Comments Add Comment

प्रहरीले कहिलेसम्म यौनकर्मी र चुल्ठेमुन्द्रे समात्ने ?

दीपेश केसी

चोर र पकेटमार समातेको हल्ला मच्चाउने नेपाल प्रहरीले ‘ड्रग कार्टल’ को नाइके समातेर पराक्रम देखाउने दिन कहिल्यै आएन । लागूऔषधको होस् या सुन तस्करी, तारोमा भरिया पर्छन् । तर, ‘कार्टल’ नाइकेको छायाँसमेत चिन्दैन प्रहरी ।dipesh kc

माथिल्लो तहबाट परिचालित टोलका गुण्डा समातेकोमा गर्व गर्दै प्रहरी अधिकृत रातारात सेलिब्रिटी भइहाल्छन् । तर, आजसम्म कमैमात्र प्रहरी छन्, जसले ‘ठूला माछा’ समातेर चर्चा बटुलेका छन् ।

विगतमा कुख्यात अपराधी चाल्र्स शोभराज नेपाली भूमिमै पक्राऊ परे । किड्नी तस्करीका कुख्यात अपराधी अमितकुमार पनि नेपाली भूमिमै पक्राऊ परे । त्यसबाहेक नीरञ्जन होजाई, यासिन भटकल र अब्दुल करिम टुण्डाजस्ता आतंकवाद घोषित समूहका सदस्य पनि नेपालमै पक्राऊ परे ।

शोभराज अहिले केन्द्रीय कारागारमा छन् भने अन्य तीनलाई अघोषित तरिकाले भारत सुपुर्दुगी गरियो । ‘बिकिनी किलर’ चाल्र्स शोभराज पक्राऊ गर्न मुख्य भूमिका खेल्ने एसएसपी गणेश केसी त्यसबेला खुब चर्चामा आएका थिए । सुपुर्दुगी गरिएकालाई पक्राऊ गर्न कसले भूमिका खेल्यो, अहिलेसम्म गुपचुपमै राखिएको छ ।

प्रहरीले चाहँदा ठूलो माछा उम्किँदैन

प्रहरीको इच्छाशक्ति भएमा जस्तोसुकै अपराधी पनि उम्कन सक्दैन भन्ने कुरा विगतका घटनाले देखाइसकेको छ । शक्तिशाली र साधनसम्पन्न देशहरूको नजरबाट लुक्न सक्ने अपराधीहरू नेपाली भूमिमा पक्राऊ पर्न सकेका छन् । तैपनि ठूला अपराधी पक्राऊ नपर्नुमा तिनको माथिल्लो निकायसम्मको पहुँच र प्रभाव मुख्य कारण बन्ने गरेको छ ।

प्रहरीले पहिचान गरे पनि प्रमाणको अभाव भन्दै फाइल अगाडि बढाउन चाहँदैन । कतिपय प्रहरी अधिकृत नै ठूला अपराधीसँगको मिलेमतोमा काम गरिरहेका हुन्छन् । जताततै प्रभाव बनाउन सकेका ठूला अपराधीलाई प्रमाणसहित पक्राऊ गर्न प्रहरीमा ठूलो साहस र इच्छाशक्ति अनिवार्य हुन्छ ।

दिल्लीमा खटाइएका एसएसपी राजेन्द्रमान श्रेष्ठले नेपालमा ठूलो अपराध गरेर भारतमा लुकेका अपराधीलाई पक्राऊ गर्न भूमिका खेलिरहेछन् । गुण्डा नाइकेहरू देखि बैंक काण्ड र युनिटी प्रकरणका दोषी भारतीय भूमिमा पक्राऊ पर्नु उनकै सक्रियताले भएको हो ।

नेपाली भूमिमा लुकीछिपी बस्ने आतंकवादी समूहका नाइके पक्राऊ हुनुमा एसएसपी सर्वेन्द्र खनालको भूमिका रहेको थियो । कुख्यात अपराधीसँग मिलेमतो गर्ने आफू मातहतका डीएसपीलाई कारवाही गरी घटुवा गराउन लगाएर खनालले साहस प्रदर्शन गरे ।

तारोमा भरिया

हाम्रो समाजमा विपन्न, अशिक्षित, सीमान्तकृत जाति, क्षेत्र र समुदायका मानिसले बढी अपराध गर्छन् भन्ने गलत सोच अझै हटेको छैन । त्यस्ता समुदाय वा क्षेत्रकाहरूले अपराध गरे पनि तल्लो तहको भूमिका निर्वाह गर्छन् ।

विशेषगरी संगठित समूहमा हुने लागूऔषध, सुन, जाली नोट, वन्यजन्तु सम्बन्धी सामाग्री, आदिमा उनीहरुले भरियाको काम गर्छन् । वन्यजन्तुको सामाग्रीको तस्करीमा शिकारीसम्मको भूमिका उनीहरूको हुन्छ । तर, प्रहरीले माथिल्लो तहमा रहेर अपराध गर्ने र गर्न प्रोत्साहित गर्नेहरूको रौं समेत पत्ता लगाउन नसक्नुचाहिँ गम्भीर विषय हो ।

भरिया समातेर चर्चा कमाउने प्रहरी अधिकृतहरूको भुईंमा खुट्टा हुँदैन । सानालाई देखाएर ठूलातर्फ जान नसकिएको हो वा मोलमोलाईबाट मिलाइएको हो भन्ने तथ्य लुकिरहने छैन ।

सुपारी तस्करमा सर्वेन्द्र खनालले वीरगञ्ज भन्सारका कर्मचारीको मिलेमतोबारे खुलेरै बोले । तर, तस्करीमा चालक र सहयोगी पक्राऊ पर्नेबाहेकको प्रगति हुन सकेन । माथिल्लो तहबाट कारबाही प्रक्रियामाथि अवरोध लगाउने शैलीले प्रहरी मुख्य अपराधी छेउसम्म पुग्नै सक्दैन ।

अपराधीको बिगबिगी भएका देशहरूमा संगठित अपराधका नाइकेहरू समातिएका वा मारिएका घटना छन् । प्रहरीले त्यसमा विशेष भूमिका निभाएको छ ।

मेक्सिको र कोलम्बियामा ड्रग कार्टलका नाइकेहरू कारबाहीमा परेका छन् । हामी कहाँ लागूऔषधमा भरिया पक्राऊ पर्नु सामान्य हो र मध्यमस्तरका कारोबारी आक्कल-झुक्कल फन्दामा परेका छन् । मुख्य अपराधीको छायाँमात्र देखिन्छ भनेर प्रहरी उम्कन खोज्छ । प्रहरी उनीहरूसम्म पुग्दैन । यसले आशंकाहरू पैदा गरेको छ ।

सुनमा कमिशन

नेपालको बाटो भएर भारतसम्म सुन पुर्‍याउने गिरोह सक्रिय छन् । सुन तस्करीमा प्रहरीकै उच्च अधिकारीहरूको नाम मुछिएको छ । एआइजी प्रकाश अर्याल सुन काण्डमा मुछिएर चोखिएका छन् । पछिल्लो समय आइजीपी उपेन्द्रकान्त अर्याल, डीआइजी केशबहादुर शाही, अर्का डीआइजी प्रकाश अर्याल, डीएसपी ईश्वरबाबु कार्की सुन सुराकीको कमिशनवापत्को १५ प्रतिशत रकम हिनामिनामा मुछिएका छन् ।

तस्करकसँग मिलेर लाइन खुलाएर कमिशन खाने गतिविधि नयाँ होइन । बरामद मालमा समेत हिनामिनाको घटनाले प्रहरीलाई बदनाम गर्न सक्छ । आफन्तलाई सुराकी देखाएर रकम हात पार्ने प्रवृत्ति हावी भइसक्यो । सेलिबि्रटी एसएसपी रमेश खरेल पनि तस्करीको सुन बरामदमा श्रीमतीलाई सुराकी बनाएको काण्डमा मुछिएका थिए । सुनकाण्डको कमिशन प्रकरणले ठूला नामधारी प्रहरीहरू धेरैको साख घटाएको छ ।

चन्दनमा लुट

भारतबाट नेपालको बाटो हुँदै चीनतर्फ जाने रक्तचन्दन तस्करीमा प्रहरीका उच्च अधिकृतहरूको मिलेमतो चर्चामा आयो । गुण्डाहरू पनि खुबै सल्बलाए । द्वन्द्वकालको सुरक्षा कडाइका नाममा सजिलै लाइन खुलाउने गरिएको तथ्य शान्ति प्रक्रियाका समयमा पर्दाफास भयो ।

टोल टोलमा चन्दन तस्करीको गाडी ढुकेर बस्ने गुण्डा पैदा भए । सामान्य गुण्डासमेत रातारात करोडपति भए । गुण्डा त करोडपति र अर्बपति बन्न सकेको तस्करीमा सुरक्षा निकायका भ्रष्ट अधिकारीले कति कमाए होलान् ? यस्तालाई कारबाही गर्ने प्रमाण पुर्‍याउन लोकमानसिंहले ‘ठूलाको बैंक खाता रित्तो, ससुराली कंगाल’ भन्दै निरीहता देखाइसके ।

मुन्द्रे र यौनकर्मी समातेर पराक्रम !

कहिले चुल्ठेमुन्द्रे त कहिले यौनकर्मी समातेर चर्चामा आउने रहर नेपाल प्रहरीका धेरै अधिकृतहरूलाई पर्ने गरेको छ । चुल्ठेमुन्द्रेविरूद्ध अभियान नै थाल्ने प्रहरी समेत देखापरे । तर, सर्वत्र विरोध भएपछि उक्त अभियान आलोचित भयो ।
ठमेलको मसाज अनि बालाजु बसपार्क, चावहिल मित्रपार्क, सुन्धारा र बागबजार क्षेत्रभित्रका लजमा जोडी खोज्न लगाउने सा’बहरूको नेपालमा कमी छैन ।

राजधानी बाहिरका मुख्य शहरमा छ्याप्छ्याप्ती यौन व्यवसाय फष्टाएको जानकारी प्रहरी र प्रशासनलाई नभएको होइन । तर, तिनको व्यवस्थापनमा भन्दा खोजेर थर्काउने, हल्ला मच्चाउने र पछि चुपचाप महिनावारी असुल्ने प्रहरीहरू पनि छन् । यस्तो अवस्थामा प्रहरी र हप्ता असुल्ने गुण्डाबीच के फरक ?

ठूला तहका यौनकर्मीलाई पक्राऊ गर्ने हिम्मत प्रहरीमा देखिँदैन । विदेशमा सिनेकलाकार वा मोडलको भेषमा ठूलो यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राऊ गरिएका घटना छन् । नेपालमा पनि त्यस्तो गिरोह छ । तर, प्रहरी आँखा चिम्लिएर बस्छ र ठमेलको मसाज र सस्ता लजहरुमा धन्दा चलाउनेलाई उठाएर ल्याउँछ ।

आशा प्रहरीकै

कालिदासले भनेका छन्- माटो कहिल्यै खराब हुँदैन, मनुस्य खराब हुन सक्छ । त्यस्तै प्रहरी संगठन कहिल्यै खराब हुँदैन, बरू प्रहरी खराब हुन सक्छ ।

खराब प्रहरी हालीमुहाली भएमा देशमा शान्ति सुरक्षा र अमनचयन कायम हुँदैन । दुई/चारजना टोलेगुण्डालाई झ्याल्टुङ पारेर र ‘इन्काउन्टर’ गरेर शान्ति सुरक्षा कायम हुँदैन ।

देशमा अहिले लागूऔषधका ठूला कारोबारी फष्टाएका छन् । सुन तस्करीको बिगबिगी छ । देशको पैसा अदृश्य बाटोबाट विदेश लैजानेहरू सक्रिय छन् । अरबौं रकम ठग्नेहरू फरार छन् ।

माथिल्लो तहबाट अपराध सञ्चालन गर्नेहरू प्रतिष्ठितको जामा पहिरिएर समाजलाई खोक्रो पार्न खोज्दैछन् । तिनलाई सप्रमाण कानुनी दायरामा ल्याउने हिम्मतिलो प्रहरीको खाँचो छ ।

लोकतान्त्रिक समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरी अनिवार्य हुन्छ । सेना नरहेको देशमा समेत प्रहरी छ । प्रहरी समाजको लागि हो र समाजका सदस्यहरूले प्रहरी हाम्रो हो भन्ने महसुस गर्न सक्नुपर्छ ।

प्रहरी नीति र भूमिकाले सामाजिक न्याय, सामाजिक ऐक्यवद्धता, निष्पक्षता, समानता र मानवअधिकारको प्रत्याभूति गरेको हुनुपर्छ । साथ साथै व्यवसायिकता, जवाफदेहिता र वैधानिकतालाई प्राथमिकतामा राख्नुपर्छ ।

सानालाई ऐन र ठूलालाई चैनले प्रहरीको विश्सनीयता गुम्छ । प्रहरीको दायित्व सकेसम्म अपराध हुन नदिने हो । अपराध गर्नेको वर्ग, लिंग, धर्म, राजनीतिक आस्था, क्षेत्र र समुदाय छुट्याएर कारबाही अगाडि बढाउने नबढाउने शैली भएसम्म प्रहरी हाम्रो हो भन्ने भावना जनतामा हुनेछैन ।

प्रहरीले जनतामा आशा बढाउने व्यवहार देखाउन सक्नुपर्छ, जुन वर्तमान अवस्थामा नभइरहेको तीतो सत्य हो ।

(पत्रकार केसी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment