Comments Add Comment

शुक्र ग्रहको बादलमा शहर बनाउने नासाको योजना

WVenusHavocf
सौर्यमण्डलमा पृथ्वी बाहेकका ग्रहहरुमा सबैभन्दा बढि खोज अनुसन्धान भैरहेको ग्रह मंगल हो । मंगल ग्रहमा जीवनको सम्भावना रहेको अनुमानमा वैज्ञानिकहरुले आफ्ना अन्तरीक्ष सम्बन्धि खोज अनुसन्धान केन्द्रित गरिरहेका छन् । मंगल ग्रहमा खोज अनुसन्धान गर्ने मामिलामा अमेरिकी अन्तरीक्ष संस्था नासा अग्रस्थानमा छ ।

साँच्ची, पहिलो दृष्टिमा मंगल वैज्ञानिकको रोजाइमा नपर्नुपर्ने हो र शुक्र ग्रह रोजाइमा पर्नुपर्ने हो । किनकी शुक्र ग्रह पृथ्वीबाट सबैभन्दा नजिक छ र मंगल ग्रहभन्दा आधा कम दूरीमा रहेको छ । यतिमात्र होइन शुक्र ग्रह पृथ्वीको जुम्ल्याहा ग्रह पनि हो र आकार पनि लगभग बराबर छ । यसको घनत्व र रसायनिक संरचना पनि लगभग उस्तै छ ।

तर, यति हुँदाहुँदै पनि यो ग्रहको सतहको प्रतिकुलताका कारण शुक्र ग्रह नितान्त रुपमा भ्रमणका लागि अति नै अयोग्य छ । यसअघि शुक्र ग्रहमा पठाइएका यानहरु केवल २ घण्टामै ध्वस्त भए ।

शुक्र ग्रहमा यसरी यानहरु ध्वस्त भैहाल्नुका केही कारणहरु छन् । पहिलो कारण हो उच्च वायुमण्डलीय चाप जुन पृथ्वीको भन्दा ९२ गुणा बढि छ । तापक्रम पनि निकै उच्च अर्थात् ४६२ डिग्री सेल्सियस औषत छ ।

यो ग्रहमा ज्वालामुखीजन्य गतिविधि पनि निकै उच्च मात्रामा भैरहन्छ । निकै घना वायुमण्डमा अधिकांस मात्रामा कार्वनडाइअक्साइड, थोरै नाइट्रोजनका साथै सल्फ्युरिक अम्लयुक्त बादलको पत्र समेत रहेकेा छ ।

यावत तथ्यहरुले के भन्छ भने शुक्र ग्रह विदा मनाउन जाने गन्तव्यमा पर्दैन ।

सतहको अवस्था प्रतिकुल भएर के भो त ? नासाले यसको विकल्प खोजिरहेको छ । शुक्र ग्रहको बादलमा एक तैरिएको सहर बसाउने योजनाअघि सारेको छ ।

नासाका वैज्ञानिकहरुले दी हाइ अल्टिच्युड भेनस अप्रेसनल कन्सेप्ट अर्थात् ह्याभोक नामको काल्पनिक अन्तरीक्षयानको डिजाइन गरेका छन् ।
नासाको प्रणाली विश्लेषण तथा अवधारणा निर्देशनालय अन्तरगतको वैज्ञानिक टोलीले शुक्र ग्रहको खोजीका लागि शुक्रयानको यस्तो डिजाइन बनाएको हो ।

हावा भन्दा पनि हलुका उक्त रकेट शुक्र ग्रहको सल्फ्युरिक अम्लयुक्त बादलमाथि झण्डै ३० दिनसम्म तैरिनेछ । त्यसरी बादलमाथि तैरिएको यानमा बसेका अन्तरीक्षयात्रीहरुले शुक्रग्रहको वायुमण्डका विषयमा विभिन्न तथ्याङ्क संकलन गर्न सक्नेछन् ।

शुक्र ग्रहको सतहमा मानिस रहन सम्भव छैन, ध्वस्त पारिहाल्छ । तर सतहभन्दा ५० किलोमिटर उचाइमा वादलमाथि भने पृथ्वीको जस्तै अवस्था हुनेछ । त्यहाँको वायुमण्डलीय चाप पृथ्वीकै हाराहारीको हुनेछ भने गुरुत्वाकर्षण केही कम हुनेछ । यस्तो अवस्थामा अन्तरीक्षयात्रीहरु लामो समयसम्म रहन सम्भव हुनेछ जुन शुन्य गुरुत्वाकर्षण भएको जेरो जी क्षेत्रमा रहँदा विभिन्न समस्या उत्पन्न हुन्छन् ।

शुक्र ग्रहको बादलमाथि तापक्रम भने ७५ डिग्री सेल्सियस हुनेछ जुन सामान्य तापक्रम भन्दा निकै उच्च हो तथापि त्यसलाई व्यवस्थापन गर्न सकिनेछ । उक्त उचाइमा वायुमण्डलले शौर्य विकिरणबाट भने सुरक्षा गर्नेछ र त्यहाँको शौर्य विकिरण क्यानडामा बस्नु जस्तै हुनेछ ।

नासाको यो शुक्र अभियानको सुरुवातमा प्रारम्भिक चेकजाँच तथा अनुसन्धानका लागि शुक्र ग्रहमा रोबोट पठाइनेछ । रोबोटिक प्रोबबाट डाटा प्राप्त भएपछि मानवयुक्त यानले शुक्र ग्रहको आकाशमा तैरिएर ३० दिन बिताउनेछ । त्यसपछिको मिसनमा दुइ सदस्यीय अन्तरीक्षयात्री समूह हरेकले एक वर्ष शुक्रग्रहमा बिताउने योजना छ । नासाको अन्तिम उद्धेश्य भनेको शुक्र ग्रहको बादलमा तैरिने सहर बसाएर स्थायी रुपमा मानिसलाई बसाल्ने नै हो ।

यस्तो तैरिने सहर अचल हुनेछ । तर शुक्र ग्रहको अनुसन्धानका लागि १ सय ३० मिटर लामो हिलियम ग्यास भरिएको मोबाइल युनिट खटाइनेछ । त्यसको साथमा ३१ मिटर लामो अर्को रोबोटिक यान समेत हुनेछ । मोबाइल यानले सूर्य नजिक हुनुको फाइदा उठाउनेछ । यसको छानोमा १ हजार वर्गमिटरको सोलार प्यानल हुनेछ जसले आवश्यक शौर्यउर्जा उत्पादन गर्नेछ ।

शुक्र मिसनका लागि तयार पारिएको काल्पनिक यानको डिजाइन गर्ने क्रममा वैज्ञानिकहरुले कतिपय अहिलेसम्मै आविष्कार नभैसकेका र निकट भविष्यमा आविष्कार हुने प्रविधिको समेत प्रयोग हुने बताएका छन् । आगामी १-२ दशकसम्ममा यस्तो यानको निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नासाले आफ्नो शुक्र मिसनको रिहर्सल समेत पृथ्वीमै गर्दैछ । शुक्र ग्रहको जस्तै प्रतिकुल वातावरणमा कसरी काम गर्ने भन्ने कुराको परीक्षणको तयारी समेत नासाले गर्दैछ ।

नासाको लांग्ले रिसर्च सेन्टरका क्रिस जोन भन्छन्, ‘अनुसन्धान र मानव वस्ती बसाल्ने दुबै प्रयोजनका लागि गन्तव्यको रुपमा शुक्र ग्रहको महत्व छ तर यो मंगल योजनाकै परिपूरक हो ।’
सी नेटबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment