४ मंसिर, काठमाडौं । सार्क राष्ट्रभित्र व्यापार विस्तार तथा सहजीकरणको विषयमा चर्चा चलिरहँदा नेपाल उच्च व्यापार घाटाबाट ग्रसित भएको छ । मुलुकको कुल व्यापार घाटाको अधिकांश हिस्सा सार्क मुलुकसँगै रहेको छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा छिमेकी मुलुक भारतसँग रहेको छ । गत आर्थिक वर्षको कुल व्यापार घाटामध्ये तीन भागको दुई भाग भारतसँगै रहेको छ भने एक भाग अन्य मुलुकसँग छ ।
पछिल्ला वर्षहरुमा भारतसँग नेपालको परनिर्भरता बढ्दै गइरहेको केन्द्रको तथ्यांकले देखाएको छ । केन्द्रका अनुसार दश वर्षको अन्तरालमा भारतसँगको व्यापार घाटा ८ गुनाले बढेको छ ।
आर्थिक वर्ष ०६१/०६२ मा नेपालको भारतसँग व्यापार घाटा ४९ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ रहेकोमा ०७०/७१ मा आइपुग्दा ४ खर्ब २२ अर्ब ८८ करोड ६९ लाख रुपैयाँ पुगिसकेको छ । उच्च दरमा बढ्दै गइरहेको यो व्यापार घाटा मुलुकका लागि हानिकारक रहेको पूर्वसचिव पुरुषोत्तम ओझा बताउँछन् ।
दश वर्ष अगाडि नेपालमा भारतबाट ८८ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तुहरु आयात भएको थियो । समीक्षा अवधिसम्म आइपुग्दा ४ खर्ब ८२ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु एक वर्षमा आयात हुन थालेको छ ।
नेपालबाट भारतमा हुने निर्यात अवस्था भने चिन्ताजनक रहेको छ । दश वर्षको अवधिमा नेपालबाट भारतमा हुने निर्यात जम्मा २० अर्ब रुपैयाँले बढेको छ । जबकि यस अवधिमा भारतबाट नेपालमा भएको आयात ३९४ अर्ब रुपैयाँले बढेको छ ।
दश वर्षमा भारसँगकाे व्यापार अवस्था
Fiscal Year | Export (000) | Import (000) | Trade Deficit (000) |
---|---|---|---|
F.Y 2004/05 | 38,916,900 | 88,675,500 | -49,758,600 |
F.Y 2005/06 | 40,714,700 | 107,143,100 | -66,428,400 |
F.Y 2006/07 | 41,728,800 | 115,872,300 | -74,143,500 |
F.Y 2007/08 | 38,555,700 | 142,376,500 | -103,820,800 |
F.Y 2008/09 | 43,574,482 | 165,119,002 | -121,544,520 |
F.Y 2009/10 | 39,902,811 | 214,261,109 | -174,358,298 |
F.Y 2010/11 | 42,868,108 | 259,162,277 | -216,294,169 |
F.Y 2011/12 | 50,933,222 | 321,346,419 | -270,413,196 |
F.Y 2012/13 | 51,788,460 | 397,957,920 | -346,169,460 |
F.Y 2013/14 | 59,458,375 | 482,345,300 | -422,886,925 |
आर्थिक वर्ष ०६१/०६२ मा नेपालबाट ३८ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ बराबरको वस्तुहरु निर्यात भएको थियो । दश वर्षपछि ०७०/०१ मा आइपुग्दा निर्यात सामान्य बढेर ५९ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
यसबीचमा नेपालको भारतसँगको व्यापार घाटा उच्चदरमा बढिरहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ ।
यस वर्ष पनि घाटा उच्च हुने संकेत
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयात निर्यात तथ्यांकमा भारततर्फको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढेको छ । जबकि अघिल्लो वर्ष जम्मा १६ प्रतिशतले मात्र बढेको थियो ।
आयात बढिरहँदा यस अवधिमा निर्यात भने ६.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा भारततर्फको निर्यात १८.२ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म भारतबाट १ खर्ब २४ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात गरिएको छ भने १३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तुहरु भारततर्फ निर्यात गरिएको छ ।
ग्राफमा भारतसँगकाे व्यापार
प्रतिक्रिया 4