Comments Add Comment

केपी ओलीले राजाको ठाउँ लिन खोजे : प्रचण्ड

pracahnad 2

९ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजाको ठाउँ लिन खोजेको आरोप लगाएका छन् ।

दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस र एमालेका केही नेताले एकात्मक सामन्ती राजतन्त्रको स्थान लिन खोजेको प्रचण्डको निष्कर्ष थियो ।

सिंहदरबारमा ३० दलीय मोर्चाले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने-‘खासगरी एमाले अध्यक्ष राजतन्त्रको ठाउँ हामी लिन्छौं । त्यो समान्ती राष्ट्रवादको ठाउँ हामी लिन्छौं । जाति, भाषा पहिचानलाई दमन गर्ने राजाको ठाउँ हामी लिन्छौं । राजा गएर के भो, हामी फेरि अवतार जन्मिएका छौं भन्नु जसरी प्रस्तुत हुनुभएको छ । यसको प्रतिवाद गर्नुको विकल्प छैन ।’

एमाले अध्यक्ष ओलीसँग आफ्नो कुनै रिसइबी नभएको बताउँदै प्रचण्डले भने-‘उहाँसँग हामी केहीबेरमै वार्तामा बस्दैछौं । तर, व्यक्तिगत भन्नु केही छैन । विचार र प्रवृत्तिका हिसावले ओलीजीले जे प्रतिनिधित्व गर्न खोज्नु भएको छ । कन्जरभेटिभ, सामन्ती एकात्मक निरंकुशतावादको प्रतिकात्मक गर्न खोजेको हुनाले त्यहाँ हाम्रो प्रतिवाद हो ।’


आन्दोलन रहर होइन, बाध्यता

आन्दोलनरत ३० दलीय मोर्चाका संयोजक प्रचण्डले आन्दोलन आफूहरुको रहर नभएको बताएका छन् । ‘कांग्रेस र एमाले विगतका सहमतिहरुलाई तोड्दै अंकगणितको बलले संविधान थापर्ने जस्तो देखियो’ प्रचण्डले भने-‘सहमतिका लागि दबाव दिन जनतामा जानुको विकल्प रहेन । आन्दोलन रहर नभएर परिस्थितिको बाध्यता हो ।’

अन्तिमपटक भन्दैछु, अग्रगामी संविधान नबनेसम्म न सरकार, न कुनै पदमा जाने छैनौं-प्रचण्ड

पत्रकार सम्मेलनमा ३० दलले जारी गरेको अपीलमा कांग्रेस र एमालेले अंक गणितको घोडा चढेर अग्रगामी राजनीतिक दल र शक्तिसँग गरेका सम्झौता अस्वीकार गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजान खोजेको उल्लेख छ ।

दुई तिहाइले संविधान जारी गर्न किन नपाउने ?

दुई तिहाइ बहुमतबाट संविधान जारी गर्न पाइन्छ कि पाइँदैन भन्ने पत्रकारको प्रश्नमा एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले नियमावली अनुसार नै जाउँ भनेको दाबी गरे ।

आफूले संविधानसभा अध्यक्षसँग कुरा गर्दा दलहरुको सहमतिविना संविधान जारी गर्ने बाटो नभएको बताएको सुनाउँदै प्रचण्डले भने-ओलीजी नियमावली तोड्न खोज्दै हुनुहुन्छ । तर, त्यो सम्भव छैन ।’

30 party morcha aandolan (2)

दुई तिहाइले संविधान बनाउनै नपाउने प्रश्न आफूलाई आएको भन्दै प्रचण्डले संविधानसभामा संसदमा जस्तो अंकगणितको हिसाव मात्रै नहुने बताए ।

संविधानसभा वृहत शान्ति सम्झौता, विभिन्न सहमति र अन्तरिम संविधानको अंग भएको भन्दै उनले संविधानसभाले बनाउने संविधानमा अहिलेसम्म भएका सहमति र सम्झौतालाई लिपिवद्ध गर्नुपर्ने बताए । त्यसबाहिर गए मुठभेड हुने प्रचण्डको चेतावनी थियो ।

प्रचण्डले भने-‘कांग्रेस र एमाले निर्मम ढंगले यो देशमा क्रान्ति भएकै थिएन, जनयुद्ध भएकै थिएन, मधेस लगायतका आन्दोलन भएकै थिएनन् भन्ने जसरी प्रस्तुत भएपछि विषय जटिल बनेको छ ।’

अघिल्लो संविधानसभाले पहिचान र सामथ्र्य स्वीकार गरिसकेको भए पनि अहिले कांग्रेस र एमाले पहिचानको कुरै गर्न पाइन्न भन्ने जसरी प्रस्तुत भएको बताए । एमाले नेताहरु जाति, भाषाको कुरा गर्‍यो भने देश टुक्रिन्छ भने जसरी प्रस्तुत भएको प्रचण्डको आरोप थियो ।

अग्रगामी संविधान नबनेसम्म कुनै पदमा जान्न

एमाओवादी अध्यक्ष प्रचण्डले अग्रगामी संविधान नबनेसम्म कुनै पद नलिने बताए । साथै आफ्नो नेतृत्वको मोर्चा पनि सरकारमा नजाने प्रष्ट पारेका छन् । आफूलाई राष्ट्रपति बन्न खोजेको आरोप लाग्ने गरेको भन्दै उनले भने-‘म अन्तिमपटक भन्दैछु, अग्रगामी संविधान नबनेसम्म न सरकार, न कुनै पदमा जाने छैनौं । पदमा जाने भए किन आन्दोलन गर्नुपर्‍यो ?’

कांग्रेस र एमालेले सरकारमा बसिराख्न संविधान बनाउन नचाहेको प्रचण्डको आरोप छ । ‘कांग्रेस र एमाले संविधान बनाउन चाहेका छैनन् । सत्तामा बसिराख्न चाहनुभएको छ’ प्रचण्डले भने-‘हामी ०७२ सालतिर अगाडि बढ्यौं । जवरजस्ती गर्न खोजे संविधानसभाभित्र र सडकबाट प्रतिवाद हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment