Comments Add Comment

फेसबुक चलाएर कपडा बटुल्छन् रिक्सा चालक

riksha driver६ पुस, रौतहट । रौतहटका एक रिक्सा चालकले अरुको सेवा गर्न धन नै चाहिन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन् । एउटा रिक्सा चालकले दिनभरीमा कति पैसा कमाउँछ होला ? धेरै कमाए चारदेखि पाँच सय रुपैयाँ । तर त्यही रिक्सा चालक यतिखेर शितलहरबाट प्रभावित दलित बस्तीमा न्यानो कपडा बाँडदै हिडेका छन ।

दिनभरी अरुको भारी बोकेर पसिना बगाएपछि मात्रै आफ्नो घरमा चुल्हो बल्ने स्थितिमा रहेका चन्द्रनिगाहपुर १ कप्तान टोलका ३९ वर्षीय केदारप्रसाद तिमिल्सिना अहिले जिल्लाको उतरी भेगका अधिकांश दलित बस्तीहरुमा आफ्नै रिक्सामा कपडा राखेर बाँडदै हिडेका छन ।

यसअघिका वर्षहरुमा पनि शितलहरबाट धेरै गरिब दलितको मृत्यु भएको खबर सुनेका केदार जाडो शुरु हुनासाथ गरिब झुपडीहरुमा पुगिरहेका छन । “मुटु काम्ने जाडोमा न्यानो लुगा लगाउन नपाएर मान्छे कठ्यांगि्रएर मरेको देख्दा र सुन्दा निकै दुःख लाग्यो ।” केदार भन्छन् “राज्यले गर्ने कहिले हो कहिले । मरे पछि राहत दिएर के गर्नु । आफै लुगा बटुलेर बाड्न शुरु गरे ।”

केदार सहयोग जुटाउन प्रविधिको प्रयोग गर्छन । यिनको सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आइडी छ र त्यहीँबाट उनी सबैलाई कपडा उपलब्ध गराई दिन सहयोग माग्छन । “मैले फेसबुकबाटै गरिब दलितको लागि कपडा उपलब्ध गराई दिन अनुरोध गर्दै मेरो फोन नम्बर दिन्छु ।” रिक्सा चालक केदार भन्छन्, “फेसबुकबाटै मलाई धेरैले सहयोग गर्नु हुन्छ अनि मैले कपडा बाँडेको र बस्तीहरुको फोटो फेसबुक मै हाल्छु ।” गरिबीका कारण विद्यालय जान नपाए पनि सामान्य लेखपढ गर्न सक्ने केदार एफएम रेडियो र सामाजिक सञ्जालको उपयोग गर्न निकै सिपालु छन ।

शितलहरले मान्छेको मृत्यु भए पछि मात्रै सरकारी राहत र गैर सरकारी संस्थाहरु कपडा बाड्न तछाड मछाड गर्छन । कोही आफ्नो संस्थाको प्रोफाइल बलियो बनाउन, त कोही नेता आफू स्थानियको सबै भन्दा ठूलो शुभचिन्तक भएको देखाउन जाडो सकिने बेलामा कम्बल र कपडा बाडन आउँछन । जाडो सकिने बेलामा पाएको त्यस्तो सहयोग भन्दा एउटा रिक्साचालक ले समयमै बाँडेको कपडाले ठूलो महत्व राख्छ । केदारले कपडा बाड्ने ठाउँ आफै छान्छन् र समुदायमा भएको सबै भन्दा गरीब बस्तीमा पुगेर न्यानो कपडा बाड्छन ।

रौतहटमा शितलहरले दलित बस्तीहरुमा सबै भन्दा नराम्रो प्रभाव पारेको छ । न्यानो कपडाको अभावमा चिसोकै कारण कयौं व्यक्तिहरुको ज्यान समेत जाने गर्दछ । विगत केहीदिन यता मौसममा आएको परिवर्तन संगै रौतहटमा चिसो बढेको छ ।

दशकौंदेखि रिक्सा चलाएर जिविकोपार्जन गर्दै आएका केदारले काम छाडेर रिक्सा लिएर कपडा बाड्न हिडेको दिन यिनको घरमा खाना पाक्नसमेत मुश्किल पर्छ । केदारले विगत १५ दिन यता रौतहटको चन्द्रनिगाहपुर राजपेडा को मुसहर बस्ती, चेतनगरको दलित बस्ती, चिडियादहको गरिब बस्तीमा झण्डै चार हजार थान कपडा बाँडिसकेका छन । फेसबुक मार्फत नै अभियान चलाएका केदारले सम्पर्क भएको लक्ष्मी प्रतिष्ठान केन्द्र काठमाण्डौबाट आफूलाई कपडा उपलब्ध गराएको बताए ।

-गौतम श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment