+
+

एमबीबीएस प्रकरणमा ठूला माछा उम्किए

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २७ गते ११:३५

२७ मंसिर, काठमाडौं । प्रश्नपत्र बाहिरिएपछि गत शनिबार स्थगित भएको एमबीबीएस सरकारी छात्रवृत्ति कोटाको परीक्षा शनिबार सम्पन्न भएको छ ।

शनिबार दिउँसो १ बजेदेखि राजधानीका ८ वटा कलेजमा हुने परीक्षामा ८ हजारभन्दा बढीको सहभागिता रहेको शिक्षा मन्त्रालयले जनाएको छ । परीक्षा निश्पक्ष भएको शिक्षा मन्त्रालयका अधिकारीको दाबी छ । अख्तियारका अधिकारीहरु भने मन्त्रालयका हाकिमको दाबीलाई अस्वीकार गर्छन् ।

‘एमबीबीए परीक्षामा प्रश्नपत्र कुनै पनि हालतमा आउट हुँदैन,’ शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका सहसचिव डिल्ली रिमालले अनलाइनखबरसँग भने,’परीक्षा सकिएको चार दिनभित्र रिजल्ट निस्कन्छ, कोड नम्बरका आधारमा रिजल्ट तयार हुने भएकाले धाँधलीको सम्भावना छैन, शंका लाग्ने विद्यार्थीले पुनर्योग गर्न सक्ने व्यवस्था छ ।’

एमबीबीएस छात्रवृत्तिको परीक्षामा मात्रै होइन, एसएलसी, प्लस टु र लोकसेवा लगायतका परीक्षामा समेत धाँधली हुने गरेको छ

सरकारले विभिन्न मेडिकल कलेजहरुमा विद्यार्थीलाई निशुल्क अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । करिब दुई सय विद्यार्थीले पाउने सो छात्रवृत्तिका लागि ८ हजारभन्दा बढी विद्यार्थीले जाँच दिँदैछन् । यीमध्ये उत्कृष्ठ ठहरिने निश्चित संख्याका विद्यार्थीले सरकारी छात्रवृत्तिमा निशुल्क डाक्टरी पढ्न पाउँछन् ।

अख्तियार भन्छ- ठूलो माछा उम्कियो

शिक्षा मन्त्रालयका सहसचिव रिमालेले एमबीबीएसको प्रश्नपत्र ‘लिक’ नहुने भन्दै परीक्षा निश्पक्ष हुने दाबी गरे पनि अख्तियारका अधिकारीहरु यसलाई मान्न तयार छैनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘एमबीबीएस छात्रवृत्तिको परीक्षामा मात्रै होइन, एसएलसी, प्लस टु र लोकसेवा लगायतका परीक्षामा समेत धाँधली हुने गरेको छ ।’

गत शनिबार गोल्डेन गेट कलेजका निर्देशक र प्राध्यापकलाई प्रश्नपत्र खरीद प्रकरणमा पक्राउ गरेको अख्तियारले साना माछा मात्रै समातिएका र ठूला माछाहरु लुक्न सफल भएको जनाएको छ । स्रोतले भन्यो,- ‘मिडियामा सूचना चुहिएपछि शिक्षा मन्त्रालयका भ्रष्टाचारीहरु जोगिए ।’

यसरी हुन्छ परीक्षा प्रणाली

सहसचिव रिमालका अनुसार परीक्षामा सामेल हुन चाहनेले सर्वप्रथम अनलाइन आवेदन दिनुपर्छ । त्यसरी आवेदन दिने विद्यार्थीले एसएलसी र कक्षा १२ मा विज्ञान विषयमा ५० प्रतिशत अंक कटाएको हुनुपर्ने व्यवस्था छ ।

रिमालले दिएको जानकारी अनुसार आवेदन दिएका विद्यार्थीले १ सय पूर्णाङ्कको लिखित परीक्षा पार गर्नुपर्छ । बाँकी ५ अंकसम्म उसले एसएलसी र प्लस टुमा प्राप्त गरेको नम्बरबाट अंक दिइन्छ ।

एमबीबीएस परीक्षा प्रणालीको प्रश्नपत्र तयार पार्न युनिभर्सिटीका प्राध्यापकहरुको एउटा कमिटी (रोष्टर) खडा गरिन्छ । सो रोष्टरले विभिन्न चारवटा विषयमा १२/१५ वटा प्रश्नपत्रको सेट तयार पार्छ । त्यसलाई पुनः अर्को ३ जनाको सिनियर कमिटीले संक्षेपीकरण गरेर प्रश्नपत्रको ४/५ वटा सेट तयार पार्छ र त्यसलाई टीमकै रोहवरमा सिलबन्दी गरिन्छ ।

त्यसपछि परीक्षा समितिको बैठक बस्छ । परीक्षा हुने दिन बिहान प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, शिक्षा सचिव र लोकसेवा आयोगका प्रतिनिधि सहितको टोली प्रश्नपत्रका सबै सेट बोकेर जनक शिक्षा सामाग्री केन्द्रको प्रेसमा जान्छ । त्यहाँ शिक्षा मन्त्री पनि पुग्छन् र उनले सबै संकायका प्रश्नपत्रबाट गोला प्रथाद्वारा एक एकवटा पोको छानेपछि त्यसलाई जोडेर प्रश्नपत्र बनाइन्छ र त्यहीँ स्क्यानिङ गरेर छापिन्छ ।

आवेदन दिएका विद्यार्थीले १ सय पूर्णाङ्कको लिखित परीक्षा पार गर्नुपर्छ । बाँकी ५ अंकसम्म उसले एसएलसी र प्लस टुमा प्राप्त गरेको नम्बरबाट अंक दिइन्छ

छापिएको प्रश्नपत्र शिलबन्दी गरेपछि शिक्षा मन्त्रालयका सहचिवले राजधानीका विभिन्न परीक्षा केन्द्रहरुमा पुर्‍याउँछन् र परीक्षा हुनुभन्दा केही अघि प्रश्नपत्र खोलिन्छ ।

परीक्षा सकिएपछि विद्यार्थीले चिहृन लगाएका उत्तरपुस्तिकालाई विशेष प्रकारको कम्प्युटर प्रविधियुक्त मेसिनमा लगेर स्क्यानिङ गरिन्छ र मेसिनबाटै नम्बर गणना गरिन्छ ।

सहसचिव रिमालका अनुसार यो प्रक्रियामा कतै पनि अनियमितता हुने ठाउँ रहँदैन । तर, विद्यार्थीलाई आशंका लागेमा ‘रि-टोटलिङ’ गर्न पाउने प्रावधान छ ।

सम्पूर्ण रिजल्ट कोड नम्बरमा तयार हुने र परीक्षार्थीको नाम सिलबन्दी गरेर राखिने गरेको रिमाल बताउँछन् । ‘०६२/०६३ सालभन्दा अघिसम्म मेसिन नहुँदा हस्तलिखित प्रविधि थियो,’ रिमाल भन्छन्- ‘पहिले इन्टरभ्यु सिस्टम थियो र त्यसमा चलखेल गर्ने ठाउँ थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?