+
+

मन्त्री पण्डितले कर्मचारीलाई भने- पालो फेरिँदैमा भात र खाजा नखोज

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १ गते १८:३४

१ पुस, काठमाडौं । अत्यावश्यक सेवा सञ्चालन हुने सरकारी कार्यालय बिहान ६ बजेदेखि नै खुले पनि कर्मचारीले अतिरिक्त भत्ता नपाउने भएका छन् । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सिफ्ट परिवर्तन हुँदैमा भात र खाजा नखोज्न कर्मचारीलाई आग्रह गरेका छन् ।pasport office  (16)

कर्मचारीहरुले नियमअनुसार एक सिफ्टमा सात घण्टामात्र काम गर्ने भएकाले खाजा वा खानाका लागि भनेर अतिरिक्त भत्ता दिन नसकिने सामान्य प्रशासन मन्त्री पण्डितले अनलाइनखबरलाई बताए ।

‘दिउँसोको सिफ्टमा काम गर्नेले आठ घण्टा गर्छन्, बिहानको सिफ्टमा ७ घण्टा हुन्छ, त्यसबापत उनीहरुलाई सरकारले तलब दिएकै छ नि’ मन्त्री पण्डितले अनलाइनखबरसँग भने ‘थप भत्ता दिन सकिँदैन, किनकि उनीहरुले ओभरटाइम गरेका होइनन्’ ।

‘कर्मचारी नपुगे मलाई भन्नुस्’

मन्त्री पण्डितले कुनै पनि अड्डामा दुई सिफ्ट काम गर्ने कर्मचारी अपुग भए सामान्य प्रशासन मन्त्रालयले त्यहाँ थप कर्मचारी खटाउने बताएका छन् ।

‘कुनै समस्या परे मलाई भन्नुस्, कर्मचारी नपुगे हामी पठाउँछौं’ मन्त्री पण्डितले भने ‘जनतालाई सेवा दिने कुरामा भात र खाजाको कुरा आउँदैन’ ।

पासपोर्ट शाखाका कर्मचारीलाई अन्याय

sharad raj aran
उपसचिव शरदराज आरण

जनताको अत्यावश्यक सेवासँग जोडिएका कार्यालयहरु पुस १ गतेदेखि १२ घण्टा सञ्चालनमा ल्याइए पनि काठमाडौंस्थित पासपोर्ट शाखा भने लामो समयदेखि यो प्रणालीबाटै चलिरहेको कर्मचारीले बताएका छन् ।

नारायणहिटी राजदरवारस्थित एमआरपी वितरण शाखा पहिलेदेखि नै बिहान ७ बजेदेखि खुल्ने गरेको बिभागका निर्देशक उपसचिव शरदराज आरणले अनलाइनखबरलाई जानकारी दिए ।

‘सरकारी निर्णयअनुसार पुस १ गतेदेखि एकघण्टा पहिल्यै अर्थात बिहान ६ बजेदेखि पासपोर्टको काम शुरु भएको छ’ आरणले अनलाइनखबरसँग भने ‘पासपोर्ट सुरक्षा संवेदनशीलताका कारण यहाँ सिफ्ट प्रणाली लागु गर्न मिल्दैन, एउटै कर्मचारीले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ’ ।

पासपोर्ट शाखामा काम गर्ने कर्मचारीले दुबै सिफ्टमा काम गर्दा पनि ओभरटाइम भत्ता र खाजा खर्चसमेत पाएका छैनन् ।

परराष्ट्रमन्त्री भन्छन्- अर्थले पैसा दिएन

mahendra-pandey
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे

मन्त्रालयले पटक-पटक अर्थ मन्त्रालयसँग विविध खर्च शीर्षकमा करीव दश लाख रुपैयाँ मागे पनि अहिलेसम्म प्राप्त नभएको मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए ।

‘एउटा कर्मचारीलाई दिन रात काम लगाउनुपर्छ, तर अर्थ मन्त्रालयले पैसा दिँदैन’ पाण्डेले संसदको सुशासन समितिमा भने ‘मन्त्रीले हुन्छ भन्छन् तर अर्थका कर्मचारीले दिँदैनन्’ ।

‘बिहानदेखि बेलुकासम्म काम गर्ने कर्मचारीलाई चियासमेत खुवाउन सकिएको छैन’ एमआरपी शाखाका निर्देशक आरणले भने ‘करारका कर्मचारीलाई १२ घण्टाभन्दा बढी काम लगाउँदा थप सुविधा पाएका छैनन्’ ।

सरकारले स्थायी कर्मचारीलाई भने ५० प्रतिशत इन्सेन्टिभ दिएको छ । परराष्ट्र सेवामा सामान्य प्रशासनले अरु कर्मचारी पठाउन नमिल्ने भएकाले यसमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?