Comments Add Comment

नेपालमा लगानी गर्न सार्क उद्यमीलाई प्रधानमन्त्रीको आग्रह

Saarc-chember-with-sushil-koirala
फोटो उद्यमी साैरभ ज्याेतिको फेसबुकबाट

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सार्क उद्यमीहरुलाई लगानीका लागि आग्रह गरेका छन् । शुक्रबार विहान बालुवाटारमा सार्क चेम्बर्स अफ कमर्श एण्ड इण्डष्ट्रिजका पदाधिकारीसँग भएको भेटमा कोइरालाले उक्त आग्रह गरेका हुन् ।

‘नेपालमा लगानी अनुकूल वातावरण बनेको छ’ प्रधानमन्त्री कोइरालाले भने- ‘तपाईहरु निर्धक्क भएर लगानी  गर्नुहोला ।’

कोइरालाले नेपालले हालै भारतसँग गरेको विद्युत व्यापार सम्झौता र माथिल्लो कर्णाली तथा अरुण तेस्रो आयोजनाको आयोजना विकास सम्झौतालाई संकेत गर्दै उद्योगीहरुसँग भने- ‘हामीले विकासका कामहरु भर्खर शुरुआत गरेका छौं, हामीले विकासको त मुखै देख्न पाएनौं ।’

६ दशकभन्दा बढीको समयदेखि खाली प्रजातन्त्रको स्थापना, पुर्नस्थापना र विकासको लागि संघर्ष गर्दागदै विकासमा ध्यान नपुगेको कोइरालाको भनाई थियो । उनले मुलुकमा शान्ति र स्थायित्व कायम हुँदै गएकोले लगानीका लागि विश्वसनीय आधार बनेको पनि बताए ।

नेपालमा गरिने लगानीको सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिँदै उनले छोटो समयमा नै नेपालको विकास हुने विश्वास पनि व्यक्त गरे ।

कोइरालाले नेपाल प्राकृतिक स्रोतमा धनी भए पनि यसको सदुपयोग गर्न नसकेको बताएका छन् । उनले जलस्रोत, कृषि, पर्यटन र जडिबुटी उत्पादन र प्रशोधनका क्षेत्रमा लगानी हुने विश्वास व्यक्त गरेका छन् ।

भेटवार्तामा सार्क चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, सार्क चेम्बरका ज्ञानेन्द्रलाल प्रधान, युवा उद्यमी सौरभ ज्योति, शंकर पाण्डे, प्रवीना पाण्डे, समीर थापालगायत सार्क च्याम्बरमा आवद्ध बंगलादेश, भुटान र पाकिस्तान च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

भेटमा सार्क क्षेत्रका उद्यमीहरुले प्रधानमन्त्री कोइराला सार्कको अध्यक्ष भएकोमा बधाई दिँदै सार्कको १८औं सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गरे ।

उनीहरुले सार्क क्षेत्रमा ऊर्जा सहयोगका सम्बन्धमा भएको सम्झौताको स्वागत गर्दै यसले आर्थिक विकासलाई सघाउने बताएका थिए ।

प्रधानमन्त्री कोइरालाले सार्क मुलुकमा कनेक्टिभिटी सुरुआत भएको र छिट्टै सडक यातायात र रेल यातायात सम्झौता हुने पनि विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment