतले आइतवार आयोगका पदाधिकारीहरुलाई अर्थमन्त्रालयमा बोलाएर तुरुन्त काम थाल्न आयोग पदाधिकारीहरुलाई निर्देशन दिए । बिगत लामो समयदेखि कर प्रणालीको पुनरावलोकनबारे चर्चा भैरहे पनि काम भने हुन सकिरहेको थिएन ।

उनले कर प्रणालीको पुनरावलोकन आयोग गठनबारे चालु आर्थिक बर्षको बजेटमा नै घोषणा गरेका थिए । यसैअनुरुप वरिष्ठ कर विशेषज्ञ तथा अर्थशास्त्री डा. रुपबहादुर खड्काको अध्यक्षतामा उच्चस्तरीय कर पुनरावलोकन सुझाव आयोग गठन भएको हो ।

महतले आयोगलाई आगामी बजेटमा सुझावलाई समेटन सक्नेगरी छिटो सुझाव पेश गर्न पनि निर्देशन दिए ।

‘बिगतमा भन्सारबाट असूली हुने राजस्वको आकार ठूलो हुने गथ्र्यो’ उनले भने -अहिले राजस्वका क्षेत्रमा ठूलो परिवर्तन आइसकेको छ । भन्सार होइन, आयकर र भ्याटबाट धेरै राजस्व असूली हुन थालेको छ ।’ राजस्व चुहावट समस्याको रुपमा रहेको चर्चा गर्दै अर्थमन्त्रीले आयोगलाई चुहावट नियन्त्रणका उपाय सुझाउन पनि निर्देशन दिए ।

दुई दशकअघि करिब १२ अर्ब बाषिर्क राजस्व असूली हुने गरेकोमा अहिले त्यो बढेर साढे ४ खर्ब राजस्व असूली हुन थालेको जानकारी दिए । ‘राजस्वका क्षेत्रमा संरचनागत र प्रणालीगत परिवर्तन आएको छ, सबै पक्षहरुमा समग्रमा अध्ययन गरी सुझाव पेश गर्नुहोला’ उनले भने ।

सो अवसरमा आयोगका अध्यक्ष डा खड्काले आफूहरुलाई चैतसम्मको समयावधि तोकिएपनि सकेसम्म त्योभन्दा छिटो प्रतिवेदन पेश गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आयोगका अन्य सदस्यहरुमा करविज्ञ माधवप्रसाद ढकाल र चार्टर्ड एकाण्टेण्ट  सुदर्शराज पाण्डे रहेका छन् । आयोगका अध्यक्ष डा. खड्का नेपालमा भ्याट कार्यान्वयनको शुभारम्भ गर्नेमा उल्लेख्य योगदान पुर्‍याउने बिज्ञको रुपमा रहेका छन । अर्थमन्त्रीले नेपालमा आएर सहयोग गर्न आग्रह गरेपछि खड्का हालै नेपाल आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?