Comments Add Comment

घुस नखाने प्रहरी र कर्मचारीलाई भातै खान गाह्रो !

२९ मंसिर, काठमाडौं । एउटा परिवारको घर खर्चका लागि सहरका बासिन्दालाई प्रतिमहिना कति रकम चाहिएला ? सामान्य हिसाब निकाल्दा शहरमा बसोबास गर्ने प्रहरी, सेना वा सरकारी कर्मचारीलाई आफ्नो तलवले खान पुग्दैन ।

तथ्यांक अनुसार तल्लो दर्जाको प्रहरीको तलब १३ हजार ७ सय ८० रुपैयाँ छ । इन्स्पेक्टरको तलव २४ हजार ४ सय रुपैयाँ छ ।

Police salary
निजामति कर्मचारीतर्फ कार्यालय सहयोगीको तलव प्रथमस्तरदेखि पाँचौंस्तरसम्म १२ हजारदेखि १६ हजारसम्म छ भने खरदार र सुब्बाको मासिक तलब, भत्ता १८ देखि २१ हजारको वीचमा छ ।

शाखा अधिकृतको मासिक तलब २५ हजार, उपसचिवको २८ हजार, सहसचिवको ३३ हजार र सचिवको ४२ हजार आसपास छ । यसमा पनि सञ्चयकोष र नागरिक लगानी कोष (ऐच्छिक) काटिन्छ ।

कति चाहिन्छ मासिक खर्च ?

विशेष गरी काठमाडौं सहरमा बसोबास गर्ने तल्लो तहका प्रहरी र कर्मचारीको खर्च उनीहरुको आम्दानीको तुलनामा निकै बढी हुने गरेको छ ।

सामान्यतः राजधानीमा कार्यरत एकजना सामान्य कर्मचारीको परिवारले मासिक कोठाभाडा ५ देखि १० हजारसम्म तिर्नुपर्ने हुन्छ । तरकारी र मरमसलामा मात्रै उसले मासिक ५/६ हजार खर्च गर्नुपर्छ । त्यस्तै ग्यास र चामलमा कम्तिमा २५ सय ३ हजार खर्च हुन्छ । छोराछोरी हुनेले स्कुल फी र खाजा इत्यादिमा मासिक दुईहजार सम्म न्यूनतम खर्च गर्नुपर्छ । दिउँसो खाजामा ३ हजार न्यनतम खर्च हुन्छ ।

कुनै बेला बिरामी परियो भने रगत जाँच इत्यादिमा एक हजारले पुग्दैन । बेलाबखत मासु खानुपर्‍यो या आफन्तजनलाई भेट्न जानुपर्‍यो भने थप खर्च हुन्छ ।

यो अवस्थामा शहरमा बस्ने एउटा परिवारको न्यनतम मासिक खर्च २० हजार रुपैयाँभन्दा बढी छ । तर, १३ हजार रुपैयाँ तलब खाने सिपाही, १४ हजार खाने हवल्दार, १७ हजार खाने असई र १८ हजार रुपैयाँ तलव खाने सईको परिवारको गुजारा कसरी चलिरहेको होला ?

निजामति तर्फका कार्यालय सहायक, खरिदार र नायब सुब्बाको मासिक खर्च कसरी चलिरहेको होला ? उनीहरुको बजेट घाटामा चलिरहेको छ । एउटा कर्मचारी वा प्रहरीले तलबबाट गुजारा नचलेपछि लामो हात गर्न र घुसबाट अतिरिक्त आम्दानी गर्न बाध्य हुन्छ ।

Krishnahari Baskotaपूर्वसचिव भन्छन्- खान पाइएन भन्दैमा घुस खान हुँदैन

तर, कर्मचारीले तलबबाट खान पुगेन भन्दैमा भ्रष्टाचार गर्न र घुस खान नहुने पूर्वसचिव कृष्णहरी बास्कोटाको तर्क छ ।

‘तलबबाट खान पुगेन र बाध्य भइयो भन्दै घुस खानु भनेको भ्रष्टाचार गर्ने बाहनामात्रै हो,’ पूर्वसचिब कास्कोटाले अनलाइनखबरसँग भने, ‘व्यक्तिले म यति तलबमा काम गर्न तयार छु भनेर सरकारी जागिर खाएको हुनाले कुनै पनि बाहनामा भ्रष्टाचार गर्न पाइँदैन ।’

बाहिर काम गर्न नपाइने, बाँच्न पनि नपाइने

खिमलाल गौतम
खिमलाल गौतम

राष्ट्रिय निजामति कर्मचारी संगठनका उपाध्यक्ष खिमलाल गौतमले कर्मचारीलाई राज्यले बाँच्नै नपुग्ने तलब दिइरहेको गुनासो छ ।

‘सरकारले बाहिरको काम वा पेशा व्यवसाय गर्न पनि दिँदैन, र बाँच्न पुग्ने तलव पनि दिँदैन,’ शाखा अधिकृत तहमा कार्यरत गौतमले अनलाइनखबरसँग भने-‘ यो त सीधै कर्मचारीको मानवअधिकार हनन भयो ।’

सरकारी कर्मचारीले किराना पसलसमेत चलाउन नदिने गरी कानूनमा अझै कस्न लागिएको गौतमको गुनासो छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई फाल्टु काम गर्न नदिने गरी निजामति ऐन संशोधन गर्न लागेको तर्फ गौतमले संकेत गरे ।

सचिवले पनि गाई पाल्न पाउँछन्

तर, पूर्वसचिव कृष्णहरि बास्कोटा भने बहालवाला सचिवले समेत बकाइदा गाईपालन गरेर दूध बेच्न सक्ने बताउँछन् ।

‘कार्यालय समयमा अन्यत्र काम गर्न पाइँदैन,’ त्यो बाहेक कुनै पनि पेशा व्यवसाय गर्न निजामति कर्मचारीले पाउँछन्,’ बास्कोटाले थपे,’ सामान्य प्रशासन मन्त्रालय के कारणले आत्तिएको हो, मैले बुझ्न सकेको छैन । कुनै पनि खरदारले खेतानकहाँ गएर दिउँसै काम गरेको छैन ।’

तलब बढे पनि महंगीको मार उस्तै

सरकारले कर्मचारीको तलब प्रत्येक वर्ष बढाउँदै आएको छ । खिलराज रेग्मीका पालामा १० प्रतिशत बढेको कर्मचारीको तलब कोइराला सरकारका पालामा १८ प्रतिशत बढेको छ भने एक हजार रुपैयाँ भत्ता थपिएको छ ।

तर, यो बढेको तलबले पनि कर्मचारीलाई खान लाउन मुस्किल परिरहेको छ । बचत गर्ने र भावी सन्ततीका लागि कमाउने धेरै परको कुरा ।

यद्यपि यति थोरै तलब खाने कतिपय कर्मचारी र प्रहरी अधिकृतहरुले शहरमा भव्य महल ठ्याउने गरेका छन् । उनीहरुको यो आम्दानीको स्रोत कतैबाट खोजी हुने गरेको छैन ।

नेपालमा करिब ८९ हजार निजामति कर्मचारी छन् । त्यस्तै ९५ हजार सेना, ६७ हजार जनपथ प्रहरी, ८८ हजार शिक्षक र ३१ हजार सशस्त्र प्रहरीलाई राज्यले तलब खुवाउँदै आएको छ । अवकाश प्राप्त कर्मचारीले आजीवन र उनको निधनपछि परिवारले पेन्सन थाप्दै आएका छन् ।

जंगी र निजामति तर्फका कर्मचारीलाई राज्यले औषधोपचार, ऋण आदिमा पनि केही सहुलियत दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment