Comments Add Comment

सर्वोच्चले ३१ जिल्लामा लागु गर्‍यो इ-तारेख

१ पुस, काठमाडौं । सर्वोच्च अदालतमा तारिखका लागि धाउँदा हैरान भएकाहरुलाई अब सहज हुने भएको छ । राजधानी लगायतका ३१ जिल्लाका सेवाग्राहीले तारेख धाउन सर्वोच्च अदालत आइराख्नुपर्दैन ।

supreme-court-of-Nepal-Final1सर्वोच्च अदालतले विकास गरेको इ-तारेख विधिअन्तर्गत नजिकका अदालतमा पुगेर सर्वोच्चको तारिख लिन सकिनेछ । मुद्दाको फैसलाबारे आफ्नै मोबाइलमा एसएमएसमार्फत जानकारी लिन सकिने व्यवस्था सर्वोच्च अदालतले गरेको छ ।

‘अब नजिकको जिल्ला अदालत वा पुनरावेदन अदालतबाटै अनलाइन तारिख लिन सकिन्छ’ सर्वोच्च अदालतका सूचना प्रविधि महाशाखाका उपसचिव चाणकमणि अर्यालले भने ।

अनलाइन तारेखको सुविधा कसरी लिने ?

अनलाइन तारेखको सुविधा लिनका लागि सेवाग्राहीले व्यक्तिगत विवरणको फारम भरेर सर्वोच्चको मुद्दा शाखामा बुझाउनुपर्छ । सर्वोच्चबाट अनलाइनमार्फत पठाएको म्याद पुनरावेदन र जिल्ला अदालतमा गएर डाउनलोड गरी तामेलदारले सम्वद्ध पक्षलाई बुझाउनेछ । त्यसपछि म्याद तामेल गरेको जानकारी अपलोड गरी सर्वोच्चमा पठाइनेछ ।

कहाँ कहाँ लागू भयो ?

यो सेवा सर्वोच्च अदालतसहित तत्काल ३१ जिल्ला अदालत र ९ वटा पुनरावेदन अदालतमा लागू हुनेछ ।

पहिलो चरणमा मुद्दाको बढी चाप हुने मोरङ, सुनसरी, झापा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, कास्की, स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी, बागलुङ, रुपन्देही, कपिलबस्तु, नवलपरासी, गुल्मीबाट सुरु भएको छ ।

त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, कञ्चनपुरका जिल्ला अदालतबाट प्रारम्भिक चरणमा यो सेवा सुरु गरिएको सर्वोच्च अदालतले जनाएको छ । अन्य जिल्लामा पनि चाँडै सेवा विस्तार गर्ने योजना रहेको सर्वोच्चले जनाएको छ ।

त्यस्तै बिराटनगर, राजविराज, पोखरा, जनकपुर, हेटौंडा, बागलुङ, बुटबल, नेपालगन्ज र महेन्द्रनगरका पुनरावेदन अदालतबाट पनि यो सेवा लिन सकिन्छ ।

एसएमएसबाटै मुद्दाबारे जानकारी  

रिट, मुद्दा वा निवेदनको दर्ता नम्बर र पेशीको मिति थाहा पाउन र मुद्दाको स्थिति थाहा पाउन पनि अब अदालत धाइरहनुपर्दैन । यसका लागि मुद्दाका सम्बन्ध पक्षले एसएमएसबाटै अपडेट पाउनेछन् ।

नेपाल टेलिकम र एनसेल मोबाइल प्रयोगकर्ताले एसएमएसबाटै मुद्दा स्थगित भए, हेर्न नभ्याउने भए, पेसीको मिति तोकिएको भए मुद्दाको आदेश फैसला भए सोको विवरण एसएमएसमा पाउनेछन् ।

कसरी पाउने जानकारी ?

दर्ता मिति र नम्बर थाहा पाउन आरजी लेखेर एक स्पेस छाडी मुद्दा नम्बर टाइप गरेर ३०३०३ मा पठाउन सकिन्छ ।

पेसीबारे जानकारी लिन एचडी लेखेर एक स्पेस छाडी मुद्दा नम्बर टाइप गरी ३०३०३ मा पठाउन सकिने सर्वोच्चले व्यवस्था गरेको छ ।

मुद्दामा भएको आदेश फैसलाबारे जानकारी लिन एसटी लेखेर एक स्पेस छाडी मुद्दा नम्बर टाइप गरी ३०३०३ मा पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment