Comments Add Comment

रोजगार मेलामा पहिलो दिन ९ सयले हेरे

phpi
५ पुस, इटहरी । पाथिभरा हिमालयन पोलिटेक्निक इन्टिच्युटले इटहरीमा सञ्चालन गरेको रोजगार मेलाको उद्घाटन सत्रमा नौ सय युवा भेला भएका छन् । पूर्वाञ्चललाई कार्यक्षेत्र बनाएर सीप विकास तथा रोजगारीको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको स्टल रहेको मेलामा पूर्वाञ्चलको रोजगारीको अवस्था, अहिलेको बजारमा चाहिने प्राविधिक शिक्षा, रोजगारी तत्काल पाउन पढ्नुपर्ने विषय लगायतका बारेमा जानकारी गराइएको आयोजक संस्था पाथिभराका कार्यक्रम संयोजक मीन शाहले जानकारी दिए । मेलामा रोजगारमा जान चाहने युवाहरुलाई सीप र परामर्श दिइनेछ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघका क्षेत्रीय अध्यक्ष टंकप्रसाद दुलाल सीप युक्त जनशक्तिको निर्माण भए देशभर रोजगारीका प्रशस्त सम्भावना रहेको बताए । दुलालले भने–‘राजनीतिक परिस्थितिका कारण उद्योग व्यवसाय सञ्चालन गर्न केही कठिनाइ भएपनि चॉडै देशमा शान्ति तथा सुव्यवस्था छाउने र उद्योगधन्दा फस्टाउ‘दा बेरोजगारी समस्या धेरै हदसम्म समाधान हुन्छ ।’

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख पशुपति खतिवडाले सीप मुलक तालिम लिएका युवालाई रोजगारीका लागि विदेश जान नपर्ने बताए । ‘सीपमुलक काम गर्न सक्ने युवाका लागि नेपालमै धेरै सम्भावना छन् । विदेश नै गए पनि राम्रो काम पाउँनेछन् । आम्दानी धेरै हुनेछ,’ खतिवडाले भने । होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य मणिन्द्र कटुवालले होटल क्षेत्रमा धेरै जनशक्तिको आवश्यकता रहेको बताए । होटलका लागि चाहिने जनशक्ति उत्पादन गरे पूर्वाञ्चलनै पॉच सय जनशक्तिलाई काम दिने कटुवालको भनाई छ ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक कृष्णकुमार शाहले नेपालमा बेरोजगारी समस्या समाधान गर्न निजी क्षेत्रले ठूलो योगदान पुर्‍याएको बताए । रोजगारी सृजना गर्न सरकारले नीति बनाए पनि कार्यान्वयन गर्ने निकाय फितलो हुँदा समस्याको समाधान नभएको भन्दै शाहले भने–‘निजी क्षेत्रले कमाउने उद्देश्य मात्र नराखी सामाजिक उत्तरदायित्व पनि बहन गरेको छ । बेरोजगारीलाई सीप सिकाउन र रोजगार दिने सवालमा निजी संस्थाहरु पनि लागि परेका छन् ।’

रोजगार कोषको सचिवालय हेल्भिटासको सहयोगमा पाथिभराले सञ्चालन गरेको रोजगार मेला शनिबारसम्म सञ्चालन हुनेछ । दुई दिने मेलामा पूर्वाञ्चलमा बेरोजगार रहेका युवा तथा रोजगारीका बारेमा जान्न चाहने र सीप सिक्न चाहने युवाहरुको सहभागीता रहने आयोजकको अपेक्षा छ । मेलाको दोस्रो दिन शनिबार भएकाले अवलोकन गर्नेको संख्या बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment