Comments Add Comment

‘केपीले लञ्च खुवाउँदा सुत्ने, हप्काउँदा उठ्ने यो कस्तो आन्दोलन ?’

30-party

राजकुमार श्रेष्ठ

८ पुस, काठमाडौं । सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले ‘आन्दोलन गर्न केपी ओलीले हप्काउनै पर्ने ?’ भनी नेताहरुलाई प्रश्न गरेपछि ३० दलको बैठकमा एकाएक हाँसो छायो ।

आन्दोलनका कार्यक्रम घोषणा गर्न प्रचण्डको नेतृत्वमा संविधानसभामा भएका १९ र बाहिरका ११ गरी ३० दल भेला भएका थिए ।

बैठकमा प्रचण्डले बालुवाटारमा भएको निर्णायक वार्ताबारे ब्रिफिङ गर्दै अब आन्दोलनको विकल्प नभएको बताएपछि शेर्पा बोलेका थिए ।

सार्क सम्मेलनअघि र पछिको मोर्चामा फरक आएको भन्दै शेर्पाले ‘केपीले लञ्च खुवाँउँदा सुत्ने, हप्काउँदा उठ्ने, यो कस्तो आन्दोलन ?’ भनी प्रश्न गरे ।

पासाङको संकेत मोर्चामा आवद्ध मधेसवादी दलका नेताहरुको बालकोटमा भएको लञ्च मिटिङप्रति थियो ।

ओलीले पटक-पटक मधेसी नेताहरुलाई बालकोटमा लञ्च खुवाएर सरकारमा आउन प्रस्ताव गरेका थिए । लञ्च मीठो भए पनि ओलीको बोली नमीठो भएको मधेसी नेताहरुले बताउँदै आएका छन् ।

सामाजिक लोकतान्त्रिक पार्टीका नेता शर्पाले अब गर्ने भनिएको आन्दोलन दबावका लागि मात्र हो कि शान्ति सम्झौता, आदिवासी जनजाति, मधेसीलगायतका समुदायसँग भएको सहमति संस्थागत गर्न हो ? प्रष्ट पार्न समेत नेतृत्वसँग माग गरेका छन् ।

शेर्पाले वार्ता र सहमति गर्दा ३० दल नचाहिएको तर, आन्दोलन गर्न मात्र खोजेको भन्दै बैठकमा असन्तुष्टि जनाएका छन् ।
‘वार्तामा लुरु-लुरु जाने, सहमति भयो भने अरु कोही नचाहिने, आन्दोलन गर्नुपर्ने भयो भनेमात्रै हामीलाई सम्झने भन्ने कुरा भएको हो’ बैठकमा के भएको हो भन्ने प्रश्नमा थरुहट तराई पार्टीका सभासद गोपाल दहितले अनलाइनखबरसँग भने-‘धेरै दलको मोर्चा भएपछि के भएको हो भनेर जिज्ञासा राख्नु स्वभाविक हो ।’

बैठकमा थानुराम थारुले थारु र मधेसीले एकअर्कालाई अस्वीकार गर्ने गरी आन्दोलन उठाउन नसक्ने भन्दै सहकार्यमा जोड दिए ।

ओलीलाई धन्यवाद

स्रोतका अनुसार बैठकमा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले भने एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिनुपर्ने बताए ।
‘ओलीले गर्दा आन्दोलन त हुने भयो भन्दै उनले धन्यवाद दिनु पर्ने बताए ।

प्रचण्डले गरे बचाउ

Prachanda-Speaks-to-Media-after-PDCC-Meetingबैठकमा मोर्चाका संयोजक प्रचण्डले भने मधेसवादी नेताहरुको बचाउ गरेका थिए । आफूसँग सल्लाह गरेर नै वार्तामा गएको उनले जवाफ दिएको एक नेताले बताएका छन् ।

‘लञ्च खान जाँदा पनि सल्लाह गरेरै जानुभएको हो । अलग-अलग वार्ता हुँदा पनि सल्लाह भएको छ, संयोजकका नाताले मलाई जानकारी छ’ प्रचण्डले भनेका छन् ।

उनले अब विभिन्न चरणमा वार्ताहरु भए पनि ३० दलमा छलफल र र सहमति नगरी कुनै निर्णय नगर्ने प्रतिवद्धता जनाए ।

शंकाले लंका जलाउनुहुन्न

मधेसवादी दलहरु सरकारमा जान्छन् कि भन्ने शंका मोेर्चामा आवद्ध दलहरुलाई छ कि भन्ने प्रश्नमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शंकाले लंका जगाउन नहुने बताए ।

महतोले अनलाइनखबरसँग भने-‘ओली त के, गोलीसँग पनि वार्ता गर्न सकिन्छ । लोकतन्त्रमा विश्वास गर्ने हामी वार्ताबाट पछि हट्दैनौं ।’
मधेसी मोर्चाले संविधान नबनेसम्म सरकारका नजाने निर्णय गरिसकेको भन्दै उनले यदि कसैले त्यसलाई तोडे उसैले दोष भोग्ने बताए । मोर्चामा कुनै विवाद नभएको भन्दै उनले मोर्चाको एकता नचाहनेहरुले विवाद छ भनेर प्रचार गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment