Comments Add Comment

काठमाडौं : महिलाका लागि मुम्बईभन्दा खतरनाक !

२८ मंसिर, काठमाडौं । गणतन्त्र नेपालको राजधानी महिलाका कति सुरक्षित होला ? तपाईले काठमाडौंलाई महिलाका लागि सुरक्षित सहरका रुपमा दाबी गर्नुभयो भने त्यो गलत हुन सक्छ ।

pujaकाठमाडौं शहरमा स्वतन्त्र जीवनको अनुभूति गर्न नपाएका महिलाका दर्दनाक कथा धेरै छन् । तीमध्ये नुवाकोटकी पूजा (परिवर्तित नाम) एक हुन् । पूजाको संघर्षको कथा मुम्बईमा बेचिएकी सुनिता दनुवार र चरिमायाको भन्दा फरक छैन ।

सुनिता र चरिमाया मुम्बईमा बेचिए, पूजा भने आफ्नै देशको एक मसाज सेन्टरमा बलात्कृत भइन् ।

सानैमा बाबुआमा बितेपछि दाजुसँग बस्दै आएकी पूजाको दुःखको दिन दाइको विवाहपछि सुरु भयो । भाउजूले राम्रो व्यवहार नगरेको भन्दै उनी घर छाडेर त हिडिँन्, कतै तर, काम पाइनन् ।

दलित समुदायको भएकै कारण कामसमेत नपाएपछि उनले जात ढाँटेर एक नेवार परिवारमा भाँडा माझ्ने काम गर्न थालिन् ।

२५ जनाको परिवारको भाँडा माझ्नेदेखि लुगा धुनेसम्मको काम गर्दा पनि उनले सुख पाइनन् । एक दिन गिलास फुटाएको भन्दै पिटेपछि उनी एकजना दाइको साथ लागेर ठमेल छिरिन् ।

‘मलाई त्यसबेला मायाको मात्रै जरुरी थियो । मीठो बोली चाहिएको थियो’ पूजा आफ्नो विगत सम्झँदै भन्छिन्-‘त्यही घरमा आइरहने दाइले राम्रो काम लगाइदिन्छु भनेपछि सँगै हिडेँ ।’

पहिले कहिल्यै ठमेल नगएकी उनलाई त्यो ठाउँ निकै झिलिमिली लाग्यो । सुरुमा उनलाई कूचो लगाउने र भुई पुछ्ने कामका लागि भन्दै एक साहुनीको घरमा लगेर राखियो ।

उनलाई त्यसबेला थाहा थिएन, त्यो एक मसाज सेन्टर हो भनेर । काम गर्दै जाने सिलसिलमा एक दिन साहुनीले उनलाई कोठामा रहेका दुईजना गेष्टलाई जुस लिएर जान भनिन् ।

‘जब म कोठामा प्रवेश गरेँ, उनीहरुले चुकुल लगाएर मलाई बेडमा लडाए । त्यसपछि के भयो, त्यो म यहाँ भन्न सक्दिँन’ पूजाले अनलाइनखरसँग भनिन् ।

उनी दुई युवकबाट बलात्कृत भइन्, जतिबेला उनको उमेर १२/१३ वर्ष थियो । पछि त्यहीँ काम गर्ने एकजना दिदीले उनको कपडा फेरिदिइन् ।

दुई वर्षसम्म नरकमा

बलात्कार भएको दुई वर्ष पूजाले त्यही मसाज सेन्टरमा नारकीय जीवन बिताइन् । जाने ठाउँ कहीँ नभएको र उमेर सानै भएकाले उनी दिनदिनै बलात्कृत भएर त्यहीँ साहुनीसँग बसिन् ।

Menuka thapa
मेनुका थापा, अध्यक्ष, रक्षा नेपाल

झण्डै २ वर्षपछि उनको उद्दार भयो, मेनुका थापाले नेतृत्व गरेको रक्षा नेपालको पहलमा । उद्दारपछि उनको जीवनले नयाँ मोड लियो ।

‘हामीले पूजालाई उद्दार गरेर घरमै राखेर पढायौं र लामो तयारी पछि कक्षा आठमा भर्ना गर्‍यौं, उनी त्यो वर्ष नै पहिलो भइन्’ रक्षा नेपालकी अध्यक्ष थापाले अनलाइनखबरसँग भनिन् ।

पूजा अहिले २० वर्षकी भइन् । उनी कक्षा १२ मा अध्ययनरत छिन् । अध्ययनरत रहेकाले नै उनको नाम गोप्य राखिएको हो, अनौपचारिक छलफहरुमा भने उनी वास्तविक नाम नै भन्न रुचाउँछिन् ।

अध्ययनसँगै पूजाले मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाहरुका लागि काम थालेकी छन्, रक्षा नेपालको ‘मोडरेटर’ बनेर ।

अहिले पूजा समाज सेन्टर, रेष्टुँरासहितका क्षेत्रका कार्यरत महिलाहरुको समस्या बुझ्दै हिँड्छिन् । ‘दुःख पाएका दिदी बहिनीहरुलाई भेट्दा आफ्नो विगतले पोल्छ’ केही भावुक हुँदै उनले भनिन् ।

पूजाको सपना छ, ‘साइकोलोजिष्ट’ बन्ने । किन ? भन्ने प्रश्नमा उनले अनलाइनखबरसँग भनिन्, ‘यो क्षेत्रमा दुःख पाएका दिदी बहिनीहरुलाई परामर्शको जरुरी छ र म त्यो गर्न चाहन्छु ।’

मानव बेचबिखनविरुद्ध सक्रिय सुनिता दनुवार र चरियामा तामाङ धेरैका लागि रोल मोडल बनेका छन् । सानै उमेरमा मुम्बईको कोठीमा बेचिएकी सुनिता विश्वप्रसिद्ध म्यागासेसे र सीटेनबाट सम्मानित समेत भइसकेकी छिन् ।

चरिमाया आधुनिक दासताविरुद्धको नायकबाट सम्मानित नेपाली चेली हुन् । मुम्बईको कोठीको नारकीय जीवनबाट मुक्ति पाएपछि शक्ति समूह बनाएर उनीहरुले गरेको संघर्ष ठूलो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment