Comments Add Comment

केपीले भने- ०४७ कै अपडेट गरेर भए पनि संविधान बनाऔं

Kp-oli-adress-at-Uml-meet

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘०४७ सालकै संविधानलाई अपडेट गरेर’ भए पनि माघ ८ मा संविधान जारी गर्ने बताएका छन् ।

सोमबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जनसुकै मूल्यमा माघ ८ मा संविधान आउने बताए । ‘अध्यक्षले संविधानसभाबाट खाली हात नर्फकने उद्घोष गर्नुभएको छ’ एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भनेका छन् ।

 अन्तरिम संविधान र ०४७ सालको संविधान राम्रो भएको भन्दै ओलीले त्यसलार्इ अपडेट गरेर जारी गर्न सकिने बताएका हुन्  ।

एमाले अध्यक्ष ओलीले हालै मात्र मधेसवादी दलका नेताहरुसँग भएको डिनरसहितको छलफलमा पनि संघीयताको विवाद आयोगलाई जिम्मा लगाउने प्रस्ताव राखेका थिए ।

एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा भनेका छन्-‘मिलेका विषयमा मात्रै भए पनि माघ ८ मै संविधान जारी गरौं, संघीय आयोग एउटा विकल्प हुन सक्छ ।’

संविधानलाई अड्काउन नपाइने भन्दै ओलीले भने- ‘अड्काएर राख्न पाइँदैन, जबरजस्ती अड्काउने हो भने सरकारसँग दुई तिहाइ बहुमत छ ।’

माघ ८ भित्र संविधान जारी गर्ने समय रहेसम्म दलहरुबीच सहमतिको प्रयास गर्ने, तर त्यसो नभए प्रक्रियामा गएर दुई तिहाइले सविधान ल्याउने ओलीले बताएका छन् ।

बैठकलाई झण्डै एक घण्टा सम्बोधन गरेका ओलीले प्रदेशहरु बनाउँदा पहाड र मधेसलाई कुनै हालतमा छुट्याउन नदिने बताएका छन् । यो एमालेको बटमलाइन भएको भन्दै उनले सकेसम्म कम प्रदेश बनाउनुपर्ने बताए ।

बैठकमा एमाले अध्यक्ष ओलीले मा ८ मै संविधान जारी गर्न अहिलेको सरकारलाई विस्तार गरेर राष्ट्रिय स्वरुप दिन सकिने समेत बताएका छन् ।

बाबुरामको प्रतिवेदन सम्वाद समितिमा फर्कन्न

बैठकमा ओलीले संवैधानिक राजनीतिक सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको आलोचना गरे । ‘राम्रो मनसायले प्रतिवेदन ल्याउनु होला भनेर उहाँलाई स्वविवेक प्रयोग गर्न दिइएको थियो । बाबुरामजीले राम्रो ढंगले प्रतिवेदन ल्याउनुभएन’ ओलीले भनेका छन् । उनले भट्टराईले पठाएको विवादित विषयको प्रतिवेदन अब सम्वाद समितिमा नर्फकने समेत बताएका छन् ।

भट्टराईले पठाएको सम्वाद समितिको प्रतिवेदन मंगलबार संविधानसभामा पेश गर्ने कार्यसूची छ । प्रतिवेदनमा कांग्रेस र एमालेसहितका दलले पेश गरेको साझा धारणा छलफल र निर्णयार्थ पेश नहुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment