Comments Add Comment

बलात्कारीलाई सजायँ दिलाउने बाबुरामको प्रतिवद्धता

२ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामुहिक बलात्कार पीडित पूजा बोहोरालाई न्याय दिलाउने प्रतिवद्धता जनाएका छन् । बोहोरालाई आफ्नै निवास सानेपामा भेटेपछि आँसु थाम्न नसकेका डा. भट्टराईले बलात्कारीलाई दण्ड र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका हुन् ।

फाइल फोटो ।
फाइल फोटो ।

‘आज ती छोरीलाई घरमै भेट्दा र उनले ‘बुबा’ भनेर सम्बोधन गर्दा थप भावुक बनेको छु,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेेका छन्, ‘उनलाई न्याय दिलाउन र उनको सपना साकार पार्न सबै प्रयत्न गर्ने प्रतिवद्धता गर्दछु र यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।’

डा. भट्टराईसँगको भेटमा बोहोराले अपराधीलाई दण्डित नगरेसम्म संघर्ष गर्ने र आफूजस्तै पीडित महिलालाई सहयोग गर्न वकिल बन्ने अठोट व्यक्त गरेकी थिइन् । उनको अठोटले आफूलाई अत्यन्त गर्वान्वित गराएको डा. भट्टराईले बताए ।

एमाओवादी नेतासमेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराई फेसबुकमा लेख्छन्, ‘सामुहिक बलात्कारपीडित यी युवतीको हृदयविदारक जीवन वृतान्त र मर्मस्पर्शी सार्वजनिक पत्र पढ्दा आफ्नै छोरी सम्झेर आँसु नचुहाउने र उनलाई न्याय दिलाउन अग्रसर नहुने पाषणहृदयी, संवेदनाहीन र गैरजिम्मेवार मान्छे कोही हुन सक्छ ?’

बैतडीको दुर्गम कैलपाल गाविसकी बोहोरा २०६८ सालमा पाटनबजारमा सामुहिक बलात्कारबाट पीडित भएकी थिइन् । एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न पाटन बजारमा गएकोबेला उनलाई बैतडीको भूमेश्वर ३ का सागर भट्ट र बैतडीकै गुजर गाविस २ का अमर अवस्थीले बलात्कार गरेका थिए ।

बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले उनको उपचारको लागि एक लाख रुपैयाँ दिएको थियो ।

जिल्ला अदालतले बलात्कारीहरुलाई १३ बर्ष कैद र जनही ५०-५० हजार रुपैयाँ सजायको फैसला सुनाएको थियो । तर, पुनरावेदन अदालत महेन्द्रनगरले जिल्ला अदालतको फैसला उल्टाउँदै दुबैजनालाई सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment